७ बैशाख २०८१, शुक्रबार

राजा नै किन आवश्यक भयो त जनतालाई ?


पूर्व राजा

हामीले बुझ्नुपर्ने महत्वपूर्ण पक्ष भनेको विकास, शान्ति, सुव्यवस्था, हत्या, हिंसा जस्ता मानव जीवनमा आइपर्ने समस्या समाधान होस् भनेर परिवर्तन खोज्ने गरेका हुन्छौं । हिजो राजसंस्थाका पालामा विकास नभएको भए आज गणतन्त्रमा सवैको आलोपालो कुर्सी मोह जाग्ने जस्ता काम हुने थिएनन् ।

आँगन जतिसुकै फराकिलो भएपनि नाच्न नजाने साँगुरो हुन्छ । हिजो बिदेशीलाई सहयोग गर्ने देश आज हात थापेर देश चलाउनुपर्ने अवस्थासम्म पुग्नु भनेको असफलतर्फ उन्मुख भएको हामीले देख्न सक्छौं । हिजो राजाले देशमा विकास गर्न सकेनन् भन्दै जनतालाई सडकमा उतार्नेहरू आज सत्तामा हुँदा किन विकास हुन सकेन ?

परिवर्तन भए नभएको जनताले मुल्याङ्कन गरेर आउने हो । हामीले अरूको निर्देशनमा देश हाक्नु भनेकै असफल हुनु हो । देशमा भएका विकासका समरचना ध्वस्त पार्ने नयाँ कामतर्फ पनि ध्यान दिन नसक्ने भएपछि देश असफल तर्फ लागेको देखिनु स्वभाविक हो ।

हामीले देश विकासलाई अघि सार्दा आफ्नो संस्कृति रीतिरिवाजलाई पहिलो प्राथमिकता दिन सक्नुपर्छ । संस्कार विनाको देश असफलतर्फ जानेछ । देश असफल हुनुको प्रमुख कारण पनि यहि हो । राजाले उद्योग स्थापना गराए तर बहुदल आएपछि सत्तामा आएका राजनीतिक दलहरुले उद्योग बन्द गराए । विकास मास्नु भनेकै परम्परालाई ध्वस्त पार्नु हो यो अहिले हरेक पार्टिको एजेण्डा बनेको छ ।

दु:ख नगरी सुख आउदैन । आज दु:ख नगरी सुख फलाउन लागि परेका छन् हाम्रा नेतृत्व वर्ग यहि कारण देश असफलतर्फ लाग्दैछ । हामीले बचाएर राखेको चामलले एक दिन छाक टार्न सक्छ । उद्योगमा थप उर्जा थपेर काम गरेको भए आज आउ राजा देश बचाउ कसैले भन्ने थिएनन् ।

यहाँ पनि स्वार्थ छिपेको छ । हिजो यिनै जनताले नेतृत्वको भनाइ सुनेर राजा फालेका थिए आज बल्ल महसुस हुदैछ राजा नै ठिक थिए । तर यो कुरा नेतृत्वको सोच भन्दा धेरै पर देखिएको छ । हिजो राजा फाल्ने जनताले लोकतन्त्र फाल्न नसक्ने कुरै छैन । त्यसैले जनताको भावनालाई ध्यानमा राखेर देश विकासमा लाग्नुपर्ने समए आयको तर यता ध्यान कसैको नपुगेको देखिन्छ ।

समय आउछ तर समयको फाइदा उठाउन नसके त्यसले ठूलो परिवर्तनको आधिबेहरी फेरि ल्याउन सक्छ । आज देश तथा विदेशबाट परिवर्तनका आवाज उठ्न थालेका छन् दबाउन खोजे झन बढ्दै जाने कुरामा दुईमत छैन । अब देशमा लोकतन्त्र असफल भएको संकेत देखिन थालेको छ । कुर्सी मोहले एक आपसमा विकासमा भन्दा स्वार्थमा लडेको देखिन्छ ।

देश हाक्न सक्षम नेतृव चाहिन्छ । यसैको अभाव आज यो देशमा खड्किरहेको छ । व्यापारीले आफ्नो सोझो पक्कै गर्छन् यसमा दुईमत छैन । जनताको छोराले राज गर्न नजान्नु दुर्भाग्य भन्दा खासै फरक देखिएन । देशको विकास गर्लान युवा बेरोजगार छन् । बेरोजगारको अन्त होला देशमा आमुल परिवर्तन होला भन्ने अभिलाषा बोकेका जनताको भावनालाई ठेस पुराउने कामले नै आज जनता राजा आउ देश बचाउ भन्दै छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !