सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व Nepalpatra सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व
१४ मंसिर २०७८, मंगलबार

सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व


छठ पर्व

भादगाउँ । भक्तपुर कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए सिर्जनानगरकी सीता थापा । धकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना गर्दै यस वर्ष छठको व्रत लिएको बताइन् ।

पैँतालिस वर्षीया थापाले विगत १२ वर्षदेखि परिवारकै निम्ति सूर्यको आरधना गर्दै छठको ब्रत बस्दै आएको बताइन् । कमलपोखरीमा नै अस्दाउँदो सूर्यलाई अघ्र्य दिन तयार गरिरहेकी भक्तपुर कमलविनायककी सीता बस्नेतले पारिवारिक कल्याण र सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने प्रार्थनासहित छठको व्रत लिएको बताइन् । उमेरले झण्डै छ दशक पुग्नुभएकी सीताले भनिन्, “मैले विगत १७ वर्षदेखि छठको व्रत लिँदै आएकी छु । भगवान् सूर्यको उपासनाले मेरो मनोकाङ्क्षा पूरा भएको छ ।”

त्यसैगरी सल्लाघारी सिर्जनानगरकै ५० वर्षीया शान्ता कँडेलले पनि विगत ११ वर्षदेखि सूर्यको आराधना गर्दै छठको व्रत बस्दै आएको बताइन् । उनले भनिन्, “कसैको देखासिकीले होइन । छठप्रतिको आस्थाले यो व्रत लिएकी हुँ ।” छठको व्रत बस्दा पारिवारमा सुख, शान्ति मात्र नभएर मनले चिताएको सबै पुगेको उनले बताइन् ।

“सूर्यदेव संसारलाई नै उज्योलो दिने देवता हो । सूर्यको पूजाविना जीवन उज्यालो हुँदैन त्यसैले मैले छठको व्रत लिएको हो । यो व्रत बसेदेखि मेरो परिवारमा सुख शान्तिले छाएको छ । मैले लिएको व्रतले मेरा सन्तान चाहना पूरा भएको छ । मैले सकुञ्जेल यो व्रत बस्छु र अरुलाई पनि यो व्रत बस्न आग्रह गर्छु । यो वर्षदेखि बुहारीले पनि छतको व्रत लिएकी छिन्”, उनले भनिन् ।

विशेषगरी तराई–मधेशमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यका र अन्य समुदायमासमेत लोकप्रिय बन्दै गइरहेको छ । भक्तपुरको कमल पोखरीमा मधेसी समुदायले मात्र होइन पहाडी समुदायले समेत छठीमाईको पूजा गरी छठको व्रत बसेका छन् ।

सद्भाव अनि भ्रातृत्वको प्रतिक छठ पर्वमा हर्षोल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा सिँगारेको तयार पारिएका घाटमा छठीमाताको पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । छठको पहिलो दिनलाई अरबा अथवा नुहाई खायु, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अघ्र्य र चौथो दिनलाई बिहनीया अघ्र्य भनिन्छ । छठको पहिलो दिन छठ मनाइने नदी, ताल तलैया, पोखरीको किनार सरसफाइ गर्ने, केराका खम्बा जम्मा गरेर तिनलाई बाँसले उनेर एक प्रकारको पानीमा नडुब्ने नाउँ बनाइन्छ ।

चार दिन मनाइने भए पनि यो पर्वको तेस्रो दिनलाई विशेष मान्निछ । यस दिन व्रतालुले दिनभर ब्रतबसी नदी, तलाउ किनारमा घाट सजाएर छठी माताको पूजा गर्ने र साँझ नदी तलाउमा कम्मरसम्मको भाग पानीमा डुबाएर अस्ताउँदो सूर्यलाई दूधको अघ्र्य दिइन्छ । त्यसपछि व्रतालु रातभर नदी, तलाउ र पोखरीको किनारमा जाग्राम बसी भजनकीर्तन गाउने, नाचगान गर्ने र बिहान पुनः नदी, तलाउ र पोखरीमा कम्मरसम्मको भाग पानीमा डुबाएर उदाउँदो सूर्यलाई दूधको अघ्र्य दिएर व्रत समाप्त गरिन्छ ।

पौराणिक ग्रन्थ महाभारतका अनुसार पाँच पाण्डवको गुप्तबासका क्रममा पाँच पाण्डपसहित द्रौपदीले सूर्यको आराधना गरी गुप्तबास सफल होस् भनी कामना गरी यो व्रत लिएको थियो । सोहीअनुसार छठको व्रतको परम्परा सुरु भएको जनविश्वास रहेको छ । महाभारतकै अर्को कथामा कर्णको अथाह शक्ति र ऐश्वर्य छठको व्रतको प्रभावस्वरुप प्राप्त भएको उल्लेख गरिएको पाईन्छ ।

त्यसैगरी अत्रिमुनिका पत्नी अनुसुयाले सूर्यको पूजा आराधना गरी छठको व्रत बसेको र सोही व्रतका प्रभावले उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकाले छठको व्रतको थालनी भएको सूर्य पुराणमा उल्लेख भएको पाइन्छ । कात्तिक शुक्लपक्षमा छठ पर्वमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत रहेको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !