१३ बैशाख २०८१, बिहिबार

श्राद्ध कति प्रकारका हुन्छन् ? कुन श्राद्धको महत्व के ?


pitri

आजवाट सोह्रश्राद्ध सुरु भयो । हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

श्राद्धहरु यस प्रकारका हुन्छन् : 

१.  श्राद्ध धेरै प्रकारका हुन्छन् । हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृहरुको हाम्रो हुने १ वर्ष उनीहरुको एकदिन हो । त्यसैले दिनदिनै पुत्रसन्ततिवाट उनीहरुको आत्मा तृप्त हुने बिश्वासअनुरुप हरेक वर्ष दिवंगत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्विष्टश्राद्ध हो । पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रुपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको बिधिले संपन्न गर्नुपर्ने हुन्छ ।

देवताहरु खुशी हुन्छन् । भक्तिभावले आंसुभाव, समर्पणभावाट देवता खुशी पर्ने माध्यम हो। भजन किर्तन, पुकार आदि शब्दको ख्याल नगर्दा पनि हुन्छ । यतिवेला जसले जसरी जान्दछ, सक्तछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन । वाक्य शुद्धि हुनुपर्छ, वचन, बिभक्ति, कारक, पुरुष, सबै मिल्नु पर्छ । पितृहरुले आफूले दिएको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ । एउटै पितृको उद्देश्यमा एकोद्विष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ । एकोद्विष्ट श्राद्ध मध्यान्ह कालमा गर्नु पर्ने हुन्छ ।

२. घरमा शुभकर्म हुंदा पनि श्राद्ध गरिन्छ । सप्ताह, पुराण श्रवण, विवाह, ब्रतवन्ध, न्वारान, पास्नी लगायत सबै किसिमका शुभ कर्म गर्नु अघि पितृको पूजा गरिनुपर्छ । यसमा खासगरी पिण्डदानको महिमा नभए पनि कुनै कर्म गर्नु अघि यो किन गरिन्छ भने देवता दिनेको प्रतीक हुन् भने पितृ हर्नेको पनि प्रतीक हुन ।

आफ्नो कुलमा कुनै संयोगको राम्रो कर्म हुंदा उनीहरुले सन्ततिवाट केही चाहेका हुन्छन् । यस्तो श्राद्धलाई बृद्धिश्राद्ध भनिन्छ। बढेर गरिएको शुभ कर्मको श्राद्ध हो यो । यसलाई आभ्युदायिकश्राद्ध पनि भनिन्छ भने योश्राद्धलाई नन्दीमुखीश्राद्ध पनि भनिन्छ। परिवेशअनुसार सबैश्राद्धको कर्म क्रियाहरु फरक हुन सक्छन् । यो बृद्धि श्राद्ध बिहानी मै गरिन्छ । कुनैसमय पर्खी बस्नु पर्दैन । मंगलाचरणको साथ साथै यो श्राद्ध गर्दै जाने प्रचलन छ ।

३. तीर्थमा गरिने श्राद्धलाई तीर्थश्राद्ध भनिन्छ । गृहस्थीहरुको लागि तीर्थश्राद्ध एकदमै जरुरी छ । औंसी वा पावनतिथि पारेर सन्ततिले पितृउद्धार हेतु गंगा, यमुना, सरस्वतीको संगम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी जहां तीर्थस्थलहरु रहेका छन् गंगोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बदरीकाधाम, केदारखण्ड, बिभिन्नघाटहरु, गोकर्ण, उत्तरगया, आर्यघाट, वाराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत आफ्नो शक्ति र क्षमताअनुसार पितृउद्धारहेतु तीर्थश्राद्ध गर्नुपर्ने बताइन्छ । तीर्थश्राद्ध एवं ब्रह्मकपालीबाटै पितृहरु तृप्त हुन्छन् ।

सन्ततिले दिएको जल पिण्डदानले उनीहरुले आफू तृप्त भएको महसूस गर्छन् र आशीर्वादस्वरुप धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मउन्नति एवं सन्ततिको आचरण, व्यवहार शुद्धि, मर्यादापालन, नैतिकता एवं आफूप्रति उनीहरुले भविष्यसम्म गर्ने बिधि व्यवहार र मृतपछि उनीहरुले देखाउने श्रद्धाभावको लागि पनि आफूले आफ्ना पितृप्रति श्रद्धा गरिएको भाव आफ्ना सन्ततिलाई देखाउनकै लागि पनि गर्ने गरिन्छ ।

आफूले छोडेको काम आफ्नो सन्ततिवाट आशा गर्नु निरर्थक हुन्छ । स्वभावैले नयाँ पिंढी परिवर्तनकारी हुन्छन् भने असल परिवर्तन कार्यमा वावु आमाको प्रेरणा आवश्यक हुन्छ । तीर्थमा जौको पिण्ड दिने र श्राद्धको बिधान पनि फरक हुन्छ । गया वा तीर्थश्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुडपुराणमा एवं पद्मपुराणमा उल्लेख गरिएको छ ।

श्राद्धकर्ताको पत्नीको हातवाट तयार गरिएको पिण्डदान गर्नाले एकवर्षसम्म पितृहरु खुशी रहने बताइएको छ । त्यसैले कुलाचार अनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नु पर्ने बताइएको हो । त्रेतायुगमा स्वयं श्रीरामले वनवासमा आफ्ना पिता दशरथको देहान्तको खवर सुनेर वालुवाकै भए पनि सर सामान सीतावाट तयार पारी श्रीरामले पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आफूले तृप्ति पाएको बताइएको छ । मूलकुरा बिश्वास र धारणाको कुरा हो । हाम्रो सभ्यता बिश्वासमै अडेको छ र बिश्वास कै कारण सूर्य, चन्द्र, धर्ती, आकाश, आदि सबै अडेका छन् ।

४. दिवंगत सबै पितृहरुको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो । सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको वखत दिवंगत पितृहरुलाई पिण्डदान नगर्ने पुत्रहरु पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ ।

सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।

धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात्।

अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेको लागि उसका धन र संपत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरुको श्वासप्रस्वास रोकेर उनीहरुलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हुँदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु वावुको या नसके वाजेको तिथिमा लिइनु राम्रो मानिन्छ । सूतक, जूठो वा असर्धो समय परे एकादशी या औंसीमा गरिनुपर्छ । रोकिएकोले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पनि पाइन्छ । यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ ।

देवऋषिहरु, पितृऋषिहरु स्थापना गरी स्वाहा र स्वधा मंत्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर सांहिली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी औंलाले पूजा गरिन्छ । दिवंगत सबैजसोका लागि पिण्ड दिइन्छ । कसैले १६ वटा पिण्ड पुर्याउँछन् भने कसैको सोभन्दा बढी हुन्छ भने कसैले ६ वटा मात्र दिने गरेको पनि देखिन्छ, यो चलनको कुरा हो ।

बिभक्ति प्रयोग गर्दा आसनको लागि षष्ठी बिभक्ति प्रयोग गरिन्छ भने आवाहनमा द्धितीया बिभक्ति, अन्नदानमा चतुर्थीबिभक्ति प्रयोग गरिन्छ। हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभए सम्म हवनकार्य, योगीलाई अन्नदान देवपूजा, ब्रह्मचारी तपस्वीहरुलाई कुनै दान अर्थात् पितृकार्य बाहेकको अन्यकार्य पिण्डदान अघि निषेध गरिएको छ ।

स्वलक्ष्यमा हुन्छन् पितृहरु त्यो लक्ष्य पूरा नभएसम्म अन्य क्रिया कर्म निषेध गरिएको कारण अन्यकार्य अन्यदिनहरुमा बिशेष रुपमा हुने गर्छ । पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिहरुलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजहरुलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुवान्धव, इष्टभित्र, ज्वार्इँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूम धाम बाजा गाजा राखी घण्टशंखआवाज र भीड भाड भने गर्नु नहुने बताइएको छ ।

पार्वणश्राद्ध खासगरी अपरान्ह समयमा गरिन्छ । श्राद्धमा तुलसी, भृंगराज, सयपत्री, अगस्त्यपुष्प आदि ग्राह्य छन् र केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य फूलहरु निषेध छ ।

श्राद्ध गर्दा अरुको स्वामित्व भएकोघर जमिनमा बसेर गरेमा पितृहरु खुशी नहुने, उनीहरुको शक्ति क्षीण हुने बताइएको छ । यसर्थ शहरीक्षेत्र अरुको स्वामित्वमा डेरागरी बस्नेले श्राद्ध तर्पण गर्दा नजीकको तीर्थक्षेत्र गोकर्ण, आर्यघाट, गौरीघाटमा यस्तै अन्य पवित्रस्थलमा गर्ने गरेको पाइन्छ ।

श्राद्धमा प्रयोग हुने बस्तुहरु अघिपछि प्रयोग नभएका, चोखो बस्तुहरु तयार गर्नु पर्ने दूध, ध्यू, तिल आदि नभइनहुने, आसनी चोखो चाहिने, खड्गपात्र चाहिने, ऊनवाट बनेका कम्वलहरु बिशेष प्रिय हुने, कुश, चाँदीका, तामाका भाडा कुँडा हुनुपर्ने, सके गाई आवश्यक पर्ने, छोरीको छोरा पनि आवश्यक पर्ने आदि नियमहरु छन्, जो यथाशक्य पूरा हुनुपर्ने देखिन्छ ।

पार्वणश्राद्ध यसकारण पनि जरुरी छ कि पार्वणश्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गापक्षको कर्म, जमरा राख्ने कार्य आश्विनशुक्लपक्ष भरि गरिने कर्म निषेध गरिएको छ । यसर्थ देवता वा शक्तिको उपासना गर्ने क्रमको पूर्वसन्ध्या पनि पितृपूजन जरुरी भएको हो । देवपूजनमा हामी बिश्वास गर्छौ पितृपूजा भनेको अतीतसंग गांसिएको छ ।

यो पनि पढ्नुहोस् :

ऋषि पंचमी मनाउने चलन कसरी भयो सुरु, कारण यस्तो छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !