आलेख : मौलिक संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा Nepalpatra आलेख : मौलिक संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
५ असार २०७८, शनिबार

आलेख : मौलिक संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा


रामपुर (पाल्पा) । जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाउनुभएन । गाउँघरमा चलनचल्तिमा आएका सबै प्रकारका बाजा बजाउने राम्रो सीप छ तर आफूलाई साथ दिने आफ्ना साथीभाई नहुदा उहाँ पनि हात खुम्चाएर बस्न बाध्य हुनुभयो ।

उमेर बढ्दै गयो, पहिलेका साथीसँगी भइदिए र आफूले दिन उमेरमा गरेका कामहरुलाई निरन्तरता दिन पाए कति रमाइलो हुन्थ्यो भन्ने उहाँलाई लाग्थ्यो तर त्यस अनुसारको वातावरण नै थिएन । उहाँले आफ्ना दौँतरीसँग रातभर बिहे, पूजाआजा, विभिन्न शुभकार्यमा पञ्चेबाजा बजाएका अतितका क्षणहरु सम्झनु बाहेक अरु केही विकल्प नरहेको बताउनुहुन्छ । हिजोका दिनमा पञ्चेबाजा बजाएका यादले सताउन थालेपछि उहाँले आफ्नो पुस्ताका दौँतरी नभए पनि युवापुस्तालाई गोलबद्ध बनाएर सिकाउन थाल्नुभयो । उहाँको यो पहलले संस्कृति संरक्षणका लागि पञ्चेबाजा बजाउने कार्यको शुरुवात नै हुन पुगेको छ ।

“आफु नतातेसम्म भर्खरका युवाले झन् चासो देखाउँदैनन्, दिन बिताउनै मुस्किल, अर्कोतिर परम्परागत चलिआएको संस्कृति हराउन थाल्यो, अब गाउँका युवालाई साथमै लिएर समूहमार्फत् पुनः बाजा बजाउने कार्यमा जुटेका छौँ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा बाजा बजाउने समूहमा उहाँ ज्येष्ठ सदस्य हुनुहुन्छ । पन्ध्र वर्षको उमेरदेखि बाउबाजेबाट बाजा बजाउने सीप सिक्नुभएका परियार बीचको केही समय गाउँघरमा पञ्चेबाजा कम बजेपनि अहिले भने राम्रै हुदै गएको उहाँको अनुभव छ । परियारले कालीगण्डकी दलित समूह गठन गरी दुई वर्षदेखि बाजा संरक्षण अभियान थाल्नुभएको छ ।

परियार समूदायको चिनारीका रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि विभिन्न बाजा खरिद गरी व्यावसायिक रुपमा बाजा बजाउने गरेको समूहका अध्यक्ष उजिर सिं दर्जी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “शुरुमा हामी आफैँ बाजा बजाउन खोजी खोजी हिड्थ्यौँ अहिले धेरै गाउँ ठाउँबाट पञ्चेबाजा बजाउन बोलाउने गर्नुहुन्छ, ठाउँ हेरी (नजिक टाढा) न्यूनतम रु १५ हजार लिने गरिएको छ, आम्दानी पनि राम्रै हुन्छ ।” बाजा बजाएर आएको रकमबाट केही बाजा खरिदमा खर्च गरिएको छ भने केही रकम समूहमा वचत समेत गरिएको छ ।

बाजा बजाउने कार्यमा उत्प्रेरित गराउन र संस्कृति संरक्षणका लागि यस समूहलाई रामपुर नगरपालिकाले सहयोग गरेपछि समूहमार्फत केही रकम लिएरै बाजा बजाउने गरिएको हो । नगरपालिकाले उपलब्ध गराएको रकमले बाजा खरिद गर्न सहज भएको समूहले जनाएको छ ।

यहाँको समूहले शुरु गरेको पञ्चेबाजा बजाउने कार्यले गाउँमा अहिले युवापुस्ताको मात्र होइन बालबालिकाको पनि मोह जागेको पाइन्छ । दश वर्षीय सुमित विक विद्यालय बन्द भएको समयमा गाउँका अभिभावकसँग बाजा बजाउने कार्यमा सक्रिय हुनुहुन्छ । उहाँलाई पनि गाउँघरका अभिभावकले समूहमा बसेर बाजा बजाएको देखेपछि आफूलाई पनि पञ्चेबाजा बजाउने कार्यमा मोह जाग्यो ।

कृष्णादेवी मावि रामपुर नगरपालिका वडा नं २ भलायटारमा कक्षा ३ मा पढ्दै गरेका विकले अभिभावकसँग सीप सिकेर ट्याम्को, दमाहा लगायतका बाजा मज्जाले बजाउँछन् । उनको बाजा बजाउने कला देख्ने जोकोही पनि दङ्ग पर्छन् । यहाँको समूहले गाउँघरमा हुने विवाह, मेला, महोत्सव, शुभकार्य तथा अन्य आवश्यकताअनुसार बाजा बजाउँदै आएको छ । लगनको महिनामा भने बाजा बजाउन यो समूहलाई भ्याइनभ्याई नै हुन्छ ।

पहिले पहिले परियार समुदायका व्यक्ति पञ्चेबाजा बजाउने कार्यमा आबद्ध रहेपनि हिजोआज भने पुरानो संस्कृतिलाई निरन्तरता दिन र जोगाउन विभिन्न समुदायका युवापुस्ता पनि सक्रिय रहन थालेको पाइएको छ ।

रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्रका युवा पनि पञ्चेबाजा जोगाउन पुराना बाजा बजाउने कामलाई निरन्तरता दिँदै आएका छन् । गाउँमा पञ्चेबाजा जोगाउन संस्था गठन गरेर संरक्षणमा युवा जुटेपछि अहिले बाजा बजाएर आम्दानी गर्ने अवसर पनि मिलेको छ । विसं २०७४ मा प्रतिव्यक्ति पाँच रुपैयाँ रकम सङ्कलन गरेर गाउँका दश जना युवाले पञ्चेबाजा संरक्षण अभियानको थालनी गरेका हुन् ।

समूह गठनपश्चात् शुरुमा रु ७० हजारको आठ थान बाजा खरीद गरेर गाउँमा पञ्चेबाजा बचाऊ अभियान शुरु गरेको अध्यक्ष चित्रबहादुर सोमै बताउनुहुन्छ ।

“पहिला पहिला गाउँघरमा सबैका विवाहमा पञ्चेबाजा बजेकै हुन्थ्यो, यसमा धेरैको आकर्षण पनि थियो, बीचको केही समय गाउँमा विवाहमा खासै बाजा बजेको देखिएन, पुर्खादेखि चलिआएको संस्कृति बचाउनका लागि हामी युवा जुटेर समूहमार्फत पञ्चेबाजा बजाउने गरेका छौँ” सोमैले भन्नुभयो ।

गाउँघरमा हुने विवाह, चाडपर्वमा, विभिन्न कार्यक्रममा बाजाको माग हिजोआज बढीरहेको छ, तर बजाउने जनशक्ति नहुदा समस्या पनि उत्तिकै छ । केही नयाँ युवा सिक्ने अभ्यासमै पनि छन् । बाजा बजाउने पुराना व्यक्ति कम हुदै गएपछि बीचको समय यसको प्रयोगमा कमी आएको हो ।

पहिले त गाउँमा विवाह, पास्नी, न्वारन, विभिन्न कार्यक्रम हुदा बाजा बजाएर नाचगान गरेर रमाइलो गर्ने चलन थियो । पछि बिस्तारै लोप हुदै गएपछि पुरानो संस्कृति नै खल्बलिन थाल्यो भने अर्कातर्फ पछिल्लो समय पञ्चेबाजा गाउँघरमा बज्नै छाडेपछि युवालाई साथ लिएर बाजा बजाउने कार्यमा जुटेको ६० वर्षीय देवबहादुर दिसुवाको भनाई छ ।

समूहमा आबद्ध सदस्यले कला संस्कृतिको संरक्षण मात्र नभई रकम पनि राम्रैसँग जुटाउँदै आएका छन् । लोपोन्मुख अवस्थामा रहेका बाजा संरक्षण गर्दै रोजगारीको अवसर सिर्जना गर्न पञ्चेबाजा संरक्षण अभियानमा युवा कस्सिएका छन् । गण्डकीवेशीका पाल्पा, स्याङजा, तनहुँ, नवलपुर लगायतका विभिन्न स्थानमा पुगेर बाजा बजाउने मित्रलाल सोमै बताउनुहुन्छ ।

रामपुर नगरपालिका वडा नं ३ को कार्यालयले समूहमा आबद्ध युवाले संरक्षण अभियानका रुपमा थालनी गरेको पञ्चेबाजा जोगाउन रु ३० हजार र बाजा बजाउने तालिम समेत प्रदान गरेपछि हौसला मिलेको छ । संस्थामा हाल सहनाई, ट्याम्को, मादल, नरसिंहा, दमाहा, विगुल लगायतका ११ थरीका बाजा छन् । हाल यस संस्थामा एक सय ३० घरपरिवार आबद्ध छन्

यस अभियानले मौलिक पहिचान दिलाउने र संस्कृति बचाउने हुदा यसको निरन्तरता दिने र अर्कोतर्फ युवालाई रोजगारी समेत सिर्जना गर्ने विश्वास लिएको छ ।

युवाले संस्कृति बचाउनका लागि गरेको यस कार्य अत्यन्तै प्रशंसनीय रहेको हुदा नगरपालिका तथा सम्बन्धित वडा कार्यालयले यस अभियानमा सहयोग गर्दै आएको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।

“पञ्चेबाजा, सोरठी, मारुनी, कौरा, बालननाच लगायतका विभिन्न लोपोन्मुख फरक समूदायका कला संस्कृतिको खोजी गर्दै संरक्षणमा नगरपालिका विशेष चासोका साथ लागेको छ, आवश्यक सहयोग पनि नगरले उपलब्ध गराउँदै आइरहेको छ” उपप्रमुख आचार्यले भन्नुभयो ।

युवापुस्ताले चासो नदिँदा परम्परागत रुपमा चलनचल्तिमा आएका पञ्चेबाजा बजाउने प्रचलन अहिले लोप हुदै गएको हो । परियार समूदायका व्यक्तिले बजाउदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण यहाँबाट लोप हुदै जान थालेपछि भिन्न समुदायका युवा कला संस्कृति बचाऊ अभियानमा छन् ।

रामपुर नगरपालिका क्षेत्रमा एक दशक यता पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा तथा सीपलाई पछिल्ला पुस्ताले अवलम्वन नगर्दा संस्कृति नै हराउन थालेको हो । परियार समुदायका युवापुस्ताले भने प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नदेखेका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउँछन् । पछिल्लो समय मगर समुदाय लगायत विभिन्न समूदायका व्यक्तिले पञ्चेबाजा बजाउन थालेका छन् ।

नेपाली समाजमा निकै प्रख्यात पञ्चेबाजा लोप हुने अवस्थामा पुगेका बेला देशका विभिन्न स्थानमा यसको प्रचलन पुनः शुरु गरिएका समाचार आउने गरेका छन् । युवापुस्ताले बाजा बजाउने कार्यमा चासो नदिनुका साथै बाजा बजाएर मात्रै जीवनयापन नहुने र पश्चिमी संस्कृतीको प्रभावले गर्दा गाउँमा बाजा बजाउने व्यक्ति कमै छन् ।

रामपुर नगरपालिकाले गाउँघरमा चलिआएका संस्कृतिलाई संरक्षण गर्न सहयोग गरेपछि यहाँका स्थानीयद्वारा पञ्चेबाजा संरक्षण गर्न थालिएको हो । हिजोआज शहर बजार मात्रै नभई गाउँ गाउँमा पनि पश्चिमी संस्कृतिको प्रभावले ढाकेको छ । पश्चिमी संस्कृतीले हाम्रा पुराना मौलिक संस्कृति लोप हुन पुगेका छन् ।

जातीय पहिचान बोकेको कला संस्कृतिको संरक्षण नहुदा अस्तित्व नै मेटिन थालेको छ । परम्परादेखि नै चलनचल्तिमा आएका कला संस्कृतिको जगेर्ना गर्न स्थानीय तहले नै ध्यान दिनु जरुरी छ । गाउँघरमा परापूर्वकालदेखि चलिआएका हाम्रा मौलिक संस्कृतिलाई जोगाउन सम्बन्धित स्थानीय सरकारले अभियानमुलक कार्यक्रम ल्याउन सक्यो भने यो पुरानो संस्कृतिको संरक्षण गर्न सजिलो पर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !