के हो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ? Nepalpatra के हो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ?
१२ फाल्गुन २०७७, बुधबार

के हो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ?


लकडाउन

के हो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ? अहिले धेरै नेपालीको जनचासोको विषय रहेको शब्द हो – लकडाउन । वास्तवमा भन्नुपर्दा के हो त यो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ? आउनुहोस् यस बारेमा जानकारी लिने प्रयास गरौ ।

कोराना भाइरस रोगको विश्वव्यापी रूपमा फैलदै गएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन आजबाट सरकारले १ हप्ता ‘लकडाउन’ गरेको छ । आकस्मिक बाहेकका यातायात साधन चलेका छैनन्, नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन निर्देशन दिइएको छ ।

के हो लकडाउन ?

अत्यावश्यक काम बाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएकोे राज्यले दिएको निर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि-उपचार, खाद्यान्न ढुवानी जस्ता अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । आकस्मिक कामका लागि निस्कनै परे सरकार अथवा सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ ।

राज्यले संकटको स्थितिमा यस्तो लकडाउन गर्छ । यतिबेला कोरोना भाइरस संक्रमणको महामारी नफैलियोस् भनेर सतर्कताका लागि लकडाउन गरिएको हो । यस्तो समयमा भोज-भतेर, यात्रा र भेलामा पनि प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा पूर्ण बन्देज गरिएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक कुनै पनि प्रकारका सार्वजनिक तथा निजी गाडी चलाउन पाइँदैन । यस्तै सुरक्षा निकायले प्रयोग गर्ने वायु यान र अनुमतिप्राप्त अन्य उडान बाहेक सबै आन्तरिक तथा बाह्य व्यावसायिक उडान बन्द गरिन्छ । नेपालमा लकडाउन घोषणा हुनुपहिले नै सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको थियो । लकडाउन को घोषणापछि जो जहाँ छ’, त्यहीँ सुरक्षित ढंगले बस्नुपर्छ ।

लकडाउनमा गर्नुहुने र नहुने कामहरु

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा-२ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

के छ ऐनमा व्यवस्था

ऐनको दफा २ ले विशेग व्यवस्था गर्ने अधिकार दिएको छ । जसको उपदफा १ ले कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, उपदफा २ ले संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था गरेको छ । सरकारले जसको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यस्तै, उपदफा ३ ले उपदफा १ वा २ को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफर गर्ने यात्रुको जाचबुझ गर्ने अधिकार छ ।

साथै जाँचबुझ गर्न खटिएको कर्मचारीले अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

विशेष व्यवस्था गर्ने प्रदेशको अधिकार (सङ्क्रामक रोग ऐन, २०२०)

१. प्रदेशभर वा त्यसको कुनै भागमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा प्रदेश सरकारले त्यो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्नेछ र सर्वसाधारण जनता वा व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।

२. प्रदेश सरकारले प्रदेशमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग निर्मूल गर्न वा त्यो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।

३. उपदफा १ वा २ को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी प्रदेश सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट यात्रा गर्ने यात्रुको जाँच गर्न र त्यस्ता यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा यात्रा गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरु जारी गर्न सक्नेछ ।

४. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ बमोजिम नेपाल सरकारले आदेश जारी गरिसकेको अवस्थामा प्रदेश सरकारले यस दफा बमोजिम आदेश जारी गर्नुपर्ने छैन र त्यस्तो आदेश प्रदेश सरकारले समेत कार्यान्वयन गर्नेछ ।

५. यस दफा बमोजिम प्रदेश सरकारले आदेश जारी गरेको जानकारी नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई तुरुन्त दिनु पर्नेछ ।

हुनसक्छ ६ महिनाको कैद

यदी कुनै व्यक्तिले सरकारको आदेशको पालना नगरेमा १ सय रुपैयाँ जरिवना र १ महिना कैदेको व्यवस्था गरिएको छ । आदेश कार्यन्वयन गर्ने सवालमा अवरोध गरेको सवालमा भने ६०० रुपैयाँ जरिवना र ६ महिना कैद सजाय हुन सक्ने व्यवस्था गरिएकोे छ ।

यो पनि पढ्नुहोस्

आजदेखि १ हप्ता नेपाल लकडाउन : घर बाहिर निस्कन नपाइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु