७ बैशाख २०८१, शुक्रबार

कुमारजी आज्ञा गर्नुहुन्छ :हे अगत्स्य मुनि!….


arundevkota

कुमारजी आज्ञा गर्नुहुन्छ :
हे अगत्स्य मुनि! सृष्टिको सुरुवातमा केही पनि थिएन। समय पनि थिएन, स्थान पनि थिएन। मात्र शिव र शक्ति सँगै थिए। अचानक शक्ति चलमलाईन्, बोर लागेछ क्यार उनलाई!
“ए हजुर! सुन्नुस् त!”,शिवजीको खुट्टा हल्लाईन्। परमानन्द स्वरूपमा निदाई रहेको बेलामा कसैले चलाएमा रिस त उठिहाल्छ नि!
“हैन! के भो?”, झर्किलो स्वरमा आँखा मिच्दै उहाँ उठ्नुभो।

“ब्रम्हा र विष्णुजीलाई जागृत गर्ने कुरा थियो। बिर्सुनुभो?”
“ए! हो त है!”, बेलाबेलामा झल्किने आफ्नो भुलक्कड शैलीप्रति शिवजी यसरी नै मुस्कुराउनु हुन्छ शक्तितिर फर्केर।

तब शिवजीले जागृत गराउनुभो दुबैलाई। ब्रम्हाजीले सुरुवात गर्नु भो सृष्टिको। अनन्तकोटि ब्रह्माण्ड रचिए। प्रत्येक ब्रह्माण्डको आयु हुन्छ, हे अगत्स्य मुनि!
अब एक विशेष ब्रह्माण्डका कमनम्यानदेखि सुपरम्यानसम्मका कहानी सुनाउँछु! ध्यान दिएर सुन्नु।

अध्याय एक : कमनम्यान
वर्तमान् आकाशगंगाको छेउतिर एक सौर्य मण्डल छ। सुर्यलाई आधार मानेर घुम्ने नवग्रहहरुमध्य पृथ्वीमा थुप्रै संख्यामा मानव जातिहरु बसोबास गरिरहेका छन्। मैले अघि नै भनिसकें नि,”सृष्टिको सुरुवातमा केही पनि थिएन।”
सबै मान्छेहरुलाई सृष्टिको विधानले एउटा दिमाग दिएको छ। एकदमै अचम्मको चिज हो त्यो। एकदमै खतरनाक र एकदमै उपयोगी पनि। उपयोगी यसकारण कि आफ्नो अस्तित्वबोध गर्न सक्छ मान्छे यसको माध्यमले र खतरनाक यसकारण कि भ्रममा पारिदिन्छ दिमागले मानिसलाई। “म नै सर्वेसर्वा हूँ”, यो भ्रम दिमागले दिन्छ शरीरलाई। शरीर बिर्सन्छ आफुले आफैंलाई। आफ्नो स्रोत के हो बिर्सीरहन्छ मान्छे। फलस्वरूप ऊ दिमागी ब्रह्माण्डमा मात्र बाँचिरहेको हुन्छ । यस्तो मानसिक ब्रह्माण्डमा बाँचिरहँदा स्वत: अहंकार, डर, लोभ, पीडा पालिरहन्छ शरीरले। यस्तो शरीर भएका मान्छेलाई साधारण मान्छे भनिन्छ अर्थात् कमनम्यान।

अध्याय दुई : सुपरम्यान
हे अगत्स्य मुनि! यो श्रेणीका मानिसहरु दिमागी संसारभन्दा पनि वास्तविक संसारमा बाँच्छन्। सृष्टि भनेको मात्र शिव र शक्तिको चलखेल हो, वार्तालाप हो भनि बुझ्छन्। सत्ययुगमा मात्र होइन, कलियुगमा पनि यो तथ्य बुझ्ने मानिसहरु पृथ्वीलोकमा अवतरित भएका छन्। यो जन्मको मात्र होइन, तिनीहरुको दिमागमा सृष्टिदेखिका घटनाहरु तरोताजा छ। सांसारिक झमेलामा पर्न सक्छन् तिनीहरु तर लिप्त भई रहन्नन्। त्यस्ता मानिसहरुलाई असाधारण मान्छे अर्थात् सुपरम्यान भनिन्छ। ती सुपरम्यानहरुलाई यो कुमारको कोटीकोटी प्रणाम छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !