७ बैशाख २०८१, शुक्रबार

बन्दुकको नालले बुझाउन खोजिएको परिवर्तन


shooting-on-head

साँझ ढल्किदै  थियो। आकाशमा जुन चम्किलो बन्दै थियो। चराचुरुङ्गिहरु बास बस्न बाँसको झ्याङ्ग्मा कराइरहेका थिए । दिनभरिको  होहल्लाले थकित बारीका डिलमा सयपत्री फुलहरु आराम लिन खोजिरहेका देखिन्थे। कस्तो मनमोहक! म त्यसैमा रमाउदै थिएँ। भित्र आमा मकै भुट्दै हुनुहुन्थ्यो। मलाइ मकै मन पनि पर्ने ! अझ शहरमा म:म र चाउमिनको स्वादले दिक्क भएको जिब्रोलाइ पनि स्वाद ,फेरिने। “बाबु आइज, मकै तयार भयो”, भित्रबाट आमाले बोलाउनु भयो। म भित्र पसेँ। माथिल्लो घरको दाई पनि आउनु भएको थियो । हामी मिठामिठा गफ गर्दै मकै खान थाल्यौँ ।

एकाएक माहोल फेरियो। परबाट सैनिकले परेड खेले जस्तो आवज आयो। मनमा सन्नाटा छायो। मैले भनेँ “को हो?” “चुप चुप!” सबै जना चुप लाग्यौँ । “को हुनुहुन्छ ?” ढोकाबाट भित्र हेर्दै एक जनाले सोध्यो। “हामी सबै छौँ”, बुबाले भन्नु भयो । “हामी यसो बास पाइन्छ की भनेर”, उसले थप्यो र बाहिरतिर लाग्यो। मैले भनेँ ,”को हुन् ?” बुबाले अलि अलि भन्नुभयो, मैले बुझिहालेँ । हामी खानेकुरा छोडेर बाहिर आयौँ। दश बाह्र जनाको हुल थियो। कसैको हातमा ओके टोके, कसैले राइफल भिरेको, सबैको काँधमा झोला। म अलमल्ल परेँ। “भित्रै बसौँन” बुबाले भन्नुभयो। हामी मुल घरको दलानमा छिर्यौ। उनिहरु पनि पछि पछि आए। त्याँमध्ये एउटाले सोध्यो, “उहाँ को?” “मेरो छोरा” बुबाले उत्तर दिइहाल्नु भयो। “पहिला त देखिनुहुदैनथ्यो नि”, उसले भन्यो। “अँ काठमांडूमा बस्छ, छुट्टिमा आएको”। “के गर्नुहुन्छ?” म तिर हेरेर उसले भन्यो। “म पढ्छु अमृत साइन्स क्याम्पसमा” मैले पनि जवाफ फर्काएँ । “ए! हाम्रै क्याम्पसमा पढ्नुहुँदो रहेछ”, उसले थप्यो। अनी मैले सबैतिर आँखा डुलाएँ ।

त्यसपछि उसले आफ्नो उद्देश्यको बारेमा भन्न थाल्यो। देश परिवर्तन गर्न हिँडेको रे! अनि उसले मलाई माओ र कार्ल मार्क्सको सिद्दान्तको बारेमा भन्न थाल्यो। लाग्यो मलाई उसले पढाउँदैछ । अनि मैले पनि उसलाइ प्रतिप्रश्न गर्न थालेँ। केही समय हाम्रो दोहोरी नै चल्यो। त्यसपछि उ अलि आक्रोसित हुन थाल्यो। सायद उसले अब बुझाउन सक्दैन थियो होला। बुबाले “ल ल भयो” भन्दै हुनुन्थ्यो तर मैले टेरिनँ । “कसैलाई जबरजस्ती लाद्न खोज्नु ठिक हो र ?”, मैले भनेँ। “स्वेच्छाले स्विकार्न सक्नुपर्यो नी!” मैले थपेँ। “ठोक्दे सालेलाई, हामीलाई सिकाउँदो रहेछ”, अर्को जङ्गियो ।” बुर्जुवा शिक्षा पढेर कती न जान्ने हुँ भन्छ। यस्तै यथास्थिती वाद्ले लादिएकाले हो यो देश यस्तो भाको।”  ” यसलाई पनि हामीसङ्गै लानुपर्छ”, अर्काले थप्यो । म कत्ति  पनि हिच्किचाइनँ र प्रतिप्रश्न गरिरहेँ। नबिराउनु नडराउनु। यत्तिकैमा एउटाले रिभल्भर निकाल्यो र मेरो कन्चटाँ  राख्यो। म अलि झस्किएँ । बुबा आमा अतालिनु भयो र भन्नु भयो,” गल्ती भयो उसलाई थाहा छैन।” हुन पनि हो बन्दुक समात्नेले धेरै कहाँ सोच्छ र ? त्यसपछि कम्मरमा रिभल्भर बोकेको जुरुक्क उठ्यो र बुबालाई भित्र लग्यो । “बन्दुक देखाएर कसैलाई डराएर देश परिवर्तन हुन्छ र” ? मैले भनेँ। यत्तिकैमा एउटा गर्जियो र भन्यो, “अब यहाँभन्दा बढी बोलिस् भने तँलाई जिउँदै गाड्दिन्छु। त्यसपछि म चुप भएँ किनकी यिनीहरु कत्तिसम्म क्रुर हुन्छन् भन्ने मैले सुनेको थिएँ। केही दिनअघि मात्रै उनिहरुको कुरा नमान्दा पल्लो गाउँमा एक जनाको हत्या गरेका थिए रे । त्यसपछि तिनीहरु त्यहाँबाट निक्लिए र भन्दै गए,” हामी आ’को कुरा कसैलाइ नभन्नु।”

अनि मैले बुबालाई सोधेँ,” के भन्यो भित्र ?” उहाँले भन्नुभयो देश परिवर्तनको लागि आर्थिक सहयोग गर्नुपर्ने रे। मैले भनेँ ,”किन नि “? “तँ नकरा। उहाँ जङ्गिनु भयो सायद ,धम्क्यायो होला । भोलीपल्ट हिँड्नु पर्ने! मन कत्ति  पनि मानेन रातभर कुरा खेलिरहयो। तै पनि हिँड्नै पर्ने!भोलिपल्ट खिन्न भएको मन बोकेर हिँडे। यहाँ आइसकेपछि बुबालाई फोन गरेँ, उहाँले भन्नुभयो,”अँ दिएँ। के गर्नु देखिहालिस् । बोल्न मिल्दैन।” यो घटनाक्रम सङ्गै म परिवर्तनको प्रतिक्षामा रहिरहेँ ।

आज हेर्दै छु यो देशको परिवर्तन । त्यो देश परिवर्तन गर्ने खोक्रो नारा। कता गए ती रिभल्भरबाट निक्लिएका गोलीका आवाज ? कता गए ती गरिबका पसिना र रगत ? कहाँ गयो त्यो बन्दुकको निशानामा शहिद भएका जनताको मुल्य ? आखिर के हो परिवर्तन ? कसलाई र किन चाहिन्छ परिवर्तन ? के चार जात छत्तीस वर्णको फूलबारीलाई टुक्रा टुक्रा पार्न हो परिवर्तन ? के भ्रष्टचारको जालोले जेलिएको देशमा नयाँ भ्रष्ट्रचारीको नियुक्ती गर्न हो परिवर्तन ? के बाँकी रहेका नदीनाला  बेच्न हो परिवर्तन ? के पहाडी र मधेशीको नाम छुट्ट्याएर  नेपाली दाजु भाई लाई लडाउन हो परिवर्तन ? कि सिङ्गो राष्ट्र आँ गरेर बसेकालाई सुम्पिन हो परिवर्तन? खै मैले त अझै बुझ्न सकिनँ के हो परिवर्तन?
जय नेपाल!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !