७ बैशाख २०८१, शुक्रबार

गुणका प्रकार: तामस्, रजस् र सत्त्व


gunas

ब्रह्माण्डका गुण जति ३ प्रकारमा बाँढ्न सकिन्छ: तामस्, रजस् र सत्त्व । आलस्यता भनेको तामस् हो, गतिशिलता भनेको रजस् हो र उच्च अवस्थामा पुग्ने गुण सत्त्व हो। यी तीन गुण विपरित कुनै पनि भौतिक संरचना अस्तित्वमा छैन। एउटा अणु स्थिर हुनु, चलायमान हुनु र उत्तेजित हुनुमा पनि यी गुणहरु हावी हुन्छन्।

यी तीन तत्वबिना तपाईं कुनै पनि चीज समात्न सक्नु हुन्न। सत्व मात्र अस्तित्वमा हुने भए तपाईं समेत यो धर्तीमा रहनु हुने थिएन। रजस् मात्र हुने भए तपाईं स्थिर अवस्थामा आउनु हुने थिएन र तामस् मात्र भए तपाईं गतिशील बन्न सक्नु हुन्न। तसर्थ यी तीन चीजको संयोजनले नै ब्रह्माण्डको यति विविध स्वरूप अस्तित्वमा रहेको छ। तसर्थ प्रश्न यो हो कि कति परिमाणमा यी गुण रहन्छन्, तदनुरुप कुनै पनि चीजले आफ्नो गुण देखाउँछन्।

२४ घण्टामा लगभग ६ घण्टा आराम चाहिन्छ एउटा प्रौढ मानव शरीरलाई। हाम्रो शरीर स्वस्थ हुनको लागि ६ घण्टाको हाराहारीमा पूर्ण निद्रा चाहिन्छ हामीलाई| कतिपय सौन्दर्यविद्हरु अनुहारमा कान्ति ल्याउन लगभग ८ घण्टाको पूर्ण निद्रा चाहिन्छ भन्छन्। हामी निद्रामा हुँदा मुटु, रक्त संचार प्रणाली, स्वास प्रणाली जस्ता आधारभूत शारीरिक संरचना गतिशील त हुन्छन् तर हाम्रा अधिकांश अंगहरु आराम अवस्थामा हुन्छन्। यो अवस्थामा तामस् गुण हावी हुन्छ।

बाँकी १८ घण्टा हामी सक्रिय अवस्थामा हुन्छौं। चाहिने मात्राभन्दा बढी आराम गर्नु पनि स्वास्थ्यको दृष्टिकोणले पनि हानिकारक छ। सक्रिय अवस्थामा रजस् गुण हावी हुन्छ।

पूर्वीय हिन्दु, बौद्द दर्शनमा मानव देहको लक्ष्य जन्म मरणको चक्रबाट मुक्ति पाउनु हो। तसर्थ प्राचिन धर्म ग्रन्थमा उल्लेख भएअनुसार मुक्तिको बाटो सत्त्व गुणलाई बढी मात्रामा आत्मसात गर्नु हो। ध्यान दिइयो भने पूर्वीय मान्यता अनुसार खानाका प्रकार पनि तीन भागमा विभाजन गरिएको पाइन्छ; सत्त्वगुणी, रजोगुणी र तमोगुणी।

सत्त्वगुणीमा शरीरलाई पचाउन सजिलो खानाहरु पर्छन्, जस्तै: फलफूल, सागपात इत्यादी।

रजोगुणीमा शक्तिबर्दक खानाहरु पर्छन्, जस्तै:मसालेदार खानाहरु। जिब्रोको स्वादका लागि खाइने खानाहरु यो श्रेणीमा पर्छन्।

तमोगुणीमा आलस्यता ल्याउने खानाहरु पर्छन्, जस्तै: लसून, प्याज, माछा मासु, सुर्तीजन्य पदार्थ, मदिरा इत्यादी।

स्वस्थ, आनन्दमय र सुखमय जिन्दगीको लागि सत्त्वगुणी खानाको सेवन बढी गर्नु पर्छ|
(सन्दर्भ सामग्री: इशा फाउन्डेसन)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !