८ बैशाख २०८१, शनिबार

विगत २० वर्षमा हात्ती आक्रमणबाट नेपालमा २७४ जनाको मृत्यु


धु्रवेले हात्तीले लखेट्दा फाइल फोटो

चितवन । विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको हिजो सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले ४ वर्ष ६ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सो अवसरमा उनले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।

उनका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृत्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

यसै अवधिमा १३८ घाइते भएको, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ ।

हात्तीको आक्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरिमा बढी सङ्ख्यामा जोखिम रहेको उहाँले बताउनुभयो । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको मृत्यु भएको छ ।

यसै अवधिमा सोही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको उनको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उनको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ ।

समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उनले बताए ।

हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँको बालेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आग्रह गरिएको छ । कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृत्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपाउँदा आक्रमणमा परेर मृत्यु भएको उनको भनाइ छ ।

गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८ मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उहाँको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियो ।

अहिले देशभर २२७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उनले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिए । उहाँका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् ।

हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उनले भनाइ छ । बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उनले बताए । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उहाँले सो अवसरमा जानकारी दिए ।

नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उनको अध्ययनमा देखाइएको छ ।

हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उहाँले जानकारी दिए । अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत हुन् । विद्यावारिधिका क्रममा उनले गरेको अध्ययनलाई सार्वजनिक गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा यो अध्ययन सहयोगी बन्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !