राम नवमी अर्थात् राम जन्म दिवससँग जोडिएको पौराणिक कथा Nepalpatra राम नवमी अर्थात् राम जन्म दिवससँग जोडिएको पौराणिक कथा
१२ मंसिर २०७८, आइतबार

राम नवमी अर्थात् राम जन्म दिवससँग जोडिएको पौराणिक कथा


भगवान राम

नमः समस्तभूतानांमादिभूताय भूभृते अनेक रूपरूपाय विष्णवे प्रभविष्णवे ।। -विष्णुसहस्रनाम २ , वसन्ति सर्वाणि भूतानि अस्मिन ईति वासुदेव – उपनिषद् यसरी परिभाषित गरिएका भगवान्का लीला अवतारका साकार रूपका जन्महरूमध्ये मूख्य १० अवतारमा ७ औं अवतार र २४ अवतारमा १८ औं अवतार भनेर वणर्न गरिएको मर्यादा पुरुषोत्तम भगवान् रामको जन्म भएको दिनका रूपमा मनाईने राम नवमी पावन पर्व राट्रिय तथा नेपालका सवै जात-जाति भाषा-भाषीहरूले चैत्रशुक्ल पक्षको नवमीका दिनमा राम सीताको मन्दिरमा पूजा अर्चनाका साथै विभिन्न कार्यक्रम तथा उपवास वसी मनाईने गरेको पाईन्छ र हाम्रा प्रायः पुराणहरूमा पनि यसै दिनलाई धार्मिक महत्वका साथ वणर्न गरेको प्रसङ्ग पाइन्छन् । हामी पनि यस पावन पर्वको भक्तिभावले मानौं तथा मनाऔं ।

पश्यन्त्यदो रूपमदभ्रचक्षुषा सहस्रपादोरुभुजाननाद्भुतम् ।।
सहस्रमूर्धश्रवणाक्षिनासिकं सहस्रमौल्यम्बरकुण्डलोल्लसत् ।।
सहस्रशिर्षा पुरुषः सहस्राक्षः सहस्रपात् ।
स भूमि गुँ सर्वतस्पृत्वात्यतिष्ठद्दशाङ्गुलम् ।।

भगवान् को लीलाअवतारहरूको वणर्न गर्नुपर्दा निराकार स्वरूपबाट सम्भव हुँदैन । तव निराकारबाट साकार स्वरूपको ध्यान गरी अन्तःस्करणमा स्थिर गराई मन, दश इन्द्रियहरू, पञ्चमहाभूत समेत सोह्र कलाको संयोजनले पुरुषरूप अर्थात् कस्तो रूप भने हजारौं शिर, हजारौं पाउ हजारौं हात, हजारौं जंघा, हजारौं नाक, हजारौं मुकुट तथा दिब्य आभूषणहरूले सुसज्जित हुनुहुन्छ । योगीहरूले पनि दिव्य दृष्टिले मात्र दर्शन गर्न पाउँदछन् । तिनै पुरुषलाई म ध्यान गर्दछु । यस्तो पुरुषरूपलाई नारायण भनिन्छ जुन रूप लीला अवतारहरूको अक्षयकोष हो ।

भगवान् रामले यस धरामा किन अवरित हुनु पर्‍यो भन्ने प्रसङ्गमा विभिन्न पुराण तथा उपनिषद्ले केहि फरक वणर्न गरेको पाइन्छ । यसरी पुराणहरू मानै एउटै काल घटनाको फरक बर्णरित हुनुलाई त्यस्तो अचम्म मान्नु पर्ने छैन किनकी कुनै पुराण एउटा कल्पमा लेखिएको छ भने कुनै पुराण अर्को कल्पमा लेखिएकोले कल्पभेद हुन पुगी यस्तो फरक वणर्न हुन पुगेको हो ।

भगवान् रामको जन्म दिवस मनाउने क्रममा उहाँको जन्म तथा यस धरामा प्राकट्य हुनका अनेकन कारण तथा दृष्टान्त छन् तीमध्ये यहाँ केहि रहस्यहरूका विषयमा मात्र विवेचना गर्ने जमर्को गरेको हूँ ।

वैकुण्ठमा भगवान् विष्णुका द्वारपाल जय र विजयलाई अश्विनी कुमारले भगवान्को दर्शन गर्न भित्र जान नदिएको भनी तीन जन्मसम्म राक्षस योनिमा जन्म लिनु परोस् भनी श्राप दिएको कथा प्रसङ्ग धेरै पुराणहरूमा पाइन्छ । पहिलो जन्म हिरण्याक्ष र हिरण्यकशिपु,(सत्ययुग) दोस्रो जन्म रावण र कुम्भकणर्, (त्रेतायुग) तेस्रो जन्म दन्तवक्र र शिशुपाल -(द्वापरयुग) । तिनीहरूको श्राप मोचनको लागि पनि भगवान्ले विभिन्न अवतार ग्रहण गर्नु परेको भनेर पनि भनिन्छ ।

तस्यैवं वर्तमानस्य कन्या कमललोचना ।
श्रीमतिनामविख्याता सर्वलक्षणशोभिता ।।
तस्मिन्काले मुनिःश्रीमान्नारदोऽभ्यागतो गृहम् ।
अम्बरीषस्य राज्ञो वै पर्वतश्च महाद्युतिः ।।

एक दिन देवर्षि नारद इक्ष्वाकु वंशका राजा अम्बरीषको दरवारमा जानु भयो, त्यसै वेला अर्को वडा तपश्वी ऋषि पर्वत पनि राजाको दरवारमा पुग्नु भयो । त्यस वेला राजाको दरवारमा एउटा सभाको आयोजना भएको थियो । त्यस सभामा राजाकी श्रीमती नाम गरेकी अति सुन्दरी कन्या पनि उपस्थित भएकी थिईन् । त्यस सभामा श्रीमतीलाई देखेर देवर्षि नारद आशक्त हुनु भयो र राजासँग भन्न लाग्नु भयो हे राजन ! यी कन्याको हुन्, कसकी पुत्री हुन् सोधनी गर्दा राजा अम्बरीषले यी कन्या मेरी हुन् भन्दा नारद ऋषि खुशी हुँदै ती कन्यासँग विवाह गर्ने इच्छा प्रकट गर्नु भयो । ती कन्यासँग अर्का पर्वत नाम गरेका ऋषि पनि विवाह गर्ने इच्छा राखी एकान्तमा राजालाई वोलाई तपाइँकी कन्या आफूलाई दिने प्रस्ताव राख्नु भयो ।

तव राजा अम्बरीषले यी दुवै महातेजश्वी ऋषिहरूको इच्छा जानेर भय-व्याकुल हुनु भयो र दुवै ऋषिहरूलाई भन्नु भयो तपाईहरू एक कन्याको लागि दुई जनाले विवाह गर्ने इच्छा राख्नु भयो । तसर्थ, म कसरी तपाईहरूको इच्छा पूर्ति गर्न सक्छु र ? भनी भन्न लाग्नु भयो । मेरी कन्याले तपाईहरूमध्ये जसलाई मन पराई वरण गर्दछिन् तिनैलाई म कन्यादान दिन समर्थ हुनेछु । अन्यथा म असमर्थ छु भन्दा ती दुवै ऋषिहरू अर्को दिन उपस्थित हुने जानकारी दिई त्यहाँबाट हिंड्नु भयो ।

ती दुवै ऋषिहरू भगवान् विष्णुका परम भक्त थिए र ती कन्यालाइ विवाह गर्ने प्रस्ताव राख्न वैकुण्ठततर्फ प्रस्थान गरे र भगवान्सँग प्रार्थना गर्न लागे । हे भगवान् ! म अयोध्याका राजा अम्बरीषकी पुत्री श्रीमतीसँग विवाह गर्न चाहन्छु । त्यसै गरी हजूरको परमभक्त श्री पर्वत ऋषि पनि ती कन्यासँग विवाह गर्ने इच्छा राख्नु हुन्छ । तसर्थ, ऋषि पर्वतको मुख वानराकार बनाई दिनु होला हे भगवान् ! मेरो जसरी भलो हुन्छ त्यसै गर्नुहोस् भनी विन्ति गर्दा, भगवान्ले त्यसै हुनेछ भनि वरदान दिनु भयो । त्यसै गरी अर्का पर्वत नाम गरेका ऋषि पनि भगवान् सँग त्यही कन्यासँग विवाह गर्ने याचना लिई जानु भयो र नारद ऋषिले झैँ प्रस्ताव राखी नारद ऋषिको मुख पनि वानराकार बनार्ई दिने वरदान माग्नुभयो ।

भगवान्ले पनि माग बमोजिम इच्छित वरदान दिई विदा दिनु भयो । भोलिपल्ट दुवै ऋषिहरू श्रृङ्गार-पटार पारी कन्यार्थी वनी राजा अम्बरीषका दरवारमा जानु भयो ।राजा अम्बरीषले यी दुवै ऋषिहरूले विवाह गर्ने इच्छा राखेको कुरा आफ्नी कन्यालाई अवगत गराई एकजनालाई वरण गर्न आज्ञा दिनु भयो । ती राजकन्या श्रीमतीले पनि वर वरण गर्न माला लिई ऋषिहरू भए छेउ आउनु भयो । ती ऋषिहरूलाई देखिकन्या बीचैमा रोकिनु भयो र पिताजीसँग भन्न लाग्नु भयो । हे पिताजी हजूरले आज्ञा दिनु भएको ऋषिहरू त देखिंदैनन् यहाँ त वानरको मुख भएको दुई जना छन् वरूती वानरमुखाका बीचमा अति सुन्दर शोडष वर्षको एक जना दिव्यपुरुष उपस्थित भएको वृतान्त पिताजीलाई सुनाईन् र तिनै दिव्य पुरुषलाई माला लगाई दिइन् अनि ऋषिहरूको श्रापबाट वच्न पिताजीको पछाडि पुगीन् । तव नारद ऋषि र पर्वत ऋषि अति दुःखि वनी त्यहाँदेखि अन्तध्र्यान भए ।

तत् पश्चात् भगवान् कहाँ पुगी सव बृतान्त बताए तव भगवान् ले आफूसँग जे वर प्रार्थना गरेको हो त्यही नै तिमीहरूलाई दिएको बताउनु भयो । हे मुनिश्रेष्ठ ! म सँग मेरा भक्तहरूले जस्तो याचना गर्दछन् त्यही वस्तु म उनीहरूलाई प्रदानगर्दछु जस्तै तिमीहरू दुवै मेरो परम भक्त हौ । तिमीहरू दुवैले जे-जे माग गर्‍यौ त्यसै गरें । तर जे भयो मुनिवर तपाईहरूको लागिभलोे भयो भनी बुझाउन लाग्नु भयो । तव ऋषिहरूले त्यस्तो माया राजा अम्बरीषकै भएको हुन सक्ने भनी राजा छेउ गै हामीलाई वोलाएर छल गरी अर्कालाई कन्यादान दिएकोले अज्ञानी होओस्, आफ्नो आत्माको यथावत् विचार नहोेस् भनी श्राप दिए ।

परम प्रतापी राजा अम्बरीषलाई भगवान् शंकरबाट प्राप्त आफ्नो शुदर्शन चक्र द्वारा वेष्टित सुरक्षा चक्र थियो । (जुन शुदर्शन चक्र भगवान् शिवले विष्णु भगवान् लाई दिनु भएको थियो सोहि शुदर्शन चक्रलाई विष्णु भगवान् ले राजा अम्बरीषको रक्षार्थ खटाउनु भएको थियोे) शुदर्शन चक्र जागृत भई दुवै ऋषिहरूलाई लखेट्न लाग्यो तव दुवै ऋषिहरू दौड्दै जीवन रक्षार्थ भगवान् को शरणमा जानु भयो र भक्तको रक्षा गर्दै चक्रलाई निस्तेज पार्दै भन्न लाग्नु भयो कि जसरी तपाईहरू मेरो भक्त हुनुहुन्छ त्यसै गरी राजा अम्बरीष पनि मेरो भक्त भएको,उहाँ सुदर्शन चक्राद्वारा रक्षित भएको हुँदा यस्तो भएको हो भनी वताउनु भयो । तव यो चक्कर भगवान् कै मायाका कारण भएको भनी बुझि क्रोध गरी भगवान् लाई पनि श्राप दिनु भयो । कस्तो श्राप भने :

ददतुश्च ततः श्रापं विष्णुमुद्दिश्य कोपनौ ।।श्रीमतिहरणं विष्णो यत्कृतं छद्मना त्वया ।।
यया मूत्र्या तथैव त्वं जायेथा मधुसूदन ।।अम्बरीषस्यान्ववाये राज्ञो दशरथस्यहि ।।
पुत्रस्त्वं भविता पुत्री श्रीमति धरणी प्रजा ।।भविष्यति विदेहश्च प्राप्य तां पालयिष्यति ।।
राक्षसानपदः कश्चित्तां ते भार्या हरिष्यति ।। यतो राक्षसधर्मेण हृता च श्रीमति शुभा ।।

अर्थात्, जुन कूलको कन्या हरण गरी हाम्रो मन दुखाउनु भयो त्यसै कूलमा मानव रूपधारण गरी जन्म लिनु परोस्, राक्षस धर्म जस्तै गरी हरण गरेकोले तपाईको पत्नीलाई पनि राक्षसले हरण गरोस् र मानवलाई जस्तै महादुःख भोग्नु परोस् साथै हाम्रो वानराकार मुख वनाएकोले आफ्नो पत्नीको उद्धार गर्न वानरको सहायता लिनु परोस् भनी श्राप दिनु भयो । तहाँ उप्रान्त भगवान् ले पनि ब्राह्मण वचन पूणर् गर्नाको हेतु आफूले दशरथ पत्नीहरूकोे गर्भबाट पृथ्वीको भू-भार उतार्नका खातिर कौसल्याका गर्भबाट रामरूप, सुमित्राको गर्भबाट साक्षात् शेष लक्ष्मणरूप, कैकेयीको गर्भबाट भरतजी दक्षिण भुजा शंख तथा वाम भुजा चक्र शत्रुघ्न नाम भै जन्म लिनेछु भनी श्रापलाई सहर्ष स्वीकार गर्नु भयो ।

राम जन्म तथा वानरको सहायता लिनु पर्ने अर्को एक प्रसङ्गको पनि यहाँ विवेचन गर्नु सान्दर्भिता देख्दछु । पूर्व कालमै जालन्धरले आफ्नी पत्नी वृन्दाको पतिब्रता धर्मको प्रभावले धेरैलाई दुःख दिई रहेको थियो र दुःख दिने क्रममा माता पार्वतीलाई छल गर्न समेत आँट गरी माता पार्वतीलाई छल गर्न गएकोले भगवान् शिवजी रिसाई जालन्धर सँग युद्घ गर्न लाग्नु भयो तर पत्नीको पतिब्रता धर्मका प्रभावले भगवान् शिवजीले पनि युद्घमा हराउन सक्नु भएन । तव विष्णुले छल गरी सती वृन्दाको पतिव्रता धर्म नष्ट गराइ शिवजीद्वारा जालन्धरलाई मारेको हुँदा उनले श्राप दिएको र त्यहि श्राप मोक्षको लागिसीता हरणको लीला रच्नु भएको भनी स्कन्द पुराण तथा रामायणमा उल्लेख गरेको पाइन्छ । यसमा धेरै लामो प्रसङ्ग छ, त्यसैले म यसलाई सङ्क्षिप्त उल्लेख गर्न चाहन्छु ।

पतिव्रता वृन्दालाई कुनै उपायबाट पनि पतिव्रता धर्मबाट च्यूत गर्न नसकेकोले मायाद्वारा योगी वनी दुई वटा सहायक वानर राखी तपस्या गरेको, दुई वटा राक्षसद्वारा वृन्दाको अपहरण गर्न खोजेको, योगीले राक्षसलाई धपाएको, मायाद्वारा जालन्धरको टाउको काटी लिएर आएको, वृन्दाले योगीको प्रार्थना गरी पतिको अभय दान मागेको र जालन्धरलाई योगी खुशी भई जियाएको तथा जिईएको जालन्धरसँग मायाद्वारा वृन्दाको पतिव्रता धर्म नष्ट भएको । साथै, वानरद्वारा मायाले छल गरेको सती वृन्दाले भगवान्लाई वानरको सहायता लिनु पर्ने श्रापदिनु गएको भन्ने दृष्टान्तको वणर्न गरिएको पाइन्छ । उक्त श्राप मोचन गर्न भगवान्ले रामभै जन्म लिनु परेको रहस्य उल्लेख गरेको पाइन्छ ।

शान्ताभर्तारमानीय ऋष्यऋृङ्गं तपोधनम् ।।
अस्ताभिः सहितः पुत्रकामेष्टिं शीघ्रमाचर ।।

रामावतारको प्रसङ्ग वणर्न गर्नु पर्दा राजा दशरथ र राजा रोमपादको मित्रताको सम्बन्धमा प्रकाश पार्नु पर्नेहुन्छ । ती दुई अति मिलनसार मित्र थिए । ती दुवैको एकै समयमा विवाह भएको थियो । तिनीहरू ले जसको पहिला सन्तान भएपनि अर्कालाई दिने बाचा-बन्धन गरेका थिए । दैव संयोगले राजा दशरथको पहिला एक पुत्री भईन् । बाचा-बन्धन अनुसार ती पुत्री राजा रोमपादलाई दिनुभयो । ती कन्याको नाम शान्ता हो । तिनै शान्तालाई राजा रोमपादको देशमा अनावृष्टि भई ब्रह्मचारी ऋष्यश्रृङ्गलाई यज्ञ गर्न बोलाई यज्ञ समाप्त भएपछि उनै ऋषिसँग शान्ताको विवाहसमेत गरीदिएको प्रसङ्ग रामायणमा उल्लेख गरेको पाइन्छ ।

वशिष्ठजीले शान्ताको पतिऋष्यश्रृङ्गलाई बोलाएर अनुष्ठान गर्ने परामर्श दिएपछि सोही बमोजिम राजा दशरथले पुत्रेष्टि यज्ञ गराउनु भयो । साथै अद्भुत रामायणमा रावणादि दुष्ट राक्षसहरूबाट पिडित भै इन्द्रादि देवता, पृथ्वीमाता र भगवान् ब्रह्माजी भगवान् विष्णुसँग प्रार्थना गर्न क्षीरसागरमा जानु भयो । पृथ्वीको भार हरण गर्न दशरथको कूलमा जन्म लिनेछु भनि बचन दिनु भएको प्रसङ्गसमेत उल्लेख गरेको पाइन्छ ।

यतिस्मन्नन्तरे भूमिर्दशास्यादि प्रपीडिता ।
ब्रह्मणा प्रार्थयामास विष्णुं सोऽपि तदाऽब्रवीत् ।।

राजा दशरथले ऋष्यश्रृङ्गनाम गरेको ऋषिद्वारा पुत्रेष्ठि यज्ञ गर्दा स्वयं अग्नि देव प्रकटभै दिव्य पायश दशरथलाई दिनु भयो, यस्तै वालमीकि रामायणमा प्रजापति पुरुष प्रकट भएको भनिएको छ ।

वन्हिः कुण्डत् समुत्तस्थौ नूनं देवेन नोदिनः ।
आदाय मुनयो मन्त्राच्चः पिण्ड्यंम शुभम् ।।
दत्ते कौशल्य कैकेयाद्वेपिण्डे मन्त्रमन्त्रिते ।।
ते पिण्डप्राशने काले सुमित्राय महामते ।।

त्यो पायश गुरु वशिष्ठको आज्ञाले राजा दशरथले आफ्ना तीनवटै रानीहरूलाई मन्त्र पढ्दै खान दिए जब रानीहरूले त्यो पायश हातमा लिए तव त्यस बखत एउटा बाझ (गृद्धिनी) आएर कैकेयीको हातबाट त्यो पायश लुटेर लगिन् । रानीहरूले कैकेयीलाई आफ्नो भागबाट आधा-आधा खान दिए ।

विधिपूर्वक भोजन गरे तव तीवटै रानीहरू गर्भवती भए भनेर उल्लेख गरेको पाईन्छ । यसरी विभिन्न पुराणहरूमा पुराणै पिच्छे फरक-फरक कथन उद्गार हुनुलाई चिन्तन गर्दा फरक हुनाको खास कारण उल्लेख गरेको नपाईए तापनि यस टीकाकारलाई लागेको कुरा व्यक्त गर्न चाहन्छु । रामायण र महाभारत ग्रन्थ इतिहास भएकोले कथन अनुसार इतिहास कथन गर्ने व्यक्ति फरक-फरक भएको पाइन्छ ।

उदारहणको रूपमा नृसिंह पुराणमा यो प्रसङ्ग ब्रम्हाद्वारा वयान गरेको पाईन्छ भने अन्य पुराणमा कतै शिव, वाल्मीकि कतै काग भुसुण्डी, सुगा, घोडा, वानर, भालु आदि व्यक्ति तथा पात्रहरूले फरक-फरक कल्पमा वयान गरेको हुँदा फरक-फरक धारणा व्यक्त हुन गएको हुन सक्दछ तापनि हामीहरूले सवभन्दा प्रमाणिक रामायणमा नै उल्लेख गरेको प्रसङ्गलाई मान्नु उचित हुनेछ भन्ने मेरो आशय तथा मत छ ।

यहाँ राम जन्मको प्रसङ्गलाई नै जोडेर अध्ययन गर्नुपर्ने हुन्छ । रानीहरू गर्भवती भएपछि राजा दशरथले गर्भवती भएको ८ महिनामा गर्ने संस्कार सिमन्तोनयन जुन गर्भवतीलाई खान मन लागेको अधिकाधिक मिष्ठान्न खान दिने संस्कार जसबाट आफ्नो सन्तानको जन्म भएपछि कुनै खाने कुरा, खान दुःख नपरोस् र सन्तान संसारको सम्राट होस् भन्ने कामनाका साथ गर्ने संस्कारलाई सिमन्तोनयन संस्कार भनिन्छ । तर नेपालमा माईतिबाट प्रशूतिपूर्व दहि चिउरा खुवाउने चलन छ । हालका दिनमा त आफन्त जनहरू धेरैले भेटघाट गरी खुवाउने चलन पनि प्रचलनमा छ । सिमन्तोनयन संस्कार पुराणहरूमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको पनि गरेको पाइन्छ ।

यसरी राजा दशरथले सिमन्तोनयन संस्कार गरे पछि षट् ऋतु अर्थात् १२ महिना पूणर् भएपछि ब्रह्मादि देवताहरूलाई दिएको बचन अनुरूप कौसल्याका गर्भबाटः

रमणाद्राम एवासौ लक्ष्मणैर्लक्ष्मणस्त्विति ।
भरणाद्भरतश्चेति शत्रुघ्नः शत्रु तर्जनात् ।।

रामरूप, सुमित्राको गर्भबाट शेष लक्ष्मणरूप, कैकेयीको गर्भबाट भरतजी दक्षिण भुजा तथा वाम भुजा शत्रुघ्न नाम भै जन्म लिनुभयो अर्थात्  धर्म-राम, अर्थ-लक्ष्मण, काम-भरत, मोक्ष-शुत्रघ्न, मोह-रावण हुन् । मेरो नजरमा राम जन्मलार्ई आध्यात्मिक दृष्टिकोणबाट व्याख्या गर्नु पर्दा राम जन्म सँग-सँगै चारवटै पुरुषार्थको समेत जन्म भएको भनेर पनि मान्न सकिन्छ ।

मनोहर, रमणीय, आनन्ददायक हेरिरहन मन लाग्ने मनमोहक भएकोले राम तथा “रमन्ते योगीन अस्मिन्” इति राम, शुभ लक्षणले भरिपूणर्-निर्दोष भएकोले लक्ष्मण, प्रजाहरूलाई भरण-पोषण गर्ने सामर्थ तथा निपुण भएकोले भरत र शत्रुलाई पराजित गर्ने सामथ्र्य भएकोले गुरु वशिष्ठले शत्रुघ्न नाम राख्नु भएको उल्लेख गरेको पाइन्छ । विभिन्न रामायण तथा पुराणमा भएका रहस्यहरू पाठक समक्ष सङ्क्षिप्त वणर्न गरेको छु । अस्तु !

*लेखक सुरेन्द्रप्रसाद सिग्देल धर्म संस्कति विषयक अन्वेषक हुनुहुन्छ भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट उहाँको रामायण रहस्य नामक कृति प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !