७ बैशाख २०८१, शुक्रबार

सीलाई देखाउनको लागि मात्र रातारात दुलही झैँ सिझारिएको त होइन काठमाडौँ ?


ram
राम मगर

चिनियाँ राष्ट्रपति सी जिनपिङ् नेपालको राजकीय भ्रमणमा शनिबार नेपाल आएका थिए । नेपालको भ्रमण गर्नुभन्दा अगाडि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनौपचारिक भेटघाट गरेर मात्र शनिबार नेपाल आएका थिए । यसमा विभिन्न सम्झौंताहरुमा हस्ताक्षर गर्ने र नेपाल र चीनको सम्बन्ध सुमधुर बनाउनको लागि पनि यो भेटघाट तथा भ्रमण आवश्यक छ । कुनै राष्ट्र प्रमुख कुनै देशको भ्रमण गर्नुमा कुनै प्रश्न छैन । यो सबै देशमा आउने र जाने प्रक्रिया नै छ । यसमा कुनै प्रश्न उठाउने बाटो छैन र उठाउनु पर्ने कारण पनि छैन । दुई देशवीचको मित्रता कायम राख्न र विभिन्न खालका सहयोग आदान-प्रदान गर्नको लागि यस्तो खालको भ्रमण सधै आवश्यक छ ।

हाम्रो जस्तो देशको लागि त झन यो धेरै आवश्यक कुरा हो किनभने हाम्रो देश नेपाल आर्थिक रुपले धेरै पिछडिएको  देशभित्र पर्छ । अन्य हिसावले हाम्रो देश नेपाल अगाडी भएतापनि आर्थिक रुपले भने पछाडी नै छ । आजभन्दा ५० सय वर्ष अगाडि हाम्रो देश नेपालले चामल सहयोग गर्ने देशहरु अहिले हाम्रो भन्दा सयौं गुणा अगाडि छन् । उनीहरुको आर्थिक विकास हेर्ने हो भने हाम्रो भन्दा आकाश र पातल जतिकै फरक छ । तर नेपाल जहाँको त्यहि छ । नेपालको यो आर्थिक अवस्था हेर्दा र देख्न अन्य देशहरु अचम्मित पर्छन् । अझ राजनीतिक अवस्था, भ्रष्टाचारहरु हेर्ने हो भने झन धेरै अचम्म पर्छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल अगाडि नै आउछ ।

सन्दर्भ के मा जोड्न लागेको हो भने चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदाको यो तामझाम हो । नेपाल सरकारले रातारात सडकहरु पिच गरेर सडकका छेउछाउमा रंग्याएर नेपाली जनताहरुलाई चमत्कार नै देखाएका छन् । सडकका छेउछाउमा नेपालका विभिन्न पर्यटकीय स्थलका फोटो सहितको व्यानरहरु वनाएर रमझम नै बनाएका छन् । सडकका छेउछाउमा कुन ठाउँको दूवो काटेर ल्याएर हरियाली नै बनाएका छन् । चिनियाँ राष्ट्रपति सवारी हुने सडकहरु सबै कालोपत्रे गरेका छन् । ती सडकहरुमा कुनै पनि मर्मत र सजाउनको लागि केहि कुरा बाँकी राखेका छैनन् ।

कुनै राष्ट्रप्रमुख नेपाल भ्रमण गर्दैछ भने सडकहरु रंग्याउदा त्यो कुनै समस्याको कुरा भएन । यहाँ त नेपाल सरकारको नियतको कुरामा प्रश्न उठ्छ । कुनै राष्ट्रको प्रमुख भ्रमण गर्दा विभिन्न ठाउँहरु सजाउन त्यो स्वभाविकै हो । तर अरु समयमा भने सडकहरु दुर्गन्धित बनाएर वेवास्ता गर्ने सडकका छेउछाउमा फोहोरका थुप्रोहरू भए पनि सफा नगर्ने सरकारमाथि प्रश्न उठ्छ । कुनै राष्ट्रप्रमुख आउँदा सडकहरु कालोपत्रे गर्ने, सडकका छेउछाउमा भएका फोहोरहरु सफा गरेर त्यहाँ रातारात फुलहरु रोप्ने, कहाँ, कहाँवाट दूवो काटेर ल्याएर टास्ने, रंगीचंगी बनाउने जस्ता कुराहरुमा प्रश्न उठ्छ किनभने अन्य समयमा भने ती सडकहरुको बेवास्ता गरिन्छ । सडकका छेउछाउमा भएका ती फोहोरहरुको गन्धले गर्दा नागरिकहरु हिडि सक्नु हुँदैन । तर कुनै राष्ट्रप्रमुख आउँदा भने यो सब किन क्षणिक देखाउनको लागि हो ?

यसवाट नेपालीले के सिक्ने ?

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने हल्ला चल्न थालेपछि नेपाल सरकार उत्साहित भएको ठिकै हो । नेपालीहरुको लागि वडादशैं आएजस्तै यी सरकारलाई भने दशैँ जस्तै भए नेपालीहरुले वडा शैँ आउनु भन्दा १०/१२ दिन अगाडिदेखि नै सबै घरहरु सफा गर्ने घर रंग्याउने र घरमा चाहिने सबै समानहरु किन्ने नयाँ लुगाहरु किन्ने जस्ता कुराहरु गर्छन् । त्यस्तै नेपाल सरकारले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्दैछन् भन्ने त्रासले गर्दा देखाउनको लागि मात्रै भएपनि वषौंदेखि खाल्टाखुल्टी भएका सडकहरु कालोपत्रे गर्ने र सडकहरु रंग्याउने जस्ता कामहरु गर्छन् । अन्य समयमा सरकारको ध्यान जादैन । तर कुनै राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने भयो भने भएभरको रकम खर्च गरेर भमणमा कुनै कमि हुन दिदैनन् । तर अरु समयमा हो भने सडकहरु पुरै दुर्गन्धित हुन्छन् । सबै सडकका छेउछाउमा फोहोरका थुप्रोहरू थुप्रिएका हुन्छन् । सडकहरु सबै खाल्टाखुल्टी हुन्छन् । कालोपत्रे गरेको २/३ महिनादेखि नै सडकका कालोपत्रेहरु भत्किन थाल्छ । अनि सडक पहिलाको जस्तै हुन्छ । तर कुनै राष्ट्र प्रमुख आउँदा भने सरकारले रातारात सडकहरु हरियाली बनाएर नेपाली जनतालाई चमत्कार नै देखाउछ ।

नेपाल सरकारले कुनै राष्ट्रप्रमुख आउँदा सडकहरु रंग्याउन सक्ने तर अरु समयमा किन सक्दैन ? प्रश्न यहाँ उठ्छ । सरकारले नेपाली जनताको लागि यसरी नै काम गर्दिएको भए नेपाली जनताको मन कति खुसी हुन्थ्यो र नेपाली जनताको मनमा पनि नेताहरुप्रति राम्रो सोचाई हुन्थ्यो । नेपाली जनताको मन जित्न सक्थ्यो । तर सरकारले यसरी कुनै राष्ट्रप्रमुख आउँदा मात्र सडकहरु पात्रोपत्रे गर्ने, सवारी हुने सडकहरु मात्र कालोपत्रे गर्ने, सडकका छेउछाउमा कुन ठाउँका दुवोका चौरहरु काटेर ल्याएर हरियाली बनाउने, विभिन्न खालका फूलहरु ल्याएर रोप्ने र अन्य विरुवाहरु रोप्ने खालका गतिविधिदेखि नेताहरुमाथि नेपाली जतनाको विश्वास घट्दै गएको पाइन्छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा स्वागतका लागि मात्र फेलेक्स, गेट बनाउनु कुनै नराम्रो होइन र गर्नैपर्छ । तर नेपाल सरकारले यसरी कुनै राष्ट्रप्रमुख आउँदा मात्र रंग्याउने र फूलहरु रोपेर सडक रमझम बनाउने अनि अरु समयमा भने त्यतिकै बेवास्ता गर्ने कुरामा नेपाली जनताको गुनासो छ । यस्तै काम गर्दै गर्दा नेपाली जनताले सिक्ने के भने यहि कुनै देशका प्रमुख आउँदा मात्र नेपाल सरकारले सडकहरु बनाउने र रंग्याउने तर अरु समयमा भने सरकारको ध्यानै नजानेले गर्दा सरकारलाई नेपालको सडकहरु रंग्याउनलाई कुनै देशका राष्ट्रप्रमुख आउनुपर्दो रहेछ भन्ने भाव सबै नेपालीहरुमा परिसकेको छ ।

नेपाली जनतामा पर्ने असर

नेपाल जस्तो देशमा यस्तो भएको यो चोटी मात्र होइन । यो भन्दा अगाडिका दिनहरुमा पनि यस्तै चमत्कार देखाएको थियो । यो भन्दा अगाडी सार्क सम्मेलन हुँदा पनि यसरी नै सडकहरु रंग्याउने नगरेको पनि होइन । त्यस समयमा पनि सडकहरु रंग्याएर नेपाली जनतालाई चमत्कार देखाएको थियो । त्यो भन्दा ठुलो के थियो भने सडकहरु ठप्प बनाएर यात्रीहरुलाई समस्यामा परेका थिए । काठमाडौं जस्तो ठाउँमा दिनभरी नोकरी गरेर बिहान बेलुका हातमुख जोड्नलाई समस्या परेको ठाउँमा यसरी सवारी ठप्प गर्दा कतिसम्म नेपालीहरुलाई समस्या पर्छ भन्ने कुरा नेताहरुलाई के थाहा ?

यो चोटी पनि राष्ट्रपति विद्यादेवी भण्डारीले निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी नेपाल आएका थिए । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीदेखि अन्य मन्त्रीहरु र नेताहरु अन्तर्राष्ट्रिय विमानस्थलमा गएका थिए । त्यहाँ जानुभन्दा ३ घण्टा भन्दा अगाडिदेखि नै सडकहरु ठप्प बनाएका थिए । राष्ट्रपति नेपाल आइपुग्नु भन्दा अगाडि नै प्रधानमन्त्री ओली आफै सडक अवलोकन गरेका थिए । त्यत्रो सामयसम्म सवारीहरू ठप्प गर्दा नेपाली जनतालाई कतिसम्म पिडा भयो भन्ने नेताहरुले सोचेनन् ।

सीलाई स्वागत गर्नु नेपाली जनताहरु पनि थुप्रै सडकमा र विमानस्थलमा गएका थिए । तर अन्य नोकरी काम गर्नेहरुको लागि हो भने यो क्षण निकै कठिनाई भयो । यसरी सडकमा बन्द गरेर सवार हुने प्रचलन एकदमै नराम्रो हो किनभने घन्टौंसम्म सवारी साधन ठप्प बनाएर नेपाली जनतको समस्यालाई नबुझिकन आफ्नो स्वार्थ मात्र हेरेर नभएको चटक देखाउनु राम्रो होइन । नेपाल सरकारले पनि बुझ्नु जरुरी छ की नेपाली जनताको लागि पनि सवारीको व्यवस्था मिलाउन जरुरी छ । सवारी यात्राको लागि सडक ठप्प बनाएर त्यसरी जनतालाई दु:ख दिदा नेताहरुमाथि जनताको विश्वास घट्दै जानेछ ।

सीको भ्रमणवाट नेपाललाई हुने फाइदाहरु 

नेपाल जस्तो अविकसित देशमा चीन जस्तो शक्तिशाली देशका राष्ट्रपति सी नेपाल भ्रमण गर्नु नेपालको लागि एकदमै राम्रो र फाइदाजनक पनि छ किनभने नेपाल आर्थिक रुपले चीन भन्दा धेरै पछाडी छ । त्यसैले गर्दा चीनको सहयोगले नेपालमा निकै विकासका कामहरु पनि भएको छ । त्यसैले गर्दा नेपाललाई सहयोग गर्नको लागि पनि सीको भ्रमणवाट अझ नेपालमाथि सहयोग गर्छकी भन्ने नेपालीहरुको मनमा छ र गरिरहेको पनि छ । विशेषगरी चिनियाँ राष्ट्रपति सीको जहाँ भ्रमण हुन्छ त्यहाँ चिनियाँ पर्यटकहरु बढ्छ भन्ने कुरा छ । त्यसैपनि चिनियाँ पर्यटकहरु नेपालमा नआएका होइनन् । अझ यो सीको भ्रमणपछि नेपालमा चिनियाँ पर्यटकहरु भित्रिन्छ भन्ने विश्वास छ र नेपालको लागि आर्थिक रुपले टेवा पुग्नेछ ।

सीको भ्रमणसंगै नेपालले अब विकासको लक्ष्य लिएको छ किनभने सीले राष्ट्रपति भण्डारीले आयोजना गरिएको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘नेपाल र चीनको सहकार्यलाई अझ कायम गर्नुपर्छ र मिलेर अगाडि बढ्नुपर्छ ।’ सीले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका थिए । सीले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए । सीले भनेका छन्, ‘मलाई आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।’

त्यस्तैगरी नेपाल र चीनवीच २० वटा सम्झौंता भएका छन् । सीले नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने घोषणा गरेका छन् । यसरी छिमेकी राष्ट्रहरुले सहयोग गरेकै कारणले गर्दा नेपालमा थुप्रै योजनाका कामहरु सम्पन्न भएका छन् । विभिन्न राजमार्गदेखि लिएर विद्यालयको भवन, मन्दिरको लागि पनि चीनले सहयोग गएका छन् । चीनले अझै नेपाललाई सहयोग गर्ने बताएका छन् । २३ वर्षपछिको चीनको राष्ट्रपतिको यो भ्रमण हो ।

निष्कर्ष

अब नेपालमा पनि थोरै विकास हुन्छ भन्ने नेपाली जनताले आश गरेका छन् । तर जति सहयोग गरेका छन् । ती सबै रकम विकास निर्माणमा सदुपयोग भयो भने राम्रो हुन्छ । तर नेपालमा भ्रष्टाचारले सताएको देश हो । यो सहयोग रकम सबै विकास निर्माणमा प्रयोग हुन निकै गार्हो छ र अहिलेसम्म भएको पनि देखिदैनन् । कारण हो भ्रष्टाचार ! यहि भ्रष्टाचारले गर्दा नेपाल अहिले यो अवस्थामा छ । ठुल-ठुला नेताहरुमाथि भ्रष्टाचार गरेको आरोप लागेपनि सरकारले केहि गर्न सकेको छैन । सरकारी जग्गाहरु सबै गायप गरेका छन् । कतिसम्म भने प्रधानमन्त्री निवासको जग्गा पनि हडप्नेलाई कुनै कारबाहीसम्म पनि सरकारले गर्न सकेको छैन ।

अन्तिममा कुनै राष्ट्रप्रमुख आउँदा मात्र होइन सडकहरु कालोपत्रे गर्ने सधै गर्नुपर्छ भन्ने भाव सरकारमा रहेका नेताहरुको मनमा यो कुरा जानकारी होस् । देखाउनको लागि होइन । सधै सुन्दर नेपाल र सडक बनाउने लक्ष लिएर अगाडी बढ्न् सरकारलाई आग्रह गर्न चाहान्छु । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र यसलाई अन्त्य गर्नुपर्छ। अनि मात्र नेपाल विकसित देशभित्र पर्न सक्छ ।सीलाई देखाउनको लागि मात्र रातारात दुलही झैँ सिझारिएको हो त काठमाडौँ ? भने शंका आम नेपाली नागरिकमा अझै कायम नै छ । यसो हो भने यो पटक्कै राम्रो र ठिक भएन । साच्चै नेपाल सरकारले कम्मर  कसेर लाग्ने हो भने नेपाल जस्तो सानो देशको विकास गर्न धेरै समय लाग्दैन। नेपाल सरकारले जनअपेक्षा अनुसार विकासको काम गरोस् र आम नेपाली जनताहरुको मन जितोस् ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !