, प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वाभिमानी साख जोगाउन सक्लान ?

प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वाभिमानी साख जोगाउन सक्लान ?

Saroj Rijal

सरोज रिजाल

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीबाट भारतको भ्रमण गर्दै हुनुहुन्छ । बाम गठबन्धनको बलियो सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतसँग कसरी प्रस्तुत हुन्छन् र आफ्नो विगतको साख कसरी जोगाउछन् भन्ने सबैको चासो रहेको छ । विगतमा प्रधानमन्त्री हुँदा केही कडा अडान राखेर त्यसअनुरुपको व्यवहार गर्दा भारतसँगको सम्बन्धमा चिसोपन देखिएको थियो । उहाँको अघिल्लो कार्यकालभरी नै भारतसँग अपेक्षाअनुरुप सुमधुर सम्बन्ध हुन सकेन । त्यही अवस्थामा नेपालीमाझ भने उच्च राष्ट्रवादी छाप छोड्न सफल भएका ओली अहिले फेरी सरकारको नेतृत्व गरिरहनुभएको छ । सरकारकै नेतृत्वको हैसियतमा उहाँले दोस्रो कार्यकालको पहिलो भ्रमण भारतबाट गर्दै हुनुहुन्छ । विगतको सरकारभन्दा यो सरकार दुई कारणले फरक छ । बाम वर्चस्व भएको र निकट समयमा नै बाम गठबन्धनवीच एकता हुन लागेकाले अहिलेको सरकार एकल बहुमतिय सरकार जस्तै शक्तिशाली छ । साथै गठबन्धन एकतामा सफल रुपान्तरण भएको खण्डमा पाँच वर्षको कार्यकाल सञ्चालनको सुनिश्चितता पनि हुनेछ । यसरी हेर्दा अहिलेको सरकारले विकासको ढोका खोल्नुका साथै आर्थिक विकासका एजेण्डा कार्यन्वयनमा ल्याउने महत्वपूर्ण हैसियतसमेत राख्दछ ।

प्रधानमन्त्री ओलीको पहिचान स्पष्ट र अडान लिनसक्ने नेताको रुपमा रहेको छ । तिखो व्यङग्य र उखान टुक्का मिसाएर भाषण गर्न सिपालु नेता ओलीको अडान सितिमिति परिवर्तन हुँदैन । बोलेको कुरा हत्तपत्त नसच्याउने उहाँको व्यवहारले नै अहिले उहाँ राष्ट्रवादी नेताको रुपमा परिचित हुन सफल हुनुभएको छ । त्यतिमात्र होइन उहाँले अघिल्लो प्रधानमन्त्रीत्वकालमा लिएको अडानले नै यो पटकको चुनावी माहोल बनाउन धेरै सकारात्मक भूमिका खेलेको थियो, जसको परिणाम २०७४ को चुनावी नतिजालाई लिन सकिन्छ ।

विगतको नौ महिने कार्यकालमा भारतले करिब ५ महिना नाकाबन्दी गर्दा प्रम ओलीले व्यापार लगायतका सम्बन्धमा चिनसँग नजिक हुने नीति सारेर तत्कालको अवस्थामा चिन निकट हुन खोजेको भावले भारतसँगको सम्बन्ध धेरै नै चिसो बन्न पुगेको थियो तर २०७४ को चुनावी परिणामले जब एमालेलाई नै नेपाली जनताले ठूलो पार्टीको रुपमा स्थापित गरिदिएका कारण प्रम ओलीलाई पनि भारतसँगको सम्बन्ध सन्तुलित गर्नु आवश्यक थियो र छ साथै भारतले पनि एमालेसँगको चिसा सम्बन्ध सुधार्नु दुवैको हितमा भएकाले अहिलेको भ्रमण निक्कै चासो र महत्वको विषय बनेको छ ।

भौगोलिक, सांस्कृतिक, पारिवारिक समानताका साथै अन्य विविध निकटताले भारतसँगको सम्बन्ध धेरै नै सहज र निकट हुनु आवश्यक छ । नेपालको भूपरिवेष्ठित भौगोलिक अवस्थाका कारण चिनसँग चाहेअनुरुपको सम्बन्ध विस्तार गर्न समय लाग्ने कारण र अहिलेको व्यापार परनिर्भरताले गर्दा भारतसँगको सम्बन्ध सन्तुलित राख्नु नै नेपालको लागि हतिकर हुन्छ ।

नेपालको भौगोलिक जटिलताका कारण नेपाली जनताले सोचे जसरी चिनसँग छोटो समयमा नै निकट सम्बन्ध विस्तार गरेर भारतसँगको परनिर्भरता हटाउन त्यति सजिलो छैन । चिनसँग व्यापार विस्तार गर्न भौतिक पूर्वाधारको निर्माण हुनु पहिलो सर्त हो । चिनसँगको अधिकांश सिमाना हिमाली र पहाडी क्षेत्रले घेरिएको हुँदा भौतिक निर्माण गर्न कठिनाइ छ, भौतिक विकास (जस्तै ः सडक, विजुली, खानेपानी) भएमात्र व्यापार विस्तार गर्न सहज हुने अवस्था आउँछ । अर्को यथार्थ भनेको स्वार्थविहिन सहयोग कुनैदेशवाट पनि हुने छैन । आज चिनसँग नजिक हुन खोज्दा भोली चिनको हस्तक्षेप बढ्न पनि सक्छ । यसतर्फ सरोकारवालाले बेलामा नै ध्यान दिनु आवश्यक छ । त्यसैले एकलाई चिढ्याएर अर्कोसँग नजिक हुनुभन्दा दुवै छिमेकसँग समनताको सम्बन्ध हुनु नै नेपालको लागि हितकर छ ।

राष्ट्रवादको नारामा मात्र सीमितहुनुभन्दा पनि परनिर्भरता हटाउने उपाय खोजेर त्यसलाई कार्यन्वयन गर्नु नेपाल सक्षम हुने पहिलो कदम हो । देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नतर्फ लागेर विदेश पलायनको अवस्था न्यूनिकरण गर्न सक्ने हो र अर्थतन्त्रमा त्यसले टेवा पु¥याउने अवस्थामा देश पुग्न सकेमा अहिले देखिएका सम्बन्धका धेरै चिसोपन हराउँदै जाने निश्चित छ । कसैसँग पूर्णरुपमा परनिर्भर हुनु भनेको नै उसलाई हस्तक्षेप गर्ने बाटो दिनु हो नेपालको सन्दर्भमा त्यही स्थिति आएको हो । सरकारले विगतमा विकास निर्माणदेखि केहीहदसम्म राजनैतिक परिवर्तनमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भारतको सहयोग लिएको कारणले नै भारतको हस्तक्षेप बढेको हो । र यो हदसम्म चलिरहनेछ जबसम्म नेपालको परनिर्भरता घट्दैन, अर्थतन्त्र सवलम्बन हुँदैन, तबसम्म हस्तक्षेपको बाटो बन्द हुँदैन । स्वरुप फेरिएला तर अवस्था उस्तै नै हुन्छ । त्यसैले अहिलेको सरकारलाई यो मुख्य चुनौतिसमेत रहेको छ ।

विगतमा भारतसँग नझुकेको छबि बनाएका प्रम ओलीले यस पटकको भ्रमणमा गर्ने सम्झौताले ठूलो र दिर्घकालिन महत्व राख्ने निश्चित छ । यही चासोकाविच प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै नयाँ सम्झौता गर्नेभन्दा पनि विगतका सम्झौता कार्यन्वयन गर्ने विषय छलफलको प्राथमिकता रहेको प्रष्ट पार्नुभएको छ । मुख्यगरी जहाज चलाउने र रेल गुडाउने विषयमा छलफल हुनुका साथै देशको लाभको लागि यो भ्रमण हुन लागेको प्रम ओलीले बताउनुभएको छ । साथै नेपाललाई बिकासशील राष्ट्रमा पु¥याउन कृषि, उद्योग, पर्यटन, फास्ट ट्र्याक , हवाई मैदान र हवाइमार्ग आदिको विषयमा पनि भ्रमणको क्रममा छलफल हुने बताउनुभएको छ ।

नेपाललाई असर नगर्ने र लाभ हुने सम्झौता हुनसक्ने प्रमले संकेत गर्नुभएको छ तर केकेमा सम्झौता हुने र त्यो सम्झौताले कस्तो प्रभाव पार्न सक्छ त्यस विषयमा भ्रमण सम्पन्न भएपछिमात्र स्पष्ट हुनेछ । ओली सरकारको करिब दुई महिना समय वित्न लाग्दा अहिले नै सरकारको मुल्याङकन गर्नु हतार हुनसक्छ तर पनि वर्तमान अवस्थामा सरकारका धेरै चुनौति रहेको प्रष्ट छ । जनताको अपेक्षा अनुरुपको विकासको महसुस दिलाउनु निक्कै जटिल र चुनौतिपूर्ण काम छ भने वैदेशिक नीति सन्तुलित गरेर छिमेक राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनु पनि महत्वपूर्ण कार्य हो ओली सरकारको । विभिन्न नीति, नियम, ऐन कानुन निर्माणको जटिलता, संघ र प्रदेश तथा स्थानिय तहको अधिकार बाँडफाँड जस्ता अनेकौ विषयमा समाधानका उपाय निकाल्नुपर्ने चुनौतिकावीच अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्नु पनि निक्कै कठिन तर महत्वपूर्ण कार्य रहेको छ ।

भारतका प्रधानमन्त्री, नरेन्द्र मोदी नेतृत्वको सरकारको नाकाबन्दी प्रयास र त्यसबाट आफैंपछि हटेर नेपालसँगको सम्बन्ध पुनः पुरानै अवस्थामा ल्याउने भारतको प्रयासकावीच हुन लागेको प्रम ओलीको भ्रमण आफैंमा अर्थपूर्ण छ । भारतको दृष्टिकोण परिवर्तन गर्न र सन्तुलित सम्बन्ध विस्तार गर्न प्रम ओलीले कतिको चतुर्यता देखाउनुहुने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ । अहिलेको अवस्थामा भारतले लिएको छिमेकसँगको सुमधुर सम्बन्ध कायम गर्ने नीति र नेपाललाई दिएको प्राथमिकतालाई प्रम ओलीले सदुपयोग गर्न सकेको खण्डमा यो भ्रमण आर्थिक विकासको एउटा महत्वपूर्ण कोसेढुंगा बन्न सक्नेछ । प्रमले ओलीले पछिल्लो समयमा बनाएको स्वाभिमानी नेताको साखलाई कत्तिको जोगाउन सक्नुहुने हो त्यो भने भारत भ्रमण र त्यहाँ गरिने सम्झौतापछि मात्र प्रष्ट हुन सकिन्छ ।

त्यतिमात्र होइन आगामी दिनमा सरकारले चाल्ने कदम र त्यसको प्रभावबाट पनि प्रम ओलीको मुल्याङकन हुने भएकाले अहिले नेपाली र विश्व राजनीतिको केही ध्यान नेपाल खिच्न सफल बनेका प्रम ओलीका सामु चुनौतिको सामना गर्नु र जनताको अपेक्षालाई व्यवहारमा रुपान्तरण गर्नु  कति सफल हुनुहुने हो उहाँको भविष्यको छवि  पनि त्यसैमा नै निर्धारण हुनेछ ।