७ बैशाख २०८१, शुक्रबार

को हुन् नवनियुक्त मुख्य सचिव शंकरदास बैरागी ?


शंकरदास वैरागी

काठमाडौं, असोज १५ । नेपाल सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको २ साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ ।

स्रोतका अनुसार रेग्मीलाई बेलायतको राजदूत बनाउने सर्तमा राजीनामा गर्न लगाएर परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने तयारी भइरहेको प्रयास सफल भएको छ ।

जन्म र शिक्षा

नवनियुक्त मुख्य सचिव बैरागी २०२२ साल माघमा पर्वतमा जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् ।

सरकारी सेवा

२०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अष्ट्रेलियास्थित दूतावासमा उपप्रमुख थिए ।

उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि १ वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भएर काम गरेका थिए । उनी परराष्ट्र मामलाका जानकार हुन् ।

परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । स्रोतका अनुसार सचिवका रुपमा उनको ५ वर्षे कार्यकाल असोज २२ गते पूरा हुँदै थियो । त्यसैले ओली सरकारले त्यसअघि नै उनलाई मुख्यसचिव बनाएको हो ।

जानकारहरुका अनुसार बैरागी क्षमतावान भएपनि आफूलाई बढी केन्द्रमा राख्छन् । परराष्ट्र सेवामा उनले अधिकांश समय विदेशमै बिताएका छन् । बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव छैन ।

परराष्ट्र मन्त्रालयको चार दिवार र विदेशी नियोगमा मात्र ३ दशक बढी बिताएका बैरागीले प्रशासन र प्राविधिक सेवाका एकाध बाहेक कर्मचारी नै चिन्दैनन् । तर, सरकारले उनै बैरागीलाई मुख्यसचिव बनाएको छ ।

बैरागीको उच्च नेताहरुसँग सम्वन्ध

परराष्ट्र सचिवमा नियुक्त भएकै अवधिमा उनले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकसँग काम गर्ने अवसर पाएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत एकजना उच्च अधिकारीका अनुसार मुख्य सचीवमा प्रधानमन्त्री ओलीको पहिलो प्राथमिकता शंकरदास बैरागी नै थिए । रेग्मीले कात्तिक ६ गते अगाडि नै राजीनामा दिएर प्रधानमन्त्री केपी ओलीले आफू अनुकुल मुख्य सचिव बनाउन सफल भएका छन् ।

त्यसो त बैरागीका पक्षमा बालुवाटार मात्र नभएर खुमल्टार समेत सकारात्मक रहेको थियो । बैरागीको नेकपाका अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री वर्षमान पुन लगायतसँग पनि राम्रो सम्बन्ध छ । वैरागी अहिले सबै राजनीतिक दलका नेतालाई रिझाएर मुख्य सचिव हुन सफल भएका छन् ।

आरोप

परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउनुअघि विदेशस्थित नियोगमा कार्यरत रहँदा वैदेशिक भत्ताको २५ प्रतिशतमा लाग्ने पारिश्रमिक कर नतिरेको भनी महालेखा परीक्षकको कार्यालयले लगाएको दोष निवारण गरिदिए हुने कतिपयको सुझाव छ ।

महालेखा प्रतिवेदन अनुसार विभिन्न ३७ वटा नियोगमा कार्यरत परराष्ट्रका कर्मचारीको आर्थिक वर्ष २०७३/७४ देखि २०६४/६५ सम्म दश वर्षको अवधिमा रहेको वैदेशिक भत्तामा लाग्ने पारिश्रमिक कर बक्यौता छ ।

बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अष्ट्रेलियास्थित दूतावासमा उपप्रमुख थिए ।

महालेखा प्रतिवेदन अनुसार उनको नाममा करिब १५ लाख कर बक्यौता छ । महालेखाको प्रतिवेदनमा उनले नेतृत्व गरेको नियोग जेनेभाको करिब एक करोड कर बक्यौता रहेको छ भने उपप्रमुख भएर बसेको नेपाली दूतावास अष्ट्रेलियाको ५२ लाख बक्यौता छ ।

खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्नेहरुको बक्यौता देखिए त्यस्ता व्यक्तिलाई लोकसेवा आयोगले अन्तर्वार्तामा अनुत्तीर्ण गर्ने नीति नै बनाएको छ ।

आयकर ऐन-२०५८ को दफा ११९ मा कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य दरले ब्याज लाग्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस्

शंकरदास वैरागीले बाजी मारे मुख्यसचिवको उच्च पद

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !