भूईंकटहर खेती गर्ने तरिका

भूईंहटहर रसिलो हुन्छ । यो संतोष प्रदायक हुन्छ । यो स्वादिलो पनि हुन्छ । पाकेको, सुनौलो, रसिलो अनि स्वादिलो यो फललाई दाँतहरुले चपाइरहुँ जस्तो लाग्छ किनकि यसमा विशेष प्रकारको आकर्षण हुन्छ जसले कसैको पनि मन लोभ्याउन सक्छ । भूईंकटहरमा आबद्ध स्वादिलो गुण र मीठोपनाका कारण यो फललाई अनौठो देनको रुपमा लिइन्छ । यो अचम्मको फल तपाईको लागि अति स्वस्थकर छ । यो फल गर्मी मौसम र तातो हावापानी हुुने ठाउँमा विशेषगरि उत्पादन हुन्छ । अनि यसमा भिटामीन, पोषण र इन्जाइमको मात्रा अत्यधिक मात्रामा उपलब्ध हुनेहुनाले यो फललाई आफ्नो दैनिक खोराकमा सामेल गर्नै पर्छ ।

भूईंहटहर खेती सम्बन्धि केहि जानकारी :

भूईंकटहरलाई कस्तो किसिमको हावापानी उपयुक्त हुन्छ?

यो उष्ण प्रदेशीय फलफूल अन्तर्गत परेता पनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ।

यसको खेती समुद्र सतहबाट कति उचाई सम्म गर्न सकिन्छ ?

यसको खेती समुद्री सतहबाट १५०० मिटरको उचाईसम्ममा गर्न सकिन्छ। हालको जलवायु परिवर्तनले गर्दा यसको खेती माथिल्लो क्षेत्रमा पनि राम्रो भइरहेको छ।

यसको खेतीको कतिसम्मको तापक्रममा उपयुक्त हुन्छ ?

यसको खेतीको लागि २१ देखि २३ डिग्री सेल्सियसको तापक्रम उत्तम हुन्छ तर१५.५ देखि ३२.५ डिग्री सेल्सियस सम्मको तापक्रममा पनि यसको खेती सफलताका साथ भइरहेको छ।

यसको लागि वार्षिक वर्षा कतिसम्म भएमा उचित हुन्छ?

यसको लागि सालाखाला १५० से.मि. वार्षिक वर्षा उत्तम हुन्छ तर ५१ देखि ५०० से.मि.सम्म वार्षिक पानी पर्ने ठाउँमा पनि यसको खेती गर्न सकिन्छ।

यसलाई कस्तो किसिमको माटोमा लगाउँदाराम्रो हुन्छ ?

पानी नजम्ने बलौटे दोमट र बढी उर्वराशक्ति भएको माटोयसको खेतीको लागि उपयुक्त मानिन्छ। यसलाई माटोको किसिम भन्दा पनि निकासको व्यवस्था हुनु अति जरुरी छ।

माटोको पि.एच. मान कतिसम्म भएमा राम्रो हुन्छ ?

यसको खेतीको लागि माटोको पि.एच. मान ५.५ देखि ६.५ सम्म उत्तम हुन्छ। माटोमा क्याल्सियम, म्याङ्गनिज र फलामको मात्रा बढी भयो भने बिरुवालाई नकारात्मक असर पर्दछ।

नेपालमा कुन कुन जातहरुको खेती भइरहेको छ?

नेपालमा हाल जाईन्ट क्यू, क्वीन,मौरिसस र स्पेनिश जातको खेती भई रहेता पनि जाईन्ट क्यू र क्वीन बढी प्रचलित जातहरु हुन्।

जाईन्ट क्यूजातको भूईंकटहरका विशेषताहरु के के छन् ?

यसकापात ठूला र काँडा नभएका हुन्छन्। फलको आकार ठूलो र गोलो तथा माथिपट्टी साँगुरिदै गएको हुन्छ। फलको सरदर तौल २.५ के.जी. हुन्छ। यसका आँखाहरु धेरै गहिरा नभई सतहमै हुन्छन् र रेशा हुँदैन। यो डिब्बाबन्दीको लागि प्रसिद्ध जात हो।

भूईंकटहरको क्वीन जातको पनि विशेषता बताई दिनु हुन्थ्यो कि?

यसकाबिरुवाहरु साना आकारका र पातहरु काँडा भएका हुन्छन्। सरदर एउटा फलको तौल ०.८ देखि १.२५ के.जी. सम्म हुन्छ। फल गोलो हुन्छ र आँखाहरु भित्रपट्टी गाडिएका हुन्छन्। अतः यो जात डिब्बाबन्दीको लागि उपयुक्त मानिँदैन। जाईन्ट क्यू भन्दा बढी वासनादार, बढी गुलियो र कम अमिलो हुन्छ।

भूईंकटहरको बिरुवा कसरी उत्पादन गरिन्छ ?

यसका बिरुवाहरु अलैङ्गिक भागहरु प्रयोग गरेर उत्पादन गरिन्छ। यसरी प्रयोग गरिने भागहरु क्राउन, स्लिप र सकर्स हुन्।

भूईंकटहरको क्राउन भनेको के हो ?

फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ। फल पाकेपछि मात्र त्यस्ता क्राउनलाई हटाउन सकिन्छ। फलसँग यसको घनिष्ठ सम्बन्ध हुने हुँदा यसलाई फलको उत्पादन लिनु अगाडी हटाउनु हुँदैन। यिनीहरुलाई रोपेको २२-२४ महिनामा फल दिन्छन्।

भूईंकटहरको स्लिप भनेको के हो बताई दिनु हुन्थ्यो कि ?

स्लिप फलको फेददेखि तलपट्टी साना बिरुवाहरु निस्केका हुन्छन्। यिनीहरुको वृद्धि र विकास पनि फलको विकास सँगसँगै हुन्छ र यिनीहरुलाई पनि फलको उत्पादन लिने समयमै हटाउने गरिन्छ। यिनीहरुलाई रोपेपछि २०-२२ महिनामा फल दिन्छन्।

भूईंकटहरको सकर भन्नाले चाहिँ के बुझिन्छ ?

सकर भन्नाले बिरुवाको काण्डको माटोमुनीको टुसाबाट प्रशस्तकोशाहरु निस्कन्छन्।यी कोसाहरुलाई नै सकर भनिन्छ। सकर्सलाई बगैंचामा रोपेको ६-१० महिनामा फल दिन्छन्।

भूईंकटहरकोबिरुवा कसरी लगाईन्छ ?

राम्ररी खनजोत गरी तयार गरेको जमीनमा दुई लाईनको बीचको दुरी ६०से.मि.र एक बोटदेखि अर्को बोटको दुरी ३० से.मि.कायम गरिन्छ। दुबै ब्याडको बीचको दुरी ७५-९० से.मि.राखिन्छ।

भूईंकटहरलाई प्रति रोपनी जमीनमा कति मलखादको जरुरी पर्दछ?

पहिले अन्नबालीहरु लगाई रहेको जमीनमा यसको बगैंचा लगाउँदा १-१.५ मे.टन कम्पोष्ट मल, ३० के.जी.नाईट्रोजन, २० के.जी.फास्फोरस तथा ३० के.जी.पोटासकोआवश्यकता पर्दछ।

भूईंकटहरको बिरुवालाई सिंचाईको आवश्यकता हुन्छ?

यसलाई बिना सिंचाई पनि खेती गरेको पाईन्छ। यसका पातहरु बाक्ला हुने हुँदा पातले प्रशस्त पानी जम्मा गरेर राख्दछ। दिउँसो चर्को घाममा स्टोमाटा बन्द हुने हुँदा पानीको खर्च कम हुन्छ। ज्यादै गरम र सुख्खा ठाउँमा १५-२० दिनमा सिंचाई गर्नु पर्दछ।

भूईंकटहर बगैंचामा झारपात नियन्त्रणलाई किन महत्वपूर्ण मानिन्छ?

झारपात नियन्त्रण यसको खेतीको सबैभन्दा महत्वपूर्ण काम मानिन्छ। यसको नियन्त्रणको लागि मात्र कुल खर्चको ४०% लाग्दछ। यसको बगैंचामा आउने मुख्य झारहरुमा घास, कुस, सिरु,दुबो, मोथा आदि पर्दछन्।

भूईंकटहरको झारपातलाई कसरी नियन्त्रण गरिन्छ?

यसको बगैंचामा झारपात नआओस भन्नका लागि बगैंचा लगाउने बेलामा सुकेको झारपात, पराल आदिले बाक्लो मल्चिङ्ग गर्नु पर्दछ। त्यसपछिको अवस्थामा कुटो कोदालोको माध्यमले हातैले झार हटाउनु पर्दछ र ठूलो बगैंचामा भने झारनाशक विषादि मानोयूरन २ के.जी. वा सिमाजिन १० के.जी.  वा ब्रोमासिल ४ के.जी.  प्रति हेक्टरमा प्रयोग गरी झारपात नियन्त्रण गर्न सकिन्छ।

भूईंकटहरको बगैंचा भित्र पनि अन्तरबाली लगाउन सकिन्छ?

भूईंकटहर आफै अन्तरबालीको रुपमा प्रयोग गरिने बाली हो। यसका बिरुवाहरु कम दुरीमा लगाईने र झारपात नियन्त्रण समस्याको रुपमा रहने हुँदा अन्य बालीलाई अन्तरबालीको रुपमा लगाउन सकिन्न।

एउटा भूईंकटहरको बिरुवा कति पटक फुल्छ र फल दिन्छ ?

एउटा भूईंकटहरको बिरुवाले आफ्नो जीवनकालमा एकपल्ट फूल र फल दिन्छ। फलको विकासको लागि भूईंकटहरमा परागसेचनको महत्व छैन। फलहरु बीउ बिना नै हुन्छन्।

भूईंकटहर फल कस्तो अवस्थामा टिप्नु पर्दछ?

नजिकको बजारका लागि फल टिप्दा फलको फेदमा पहेंलो सुन्तला रङ्गको विकास भएपछि फल टिप्नु पर्दछ भने टाढा बजारको लागि वा भण्डारणको लागि फल टिप्दा आँखाहरु पुष्ट भएपछि आँखाका साना पातहरु अलि-अलि सुक्न थालेपछि टिप्नु पर्दछ।

भूईंकटहरको उत्पादन प्रति रोपनी कतिसम्म हुन्छ ?

व्यवस्थित तरिकाले लगाइएको बगैंचामा प्रति रोपनी २.५ मे.टन देखि ३.० मे.टन सम्म उत्पादन लिन सकिन्छ र करिब ५००० सकर्स र स्लिपहरु पनि उत्पादन हुन्छ।

भूईंकटहरलाई ग्रेडिङ्ग गर्न जरुरी हुन्छ?

बजारबाट राम्रो मूल्य प्राप्त गर्न सकियोस् र भण्डारणका लागि उपयुक्त फलहरु छुट्टिउन भन्नका लागि ग्रेडिङ्ग हुन जरुरी छ।यसका फलहरु टिपिसकेपछि ठूला र साना फलहरुलाई ग्रेडिङ्ग गरेर छुट्टयाउनु पर्दछ।पाक्न शुरु गरेका, रोगकीरा लागेका फलहरुलाई अलग्याई राम्रा र एकनासका फलहरुलाई अलग्गै राख्नु पर्दछ।

ढुवानीको समयमा फलहरु नाश नहुन् भन्नका लागि प्याकेजिङ्ग कसरी गर्नु पर्दछ ?

फलको भेट्नोलाई १०-२० से.मि. बाकी राखेर अन्य भाग काटेर हटाउनु पर्दछ र काटेको ठाउँमा सुरक्षित ढुसीनाशक विषादि लगाउनु पर्दछ। टुप्पातिरको क्राउनको पातलाई पनि हटाउनु पर्दछ र काठको बाकस वा कार्टुनमा पराल वा स्पोन्ज राखी बाकसको माथिपट्टि प्वाल बनाई हावा खेल्ने व्यवस्था मिलाउनु पर्दछ।

भूईंकटहरलाई कसरी भण्डारण गर्न सकिन्छ?

गरम ठाउँमा यसलाई १० दिनभन्दा बढी भण्डारण गरेर राख्न सकिन्न। कोल्ड स्टोरेजमा ८-१० डिग्री सेल्सियस को तापक्रम र ८५-९० प्रतिशत आर्द्रतामा एक महिनासम्म भण्डारण गर्न सकिन्छ। अक्सिजन २% र नाईट्रोजन ९८% भएको नियन्त्रित स्टोरेजमा एक महिना भन्दा बढी भण्डारण गर्न सकिन्छ।

भण्डारण गरिएका फलहरुलाई एकनाससँग पकाउने कुनै उपाय छ?

भण्डारण गरिएका फलहरुलाई एकरुपताका साथ पकाउन तथा पहेंलो र आकर्षक रङ्गको विकास गर्न फललाई ५०० पि.पि.एम. को इथ्रेलले उपचार गर्नु पर्दछ।

भूईंकटहरमा लाग्ने सबैभन्दा हानिकारक कीरा मिलीबगले कसरीक्षति पुर्यारउँदछ?

यस कीराको आक्रमण पश्चात् बिरुवाले ओइलाउने लक्षण देखाउँदछन्। कीराले बढी जरामा आक्रमण गर्दछन् र जरा कुहिन गई त्यसको असर पातमा परी ओइलाउन लक्षण देखा पर्न शुरु हुन्छ।

यस कीराको आक्रमणबाट बिरुवालाई कसरी बचाउन सकिन्छ ?

यसबाट बच्नको लागि सकेसम्म कीराले आक्रमण नगरेको ठाउँबाट बिरुवा ल्याई लगाउनु पर्दछ। बिरुवा लगाउने बेलामा क्राउन वा तलपट्टीका पात हटाई ०.०४ प्रतिशतको इकाटसको झोलमा १-२ घण्टा डुबाएर अनि मात्र बिरुवा लगाउनु पर्दछ। बगैंचामा ०.५-१.० के.जी. प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ।

भूईंकटहरमा रोगको प्रकोप कस्तो छ?

यसमा गुभो कुहिने, फल कुहिने, पातको थोप्ले, सन स्काल्ड, गुच्छे जस्ता विभिन्न खालका रोगहरु लाग्दछन् तर यिनीहरु मध्ये गुभो कुहिने र फल कुहिने रोगले बालीलाई बढी नोक्सानी पुर्‍याउँदछ।

गुभो कुहिने रोग कसरी लाग्दछ र यसको पहिचान कसरी गर्न सकिन्छ?

माटोमा राम्रोसँग हावा नखेल्ने र पानीको निकास राम्रो नभएको ठाउँमा यसको प्रकोप बढी हुन्छ। पातहरु पहेंलिँदै जानु, टुप्पा र छेउमा खैरो गोलो दाग हुनु, पातको फेदबाट कुहिनु, जरा कुहिनु यसका मुख्य लक्षण हुन्।

यस रोगबाट बच्न कस्ता-कस्ता उपायहरु अपनाउनु पर्ला ?

यस रोगबाट बच्नको लागि रोगमुक्त बिरुवाहरु लगाउने र माटोमा पानी जम्न दिनु हुँदैन। गोडमेल गर्दा बिरुवाको गुभोमा माटो पर्न दिनु हुँदैन र बिरुवा रोप्नु अगाडी बिरुवालाई क्याप्टान वा बोर्डोमिक्सचरको १%घोलमा डुबाएर मात्र रोप्नु पर्दछ।

फल कुहिने रोग कसरी लाग्दछ र यसलाई कसरी पहिचान गर्न सकिन्छ बताई दिनु हुन्थ्यो कि?

यस रोगको ढुसीको कारणले गर्दा पहिला गुदी कुहिन शुरु हुन्छ। बाहिरबाट हेर्दा फल राम्रो देखिएता पनि फल भित्रको गुदीमा काला दागहरु रहेका हुन्छन्। शीत भण्डारण गरिएका फलहरुमा यसको प्रकोप बढी हुन्छ।