६ बैशाख २०८१, बिहिबार

कोरोना कहरमा विश्वको पत्रकारिता र प्रेस स्वतन्त्रता दिवस


कोरोना कहरमा विश्वको पत्रकारिता र प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ, २१ वैशाख । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरुले आज (मे ३) लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रुपमा मनाउने गर्छन् । पत्रकारिता पेसाको हकहितको संरक्षण, सम्वद्र्धन एवं स्वतन्त्रताको माग गर्दै विश्वका पत्रकारले मे ३ लाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएका छन् ।

विश्वमा स्वतन्त्र प्रेसको आधारस्तम्भ विश्व मानवअधिकार घोषणापत्र १९४८ लाई मान्न सकिन्छ । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित उक्त घोषणापत्रको दफा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतालाई आत्मसात् गर्न प्रत्येक नागरिकले कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार बनाउन पाउने, आफ्नो विचार तथा अभिव्यक्ति निर्भीक रुपमा राख्न पाउने र बिनाकुनै अवरोध जुनसुकै माध्यमद्वारा प्रसार गर्नसक्ने व्यवस्था गरेको छ । प्रेस स्वतन्त्रताको मर्म र मान्यता पनि यही हो । यही प्रावधानले नै वास्तवमा विश्वमा प्रेस स्वतन्त्रताको सुनिश्चिततालाई उजागर गर्ने पहिलो प्रयत्न गरेको हो ।

सन् १९९३ मा युनेस्कोको सिफारिसमा विश्वमा मनाउँदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवसको जग बसाल्ने कामको श्रेय भने अफ्रिकी देशका सम्पादकहरुलाई दिन मिल्छ । सन १९९१ को अप्रिल २९ देखि मे ३ सम्म अफ्रिकी देश नामिवियाको विन्डहकमा विशेषतः अफ्रिकी देशका पत्रिकाका सम्पादकहरुले आयोजना गरेको सम्मेलनले पाँच बुँदे घोषणापत्र पारित गरेको थियो । तिनै घोषणापत्रको आधारलाई टेकेर सन् १९९३ मा युनेस्कोको महासभाले पारित गरेपछि विश्वमा यो दिवस मनाउँदै आइएको हो ।

विन्डहक घोषणा नाम दिइएको सो घोषणापत्रले विशेषगरी प्रेस स्वतन्त्रता, प्रेसको स्वतन्त्र अडान, प्रेसमा बहुलवादी अवधारणा, सहभागितामूलक प्रजातन्त्र र समाचार एवं लेखकीय स्वतन्त्रताजस्ता आधारभूत पाँच सिद्धान्तलाई अघि सारेको थियो । त्यस घोषणापत्रले कुनै पनि देशमा प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शासन व्यवस्था र बहुलवादको अवधारणालाई अघि सारेको थियो र त्यही आधारभूमिको वकालत आज यस दिवसका दिन विश्वको प्रेसले गर्ने गर्छ ।

त्यसताका प्रजातान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता र बहुलवादको अभावको सामना गरिरहेका अफ्रिकी नागरिकलाई यसबाट मुक्ति दिलाई प्रेस स्वतन्त्रताको माध्यमबाट नागरिक अधिकार स्थापित गराउने पहलस्वरुप अफ्रिकी राष्ट्रका सम्पादकहरुको यो प्रयास थालेका थिए ।

आजका दिन विश्वका सञ्चारकर्मीले आफ्ना व्यावसायिक समस्या र कानूनी सुनिश्चितताका आवाजलाई बुलन्द गर्ने गर्छन् । आ–आफ्ना देशका सरकारलाई आफ्ना हकहितका विषयमा विश्वका पत्रकारहरुले यस दिन घच्घच्याउने गर्छन् ।
तर आज विश्वका पत्रकारहरुले प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा गएका तीन महिनादेखि विश्वका पत्रकारले एक अकल्पनीय समस्याको सामना गरिरहेका छन् । कोरोनाको कहरमा विश्वको सामाजिक, आर्थिक व्यवस्था जस्तै पत्रकारिता क्षेत्रलाई पनि नराम्ररी प्रभावित पारेको छ । कोभिड १९ को सङ्क्रमण विश्वभर फैलिएपछि समाचारको खेतीमा रमाउँदै नयाँ नयाँ सूचना पस्किने उत्सुक स्वभावका सञ्चारकर्मीले यतिखेर निकै जोखिमपूर्ण रुपमा आफ्नो पेशालाई निरन्तरता दिन बाध्य भएका छन् ।

पत्रकारिताका पेशाकर्मीहरु यो महामारीबाट विश्वभर कति सङ्क्रमित भएका छन् भन्ने अलग्गै तथ्याङ्क त अहिलेसम्म कतै भेटिएको छैन तर पनि यो महामारी विश्वका २०० भन्दा बढी देशमा पुगिसकेको र अहिलेसम्म दुई लाखभन्दा बढीको ज्यान गइसकेकाले महामारीको समाचार सम्प्रेषणका लागि कार्यक्षेत्रमै खट्नुपर्ने सञ्चारकर्मी यसबाट पक्कै पनि शिकार भएका छन् ।

पिन्टर नामक एक संस्थाले गरेको अनुसन्धानमा अप्रिल २० सम्मको एक तथ्याङ्कअनुसार विश्वका १६ जना पत्रकारको कोभिड–१९ कै कारण ज्यान गएको छ । तर त्यसपछि यो तथ्याङ्क अरु धेरै हुनसक्छ यसको स्वतन्त्र अनुसन्धान हुन सकेको छैन । भारतमा हालैमात्र १६७ जना पत्रकारमा गरिएको स्वास्थ्य परीक्षणमा ५३ जनाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको बताइएको थियो । तर भारतको पनि त्यसयताको अनुसन्धान भने गरिएको छैन । मुम्बईमा अप्रिल १५ मा गरिएको पत्रकारहरुको परीक्षणका क्रममा ती पत्रकार सङ्क्रमित भएको पाइएको थियो ।

यो समाचारपछि मुम्बईका मेयर किशोरी पेन्डेनकरले आफू पनि तीमध्येका केही पत्रकारहरुको सम्पर्कमा त्यसअघि नै आएकाले आफैँ क्वारेन्टाइनमा बसेको बताउनुभएको थियो । साथै सो समाचारपछि मुम्बई प्रेस क्लबका अध्यक्ष गुरवीर सिंहले महाराष्ट्रका मुख्यमन्त्रीलाई पत्र लेखेर दुःख व्यक्त गर्नुभएको थियो । जम्मा १६७ जना पत्रकारको परीक्षण गरेकामा ५३ जनामा कोभिड पोजेटिभ रिपोर्ट आउनुले अफू निकै नै स्तब्ध भएको सन्देश अध्यक्ष सिंहले महाराष्ट्रका मुख्यमन्त्रीेलाई पठाउनुभएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसरी सङ्क्रमित हुनेमा अधिकांश फोटो पत्रकार, टेलिभिजनका क्यामेरापर्सन र फिल्डमा खट्ने समाचारदाता रहेका थिए । उनीहरु सङ्क्रमितहरुको बारेको समाचार सङ्कलनकै क्रममा आफूहरु पनि सङ्क्रमणमा परेको बताइएको छ । भारतको जस्तै विश्वका पत्रकारको नियति पनि यही हो । समाचारका लागि उनीहरु ‘फिल्ड’ मै खट्नुपर्ने हुन्छ यसकारण उनीहरु सङ्क्रमणको शिकार बन्ने गरेका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नलिष्टका कार्यकारी निर्देशक रोबर्ट माहोनीले विश्वको प्रेसले यतिखेर नयाँ र अकल्पनीय समस्याको सामना गर्नु परिरहेको धारणा राख्नुहुन्छ । उहाँले विश्वमा कोभिड–१९ पछिको विश्वको अवस्थामा प्रेसले के कसरी काम गरिरहेको छ भन्ने विषयमा धारणा राख्दै हालै एक लेख प्रकाशन गर्नुभएको छ । “यो विश्वमा यसअघि जस्तै गरिने विपद्का बेलामा गरिने सञ्चार (क्राइसिस कम्युनिकेसन्) त हो तर यसअघिका सबै प्रकारका सञ्चारको तुलनामा यो बढी जोखिमयुक्त छ, यो महामारीले ओगटेको आयतन अन्य सङ्कटको तुलनामा धेरै बढी छ ।”

मानव सिर्जित विपद्हरु जस्तै युद्ध, आन्तरिक तथा वाह्य द्वन्द्व तथा नाकाबन्दीका समय तथा प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, सुनामी, बाढीपहिरो, आगलागी आदिजस्ता विपद्का समयमा भन्दा यो महामारीको समयमा गर्नुपर्ने सञ्चारकर्मीको काम अति जटिल र बढी जोखिमयुक्त छ । युद्ध या द्वन्द्व कुनै एक सीमित क्षेत्रमा हुन्छ र जसको सूचना पत्रकारलाई पहिल्यै हुन्छ । यो देखिनेखालको विपद् हो जसबाट बच्न पत्रकारले सजिलै प्रतिरक्षात्मक उपायहरु अवलम्बन गर्न सक्छन् ।

उता प्राकृतिक प्रकोपजस्तै भूकम्प या सुनामीको समयमा पनि पत्रकारहरुले आफूले नै रक्षात्मक उपाय अवलम्बन गर्न सक्नेछन् । अर्काेकुरा यस्तो प्रकोपले कुनै सीमित क्षेत्र या भूगोललाई मात्र प्रभावित पारेको हुन्छ । अनि यस्तो प्रकोपका समयमा एक क्षेत्रका मानिस पनि अर्काे क्षेत्रमा पुगेर उद्धार तथा सहयोगको काम गर्न सक्छन् । जस्तो कि नेपालमा विसं २०७२ को भूकम्पका समयमा चीन, भारतका उद्धारकर्मी नै आएर हामीलाई सघाएका थिए ।

तर यो कोरोना महामारीमा त्यस्तो छैन । यहाँ कुनै पत्रकार एक्लै शिकार हुँदैन कि उसका कारणले उसले काम गर्ने सञ्चारगृहदेखि परिवारसम्म नै प्रभावित हुने गर्दछ । मानव सिर्जित तथा प्राकृतिक प्रकोपका समयको जोखिम त्यही क्षेत्रमा खट्ने पत्रकारलाई मात्र हुन्छ भने यतिबेलाको यो महामारीको समाचार सङ्कलनमा जाने पत्रकार भने कुनै एकजना सङ्क्रमित भयो भने उसका कारणले उसको सञ्चारगृह, आफ्नो घर तथा समाजमा नै सङ्क्रमण फैलिन सक्छ । त्यसैले यो विपद् सञ्चार अरुभन्दा बढी संवेदनशील छ र यसको जोखिमको आयतन पनि अधिक रहेकाले विश्वका पत्रकारहरु बढी मारमा परिरहेका छन् ।

वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मी यस्तो बेलामा पत्रकारले संयमता अपनाउन जरुरी रहेको बताउनुहुन्छ । उहाँको भनाइ छ, “पत्रकारले सबैकुरा जान्दैन किनभने यो जनस्वास्थ्यको विषय हो । तर पनि के हो भन्ने कुरा जनतालाई बुझाउने काम पत्रकारको नै भएकाले उसले संयम अपनाएर र आफ्नो सञ्चारगृह र महामारी नियन्त्रणमा खटिएका राज्यका निकायसँगको समन्वयमा सूचना सम्प्रेषण गर्नुपर्छ ।

नयाँ रोग तर विश्वलाई नै सताएको यस्तो विषयमा समाचार सम्प्रेषणका लागि पनि ‘रिपोर्टिङ गाइडलाइन’ चाहिने उहाँको सुझाव छ । यसो समाचारहरु हेर्दा, सुन्दा सङ्क्रमितहरुले आफूलाई सञ्चारले न्याय गरेन भन्ने गुनासो गरेको पनि सुनिएको भन्दै प्रा रेग्मीको सुझाव छ, “यो रिपोर्टिङकै नयाँ आयाम पनि हो त्यसैले त्यसै किसिमको सूचना सम्प्रेषण जरुरी छ ।” महामारी भए पनि प्रेसले सधैँ आफ्नो कार्य स्वतन्त्रताको हेक्का राखेको हुन्छ भने सरकारले पनि महामारीको बेलामा झन धेरै मिडिया चाहिन्छ है भन्ने हेक्का राख्नुपर्छ भन्दै सञ्चारकर्मीको सुविधा र कार्य सहजतामा ध्यान दिन सक्नुपर्ने प्रा रेग्मीको सुझाव छ ।

युनेस्कोले महामारीको समाचार सङ्कलनार्थ कार्यक्षेत्रमा खट्ने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन विश्वका सबै देशलाई आग्रह गरेको छ । कतिपय देशमा यो महामारीबाट सुरक्षित रहनका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) को अभावमा पत्रकारहरुले काम गरिरहेकाले उनीहरु असुरक्षित भइरहेको पाइएकाले युनेस्कोले यस्तो आग्रह गरेको हो ।

पछिल्ला केही महिनामा विश्वकै अवस्था हेर्दा सामाजिक सञ्जालहरुले आधिकारिक समाचार दिन नसक्दा आमसञ्चारका माध्यममै भर पर्नुपर्ने अवस्था देखाउँछ । रोयटर्स इन्स्टिच्युटले विभिन्न छ देशमा गरेको एक अध्ययनमा पहिलेको तुलनामा यो महामारी शुरु भएपछि आमसञ्चारका माध्यममा भरपर्नेहरुको सङ्ख्या ६० प्रतिशतले बढेको देखाएको जनाएको छ । उनीहरुले महामारीबारेको सूचनामा सामाजिक सञ्जालले आधिकारिकता दिन सकेको छैन । त्यस्तै अमेरिकाका मुख्य पत्रिकाहरु वासिङ्टन पोष्ट र न्युयोर्क टाइम्सका पाठकहरु पहिलेको तुलनामा अघिल्ला मार्च र अप्रिल महिनामा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ । त्यस्तै द गार्जियनको वेभसाइट हेर्नेहरुको सङ्ख्या पनि पहिलेको तुलनामा करिब दोब्बर भएको छ । उक्त वेभसाइटका अनुसार फेब्रुअरी महिनामा सो वेभसाइट हेर्ने १९ करोड रहेकामा यो मार्च महिनामा ३६ करोड ६० लाख पुगेको छ । यसबाट महामारीको सूचनाका लागि आमसञ्चारमाध्यमहरुमा धेरै नागरिक भर परिरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस महामारीको बेलाको सूचनाको ठूलो महत्व हुने भएकाले यस्तो समयमा पत्रकारहरुलाई समाचार सङ्कलन तथा सम्प्रेषणका समयमा आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुहुन्छ । महामारीको समयमा पत्रकारहरुको स्वास्थ्य सुरक्षाका विषयमा उहाँले हालै भन्नुभएको थियो, “सामाजिक सञ्जालमा हुनसक्ने गलत तथ्यहरुलाई समेत परीक्षण गरी नागरिकलाई सही सूचना सम्प्रेषणमा प्रेसको अहम् भूमिका हुने भएकाले यो महामारीको समयमा उनीहरुको स्वास्थ्यको सुरक्षा आवश्यक छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !