आलेख: डोटीका ऐतिहासिक दरबार र कोटको संरक्षण भएन Nepalpatra आलेख: डोटीका ऐतिहासिक दरबार र कोटको संरक्षण भएन
५ असार २०७८, शनिबार

आलेख: डोटीका ऐतिहासिक दरबार र कोटको संरक्षण भएन


डोटी, २४ वैशाख । जिल्लाको पूर्वीचौकी, जोरायल गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकालगायतका क्षेत्रमा राजा रजौटाहरुले वर्षाैं पहिले निर्माण गरेका दरबार तथा कोटहरुको उचित संरक्षण तथा सम्बद्र्धन नहुँदा खण्डहर बन्दै गएका छन् ।

दरबार संरक्षणका लागि यहाँका स्थानीय सञ्चारकर्मीहरुले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएर समाचार सम्प्रेषण गरे पनि स्थानीय तहका जनप्रतिनिधि एवं प्रदेश तथा सङ्घीय सरकारका कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन । यहाँका स्थानीय तहले नेपालका पुराना राज्य रजौटाहरुका पालमा निर्माण भएका दरबारको समयमै उचित संरक्षण तथा सम्बद्र्धन नगर्दा अस्तित्व मेटिदै जान थालेको स्थानीयको गुनासो छ ।

ती दरबारहरुको समयमै उचित संरक्षण गर्न सकेमा यसले नेपालको एतिहासिक संरचनाको संरक्षणका अतिरिक्त आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाई छ । यस्ता ऐतिहासिक स्थानीय संरचना तथा सम्पत्तिहरुको संरक्षण यहाँका स्थानीय सरकारले नै गर्नुपर्ने भए पनि स्थानीय तहहरुको प्राथमिकतामा पर्न सकेको छैन ।

जिल्लामा पुराना राज्य रजौटाका पालमा निर्माण गरिएका दर्जर्नौँ दरबार तथा कोट अहिले भग्नावशेषमा परिणत हुँदै जान थालेको दिपायल सिलगढी नगरपालिका–४ दिपायलका स्थानीय भरत द्धारिकाले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना राजाका दरवार उचित संरक्षण नगरिदा खण्डहर बन्दै गएका छन्, समयमै उचित संरक्षण नगर्ने हो भने ती दरबार माटोमा बिलिन हुने देखिएको छ ।”

माटोमा बिलिन हुँदै गएका दरबारको संरक्षणका नाममा वर्षेनी बजेट बिनियोजन हुने गरेको भए पनि त्यस अनुरुपको उपलब्धि भने नखिएको दिपायल पिपल्लाहका स्थानीयबासी तेजबहादुर डुम्रेलले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले दरबार संरक्षण शीर्षकमा वर्षेनी बजेट बिनियोजन गर्छ तर त्यो बजेट कहाँ खर्च हुन्छ कसैलाई जानकारी हुदैन ।”

जिल्लाको जोरायल गाउँपालिका वडा नं ६ निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरवार, दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायल तथा वडा नं ६ सिलगढी स्थित नाचनथलीमा रहेको डोटी गौडा दरवारको उचित संरक्षण नहुँदा वर्षेनी भत्किदै जान थालेका छन् । पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका यी दरवारहरुलाई समयमै उचित संरक्षण गर्न सकिए ती स्थानीयकै सम्पत्तिका रुपमा रहने निराँैलीका स्थानीय भीमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीलाई चिनाउने पुराना दरवारको उचित संरक्षण नगरिदा वर्षेनी लोप हुँदै जान थालेका छन्, पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरवारको समयमै संरक्षण गर्नु जरुरी भएको छ ।”

यहाँका स्थानीय तहले यी दरवारको संरक्षण तथा सम्बद्र्धनका लागि केही समय पहिले पहल भने नगरेका होइनन् । तर त्यो कामले निरन्तरता नपाएको भन्दै स्थानीयबासी दुःखी भएका छन् । डोटी राज्यको दरवार अर्थात मूलगढ हालको महाकाली अञ्चल अन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरवार अर्थात कोट निर्माण गरी त्यहाँवाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको दिपायल राजपुरका भुपेन्द्र शाहले बताउनुभयो ।

उहाँका अनुसार उक्त दरवारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थो । तत्कालीन डोटेली राजाको दरवारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा रहेका छन् ।

डोटेली राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ । सन् १४३८ देखि १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शीलालेखमा उल्लेख गरेको पाइन्छ । युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उहाँका भाई विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उहाँका ज्येष्ठ सुपुत्र पहाडी शाही (द्धितीय) रजौटा भएको भनाइ छ । रजौटा डोटेली साहेव भनिने पदम विक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुर्ख्यौली ज्येष्ठ सुपुत्रहरु रजौटाका रूपमा रही आएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्धिप्तीय), बलदेव शाही, सुरजंग शाह, शमसेर बहादुर शाह, पदम विक्रम शाह, मोहन विक्रम शाहले यहाँको राज्य सत्ता चलाएको इतिहास छ । विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको बताइन्छ ।

तत्कालीन अन्तिम रजौटाका रूपमा मोहन बिक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडा दशैँमा घरपरिवारका साथै खलकका बाल बयोबृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रितीरिवाजको परिधिमा रहनुपर्ने र यसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाकाहरु बताउनुहुन्छ ।

दिपायल सिलगढी नगरपालिका– ६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावसेसमा परिणत हुदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासको रुपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठा रहेको यो दरबार संरक्षण र सम्भारको अभावमा भत्किन थालेको छ । ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरु निर्माण भएका छन् । ती घरहरु पनि भत्किन थालेका छन् ।

बहादुर शमसेर राणा बडा हाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न नसके पनि बहादुर शमसेर विक्रम् सम्वत् १९९० को दशकमा डोटी गौंणामा रहेकाले त्यसैको आसपासमा यो बिक्री गरिएको अनुमान स्थानीय बुढापाकाहरुको छ । करिब ४६ रोपनी जमिन त्यति बेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाइ बिक्री गरेको भन्ने सुनेको स्थानीय सिद्धराज श्रेष्ठले बताउनुभयो ।

यसैगरी सन् १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा निर्माण गरेको जिल्लाको जोरायल गाउँपालिका–६ निरौली दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको भन्ने किंवदन्ती रहेको छ । मल्लकालीन समयमा राजा नाघि मल्ल र यही ठाउँमा रहेका भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा भनाभन चलेको र राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले राजाको दरबारमा कम्पन गराएपछि राजा डराएर देवतासँग माफी मागेर पूजा गर्न शुरु गरेको डोटेली गीत (चैत, धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका– ६ निरौलीका स्थानीयबासी शिवराज भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाघि मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारीमा अहिले पनि डोटीका स्थानीय गौरा पर्वमा डेउडा खेल्ने गर्छन् ।” निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा यो दरबार अवस्थित छ । ऐतिहासिक तथ्यको संरक्षण गरिराख्न र यस क्षेत्रको पर्यटकीय विकास यो दरबारको उचित संरक्षण र सम्बद्र्धन गर्नुपर्ने स्थानीयको भनाई छ ।

यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (कुवा) पनि जीर्ण बन्दै गएको छ । त्यस्तै जिल्लाकै बडिकेदार गाउँपालिका बर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा टुट्फुट हुन थालेका छन् । संरक्षण अभावमा अहिले यहाँका पुरातात्विक महत्वका अरु संरचनाहरु पनि लोप हुने अवस्थामा पुगेका छन् ।

यस्ता पुरातात्विक र ऐतिहासिक महत्व बोकेका दरबार तथा कोटहरु संरक्षणको अभावमा जीर्ण बन्दैछन् । यी सम्पदाहरु भग्नावशेषमा परिणत हुदै गर्दा पनि संरक्षणको चासो कसैमा नदेखिएको स्थानीय समाजसेवी डिल्लीराज जोशीले बताउनुभयो ।

“सुदूरपश्चिम प्रदेशको प्रशिद्ध गौरा पर्वमा पनि राजा नाघि मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउने चलन अझै पनि छ,” उहाँले भन्नुभयो, “भएका सम्पदाहरु त लोप हुने अवस्थामा पुगिसकेका छन्, परम्परा र संस्कृतिसँग सम्बन्धित यस्ता चैत, धुमारी पनि लोप नहोला भन्न सकिँदैन् ।”

उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञहरुसँगको छलफल र स्थानीयबासीको सुझावका आधारमा निरौली दरबारको संरक्षणका लागि काम अगाडि बढाउने तयारीमा छौँ, पालिकामा भएका दरबारको संरक्षण गरिने छ ।”(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !