नेपालको सुन्दर र सुरक्षित भविष्यको लागि कस्तो भारत सम्बन्ध ? Nepalpatra नेपालको सुन्दर र सुरक्षित भविष्यको लागि कस्तो भारत सम्बन्ध ?
४ असार २०७८, शुक्रबार

नेपालको सुन्दर र सुरक्षित भविष्यको लागि कस्तो भारत सम्बन्ध ?


नेपाल-भारत सम्वन्ध

नेपालको सुन्दर र सुरक्षित भविष्यको लागि कस्तो भारत सम्बन्ध ?

१. नेपालमा कुनै पनि सरकारलाई विपक्षी दलहरूले प्रहार गर्नु पर्यो भने त्यस्तो प्रहारको आरम्भ भारतबाट हुन्छ ।
सरकारलाई भारतसँग जोरेर त्यो शुरू हुन्छ !
सात साल पछिको मातृका सरकार भन्नोस्, १६-१७ सालको वीपीको सरकार लिनोस वा अहिलेको ओली सरकार वा वीचका सरकारहरू !
सवै कुराको लागि भारत –
सरकारमा पुग्न भारत, टिक्न भारत र सरकारबाट हट्न भारत !
मन्त्री बन्न भारत, मन्त्रीबाट हट्न भारत !
नेपाल सरकार र विपक्षी दलवीच सम्झौताकालागि भारत !
अनि यहाँका दुई दल वीचको सम्बन्ध जोड्न भारत र तोड्न भारत ।
उच्च संवैधानिक पदहरूमा पुग्न भारत, हट्न भारत !

२. आफ्नो सत्ता रोहणकोलागि भारतको निरन्तर कृपा र आशिर्वादको नेहोरा गर्नेहरू जब असफल हुन्छन् उनीहरू उग्र भारत विरोधी बन्छन् ।
भारत सरकारको कुनै कनिष्ठ अधिकारीले यसो कुनै इशारा गर्ने बित्तिकै त्यो भारत विरोध छु मन्तर ।
नेपालले कि आत्म समर्पण गरेको छ कि अति विरोध I
सार्वजनिक प्रचार राजनीतिको खपथको लागि बाहेक भारतलाई उसको नेपाल नीतिमा –
“यो यो ठाउँमा यो यो दोष छ,
यो यो कारणले दुई देशको सम्बन्धमा समस्या र आशंका बढेको छ,
तिमीले नेपालको हकमा यो यो कम गर्नु पर्दछ,
हामी यो यो गर्दछौँ र थप अरु केही छ भने भन”
भनेर दुई मुलुकको सरकार स्तरमा आजसम्म वार्ता भएकै छैन ।
वार्ताको नाउमा सस्तो र अप्रमाणित राजनीतिक प्रचारवाजी गरेको छ I

३. भारतले त गर्न हुने नहुने केही पनि बाँकी राखेको छैन ।
न राजनीतिको मर्यादा राखेको छ न कूटनीतिको !
एउटा मुलुकको वैधानिक सरकार विरूद्ध हतियारधारी आतंककारी गतिविधिसम्मलाई उसले प्रोत्साहन, समर्थन र संरक्षण गरेको छ ।
त्यो भनेको नेपाल विरूद्धको आक्रमण नै हो ।
आफ्नो सेना पठाएन ।
तर विद्रोही सेना निर्माण गर्न सघाएको घाम जत्तिकै टड्कारो छ ।
नेपालको राष्ट्रिय सेनालाई हतियार, गोला, वारूदको आपूर्ति बन्द गर्ने,
कुनै पॉनि मुलुकलाई त्यस्तो सामग्री आपूर्ति नगर्न दवाव दिने तर बिद्रोही -गुरिल्ला सेनालाई हर प्रकारले सहयोग गर्ने काम उसले गरेकै हो ।
अनि नेपाल सरकारसँग हतियारधारी र आफैँले आतंककारी घोषणा गरेको ,
बिद्रोही-गुरिल्ला सेनाहरूको पक्ष वा प्रतिनिधि भएर प्रस्तुत भएकै हो I

४. त्यसलाई रोक्ने राष्ट्रिय क्षमता आर्जन गर्न नसकुञ्जेल उसले त्यो गरिरहन्छ ।
तर के बुझ्नु पर्दछ भने भारतको साथ, सहयोग र सहानुभूति बेगर त्यस्तो राष्ट्रिय क्षमता पनि हामी आर्जन गर्न सक्दैनौ !
सकेनौ ।
यो बिडम्बना हामी सँग छ र यौटा सन्तुलित र व्यवहारिक भारत सम्बन्ध व्यवस्थित गर्न नसकुञ्जेल रहिरहन्छ ।
भारतको त्यस्तै कर्म-कुकर्मको बलमा नेपालमा सत्तामा आउन नचाहने कुनै दल छैनन् भन्न हुन्छ, सकिन्छ ।
अनि त उसले पनि गरिरहन्छ ।
त्यस्तो गर्नेलाई दण्ड दिने राज्य क्षमता नै नेपालले राख्दैन !
जसको नेपाल बाहिर आड छ , तिनका विरूद्ध राज्य बोल्नै सक्दैन ।
उभिनै सक्दैन ।
त्यसैले पनि नेपालको स्वतन्त्रता र प्रभुसत्ता धेरै सङ्कुचित र सीमित बन्न पुगेको छ ।
नेपालमा छ, आठ महिना, एक दुई वर्षमा सरकारहरू फेरिइ रहने अभ्यासमा दलहरूलाई सरकारबाट हट्न-हटाउन पनि भारत चाहिन्छ ,
नयाँ सरकार बन्न पनि भारत चाहिन्छ ।
जो सरकारमा आयो ऊ भारत समर्थक जो हट्यो ऊ भारत विरोधी ।
केही समयपछि भूमिका बदलिन्छ नेपालमा भारतको समर्थक र विरोधी समूह पनि फेरिन्छ ।
उसले गरिआएको काम अर्कोले गर्दछ र अर्कोले गरिआएको उसले ।
पात्र फेरिन्छन् तर उही भाषा, उही लबज, उही भाव भंगिमा अर्कोले ग्रहण गर्दछ !

५. अर्को कुरा भारत ठूलो मात्र होइन, धेरै भारत छन् नेपालमा ।
मोदी भारत, सोनिया भारत, सीताराम येचुरी भारत, नक्सली भारत, पाकिस्तानी काश्मिरी भारत, जे एन यु भारत, दिल्ली र वनारस विश्वविद्यालय भारत,शिव सेना भारत, आर. एस. एस. भारत, विहार भारत, बङ्गाल वा युपी भारत ।
त्यहाँका गृह र रक्षा मामिलाका, सुरक्षा एजेन्सीहरूका अलग अलग भारत ।
ती सवै भारतका प्रतिनिधि, प्यादा वा गोटी नेपालमा परस्पर लड्छन् र महान राष्ट्रवादी नेपाली बन्दछन् I
तर उनीहरू सवैले नेपाललाई नै भारत बनाइरहेका हुन्छन् ।
नेपालमा भारत राष्ट्र सानो अनि मोदी भारत, सोनिया भारत, सीताराम येचुरी भारत,नक्सली भारत, पाकिस्तानी काश्मिरी भारत आदि धेरै ठूला पनि देखिन्छन् ।

६. अनि यहाँ ओलीजीको भारत एउटा छ,
प्रचण्ड-बाबुरामजीको अर्को,
माकुने-झलनाथको अर्कै भारत छ ।
फेरी देउवाजीको फरक भारत छ, पौडेलजी र सिटौलाजीको अर्कै छ ,
महन्तजीको एउटा भारत छ उपेन्द्रजीको अर्कै !
नेपालका मिडिया हाउसहरूको पनि अलग अलग भारत छ ।
यी सवै भारत पनि नेपालमै लड्छन् !

७. समस्या न भारत एउटा छ , न नेपाल एउटा ।
धेरै भारत र धेरै नेपाल !
नेपालले पहिला यौटै भारत रोज्नु पर्दछ ।
त्यो भारतसँग एउटा नेपाल माग्नु पर्दछ ।
यौटै नेपाल बन्नै पर्दछ ।
नेपाल सग्लै रहने हो,
चीरकाल पर्यन्त वास्तविक रूपमै स्वतन्त्र र प्रभुसत्ता सम्पन्न भएर रहने हो,
नेपाल राष्ट्र भएर रहने हो भने ,
पहिला नेपाल यौटै बन्नु पर्दछ ।
अनि त्यो यौटै भारतसँग यौटै नेपालले नेपालका र भारतका परस्पर हित, सुरक्षा, एकता, विकास र समृद्धिका लागि एउटा स्थायी चरित्रको वृहत एकीकृत राष्ट्रिय सन्धि गरेर नेपालमा धेरै भारत र भारतका लागि धेरै नेपाल बन्ने स्थितिलाई सदाका लागि कठोरतापूर्वक अन्त्य गरिनु पर्दछ ।
त्यसो गर्न अस्वीकार गर्नुको अर्थ नेपालको सुरक्षा, स्थिरता र स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप र दवाव निर्माण गर्नु हो ।
नेपालको सुन्दर र सुरक्षित भविष्यको ढोका थुन्नु हो ।
भारतका वृहत हित र सुरक्षा सरोकारहरूमा नेपाल संवेदनशील बन्नै पर्दछ ।
त्यसलाई बोक्ने सवल संरचना मुलुकले दिनै पर्दछ ।
दुवै मुलुकले बलियो कानुन बनाएर , बलियो सन्धि गरेर त्यसलाई लागू गर्नु पर्दछ ।
सवल र सशक्त कानुनी शासन मुलुकलाई दिनु पर्दछ ।
जसले दिए पनि हुन्छ , तर दिनु पर्दछ ।

८. भारतसँगको सम्बन्धको स्तर र महत्वलाई जस्ताको तस्तै बुझ्ने र अंगिकार गर्ने सन्धि ,
त्यसलाई लागू गर्ने बलियो कानुनी संरचना ,
नेपाल वा भारतका कुनै पनि दल र सरकारले हस्तक्षेप वा आफूखुशी तलमाथि गर्न नसक्ने र त्यस्तो तलमाथि गर्नेका विरूद्ध दुवै देशले दुवै देशमा कानुनी उपचार पाउने र आवश्यकता अनुसार दुवै देश अन्तर्राष्ट्रिय न्यायालयसम्म जान पाउने व्यवस्था गरेर मात्रै यो जटील र अनिश्चित बन्दै गएको विश्व व्यवस्थामा !
बाँच्ने राष्ट्रिय सामर्थ्य आर्जन गरेर मात्र बन्न सक्दछ नयाँ नेपाल ।
त्यसलाई बलियो राष्ट्रिय आधार दिन, राजनीति र समाजमा कायम विकृति, भ्रष्ट आचरण र अराजकतालाई नियन्त्रण गर्न,
कुनै पनि नेता , शासक वा प्रशासकलाई कानुनको दायरामा ल्याउन सक्ने,
एउटाको पद खोसेर अर्कोलाई दिँदैमा ,
एउटालाई हटाएर अर्कोलाई राख्दैमा ,
विभिन्न नाउमा मुलुकभर हजारौँ हजार राजनीतिक जागिरे हरूको भर्ती खोल्दैमा ,
राज्य कोष र मुलुकका प्राकृतिक साधन र स्रोतहरूमाथि निर्मम दोहन र शोषण गर्ने वर्गहरु खडा गर्दैमा नयाँ नेपाल बन्ने भए बनिसक्थ्यो ।
यति अवधिमा धेरै मुलुकले आफूलाई नयाँ बनाएका छन् ।

९. अन्त्यमा भारतको विकल्प भारत हो ,
भारत मात्रै हो !
चीन वा अर्को मुलुक भारतको विकल्प हुनै सक्दैनन् ।
यातायात र संचारको सुविधाले नेपाल र चीनलाई जति नजिक बनाए पनि त्यसले नेपालको भौगोलिक अवस्थिति , सामाजिक र सांस्कृतिक सम्बन्धको विकल्प दिन सक्दैन ।
हो कुण्ठाको राजनीति गर्न, वैचारिक कुण्ठा पोख्न र वुद्धि विलास त जति पनि गर्न सकिन्छ !
त्यसैले भारतलाई भारतकै रूपमा,
चीनलाई चीनकै स्थितिमा र अमेरिकालाई उसकै हैसियतमा स्वीकारेर मात्रै हामी वास्तविक राष्ट्र र देशभक्त बन्न सक्छौं !
नेपालको वर्तमान त खोस्यौँ-खोस्यौँ , तर नेपाललाई उसको सुरक्षित र सुखद भविष्य दिन सक्छौँ !

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !