१२ बैशाख २०८१, बुधबार

नेपाली संस्कृतिको आधार के ?


नेपाली संस्कृतिको आधार

नेपाली संस्कृतिको आधार भनेको वैदिक धर्म हो : हिन्दू धर्म । बौद्ध धर्म भनेतापनि यो एउटा दर्शन हो । गौतमबुद्ध हिन्दू राजकुमार नै हुन् । नेपालको धर्तिमा पलाएका सबै सम्प्रदाय र दर्शन, विचारधारा हिन्दूत्वमा नै आधारित हुन् ।

राना थारुले बिहानै एकअर्कालाई आदरपूर्वक सम्बोधन गर्ने अभिवादन ‘राम-राम’ देखि हाम्रो जन्मदेखि मृत्युसम्मका जम्मै संस्कार नेपाली संस्कृतिका नै अभिन्न अंग हुन् । यो नै नेपाली राष्ट्रियताको आधार पनि हो । विकृति र संस्कृतिमा अन्तर छुट्याउने विवेक हामीमा हुनुपर्छ ।

कुनै पनि देशको धर्म, संस्कृति, परम्परा त्यो देशको प्राण हो, आत्मा हो । जलवायु, भौगोलिक समानता, राजनीतिक व्यवस्थामा समानता एक जस्ता भएपनि एउटा राष्ट्र अर्काे राष्ट्रसँग संस्कृतिको विषयमा मात्रै फरक हुन्छ ।

अन्यथा सबै देशका चाहना भने एकनासका नै हुन्छन् । संस्कृति र धर्म रक्षाको लागि मृत्यु समेत हुने गरेका छन् । त्यो देशको सीमानाभित्र बसोबास गर्ने नागरिकहरूको सांस्कृतिक पक्षलाई सुरक्षित राख्नको लागि अर्थात् राष्ट्रिय पहिचान कायम गर्नको लागि सेनाको व्यवस्था गरिएको हुन्छ ।

राष्ट्रियताको रक्षा भनेकै स्वधर्म, स्वसंस्कृतिप्रति समर्पण, प्रेमभाव र लगाव हुनु हो । व्यक्तिको विचारधारा जस्तै राष्ट्रको पनि विचारधारा हुन्छ । त्यो विचारधारा संस्कृति नै हो । इजरायल यसको उदाहरण हो । जुन सांस्कृति राष्ट्रको रुपमा स्थापित हुनुको साथै एक प्रकारले महाशक्तिको जस्तो दर्जा उसले पाइसकेको अवस्था छ ।

आज मध्य युगमा सत्तासिन चर्चले आफ्नो सत्ता गुमाएको हुनाले आफ्नो सत्ताको वर्चश्व कायम गर्नको लागि उसले एसिया र अफ्रिकाका मुलुकहरूमा धर्म परिवर्तनको दुष्चक्र चलाइरहेको अवस्था छ ।

नवोदित अथवा विकासोन्मुख राष्ट्रहरूको संविधानमा कानून र व्यवहारमा धर्म परिवर्तनको व्यवस्था गर्न लगाई युरोपियन युनियन त्यही चर्चको भावनाको प्रतिनिधित्व गर्दै यी देशहरूमा धर्म परिवर्तन गराउँदछ ।

धर्मलाई उनीहरूले सत्ताको प्रतिक मान्दै आएका छन् जबकी नेपाली मानसिकता वा हिन्दू मानसिकता भनेको मानवताको हित गर्नु, दया, करुणा, परोपकारी भावना राख्नु, कसैको पनि अहित नचिताउनु नै हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !