८ बैशाख २०८१, शनिबार

हाल नेपालमा देखिएको कोरोनाको डेल्टा भेरियन्ट कति खतरनाक ?


कोरोनाको डेल्टा भेरियन्ट

नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट ( जसलाई इन्डियन भेरिएन्ट भनिन्थ्यो ) त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप बिकास भएको हो । यो प्रजाति युरोपमा मार्चमै देखिएको थियो ।

बेलायत, भारत, अमेरिका लगायत १० देशमा यो प्रमाणित भएको छ । भारतीय स्वास्थ्यविज्ञका अनुसार यो भेरिएन्ट मोनोन्युक्लियल एन्टिबोडी ( भारतमा हाल चलाइएको उपचारको कक्टेल ) प्रतिरोधी छ भनिएको छ ।

१. यो डेल्टा भेरिएन्टको म्युटेसन भएकोले यसको संक्रमण दर तथा घातकता डेल्टा भाइरसभन्दा कति फरक छ भन्ने पूर्ण अध्ययन भएको छैन ।

२. खोप लगाएका व्यक्तिको प्लाज्मामा यो प्रजातिको अध्ययन हुँदैछ । यो अध्ययनबाट खोपको प्रभावकारिता थाहा हुनेछ । त्यस्तै दोस्रो लहरमा संक्रमण भएर निको भएका व्यक्तिलाई यो प्रजातिले असर गर्छ कि गर्दैन भनेर अध्ययन सुरु भएको छ । अहिलेसम्मका अध्ययन अनुसार खोप लगाएका तथा दोस्रो लहरमा डेल्टा भेरिएन्टले संक्रमण भएर निको भएका व्यक्तिमा यसको जोखिम नहुन सक्छ ।

कसरी बच्ने ?

यो र अन्य आगामी म्युटेसनबाट आउने नयाँ प्रजातिबाट बच्ने उपाय भनेको खोपलाई ब्यापक रुपमा लगाउने तथा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना नै हो ।

यो नयाँ उत्परिवर्तनबाट आत्तिनु पर्दैन तर हामीहरु थप सतर्क हुनुपर्दछ । जहिलेसम्म पूर्ण जनसंख्याको खोपमा पहुँच हुँदैन तबसम्म नयाँ उत्परिवर्तनमा जोखिम हुन्छ नै ।

खुकुलो लकडाउन र हाम्रो दायित्व

हामीकहाँ अहिलेपनि संक्रमण दर २० % भन्दा माथि नै छ । महामारी नियन्त्रणमा आएर लकडाउन खुकुलो भएको हैन । आम नागरिक तथा देशको आर्थिक अवस्था तथा अन्य समस्याको कारण लकडाउन खुकुलो भएको हो । लकडाउनलाई अनन्तकालसम्म लगाउनु ब्यबहारिक हुँदैन ।

सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने सुत्र हामीले अबलम्बन गर्नुपर्दछ । त्यो भनेको सरकारले जहाँबाट हुन्छ, खोप आयात गरेर राष्ट्रिय अभियानको रुपमा खोप कार्यक्रम संचालन गर्ने, सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, एन्टिजेन तथा पिसिआर टेस्ट बढाएर हटस्पट पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिंग र आइसोलेसनलाई प्रभावकारी बनाउने तथा सामान्य जनताको पहुँचमा गुणस्तरीय उपचारको प्रबन्ध गर्ने हो ।

हामी आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले डबल मास्क लगाउने, भीडभाड नगर्ने/भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने तथा हातको सफाइलाई ध्यान दिने गर्नुपर्दछ ।

यी काम गर्यौं/गरायौं भने कोरोना भाइरसका ज्ञात तथा अज्ञात नयाँ प्रजातिबाट बच्न सकिन्छ ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !