१२ बैशाख २०८१, बुधबार

ओली एण्ड प्रचण्ड रिलेशन ब्रेक अप : ओली एण्ड नेपाल रिलेशन प्याच अप


ओली र प्रचण्ड रिलेशन ब्रेक अप तर्फ : ओली र नेपाल रिलेशन प्याच अप तिर

काठमाडौँ, कार्तिक ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना अध्यक्ष वीचको सम्वन्ध कुहिएको फर्सी जस्तै भएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ । कुहिएको फर्सी बाहिरबाट राम्रो देखिएतापनि भित्रभित्रै कुहिसकेको थाहा नभएजस्तै ओली-प्रचण्ड वीचको सम्वन्ध पनि केहि स्वार्थमा मिले जस्तो देखिएपनि भित्रभित्रै व्यक्तिगत शक्तिसंघर्षले गर्दा कहिले पानी बाराबारको जस्तो देख्निछ भने कहिले सीमित व्यक्तिगत स्वार्थको लागि हल्का मिले जस्तो पनि भान भएको अनुभूति गर्न सकिन्छ ।

ओली-प्रचण्डवीच हुने विवाद ‘लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैँ समय-समयमा निरन्तर पनि यस्तै भएको छ । उही पार्टीका अध्यक्षहरु नमिली पनि भएन । आपसमा कुडिएको मनको मौनता तोड्दै अध्यक्षद्वयले भेटवार्तालाई पुनः निरन्तरता पनि दिने गरेका छन् । भौतिक विज्ञानमा न्युटनको चालको तेस्रो नियमले भन्छ, ‘प्रत्येक क्रियामा बराबर तर बिपरित प्रतिक्रिया हुन्छ ।’ समकालीन उस्तै क्षमता भएका नेताहरुमा व्यक्तिगत शक्तिसंघर्ष हुनु अस्वाभाविक नभएतापनि देशको विकास र आम नागरिकको अपेक्षामा तुषारापात हुनु चाही कदापी ठिक होइन ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालावाट राजनीतिमा के कस्ता साम, दाम र दण्डभेद प्रयोग गर्नुपर्छ भन्ने चाणक्य नीति जस्तो कुटिलता सिकेको बेला-बेलामा ओकल्ने प्रचण्ड भन्दा ओली चतूर राजनैतिक खेलाडी भएको विभिन्न घटनाक्रमले बताउन थालेको महसुस हुन थालेको छ । स्वभावको हिसावले हेर्दा प्रचण्ड ओली भन्दा केहि समझदार र भावुक छन् भने ओली प्रचण्ड भन्दा केहि जिद्धी र कठोर छन् ।

माओवादी जनयुद्धका समयमा भएका बिभिन्न काण्डवाट सेफ ल्याडिङ्ग खोजेका प्रचण्डलाई क्षणिक राहत मिलेतापनि ओलीले नै द्वन्दकालका अनेक घटना ब्युतियाएर बेला-बेलामा मानसिक तनाव दिनुले प्रचण्डलाई पार्टी एकतापछि पनि रुनु न हाँस्नु जस्तो भएको छ । ओलीले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा प्रचण्डलाई द्न्द्वकालका मुद्धा ब्युतियाएर जेल हाल्ने षडयन्त्र वा अष्ट्रेलिया पठाएर पक्राउ गर्न लागिएको गोप्य सूचना थाहा पाएलगतै १८० डिग्रीमा घुमेका प्रचण्डले ओलीसँगको सम्वन्धमा पारपाचुके गरी देउवासँग पुनर्मिलन गरेर फेरि साँठगाँठ नगर्लान भन्न सकिन्न ।

नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा पटक-पटक निष्कर्षबिहिन छलफल हुने गरेको छ । कोरोना महामारीले आक्रान्त नेपाली जनता सत्तारुढ दल नेकपाका यी दुई अध्यक्षहरु निष्कर्षबिहिन बार्ता, छलफलले वाक्कदिक्क भएका छन् । खाली जहिले बार्ता भनेर बालुवाटारमा बस्ने तर सहमति ननिकाली सत्ताको गाईजात्रा देखाउदा जनतामा बितृष्णा पैदा भएको राजनीतिक विश्लेषकहरु बताउछन् । हुन् पनि व्यक्तिगत महत्वाकांक्षाले गर्दा पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व असफल हुदै जाँदा आगामी चुनावमा जनताको अभिमत कता जाने हो अनुमान गर्न गार्हो छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल समुह रुष्ट भएको छ । कर्णालीको विवाद मिलाउनको लागि अध्यक्षद्धय ओली र दाहालले पदाधिकारीहरुलाई काठमाडौं बोलाएपनि अहिलेसम्म अध्यक्षद्धयको उपस्थितिमा छलफल हुन सकेको छैन् । ओलीले मुख्यमन्त्री शाही र यमलाल कँडेललाई बालुवाटार बोलाएका थिए । ओलीले अर्का अध्यक्ष दाहाललाई पनि बोलाएपनि दाहालले तपाईँ आफैं छलफल गर्नुहोस भनेर आफू आउन नसक्ने जानकारी गराएको खुमलटार स्रोतले जनाएको थियो ।

पञ्चायत कालमा पटक पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बहुदलमा प्रधानमन्त्री हुँदा भनेका थिए,‘राजनीति सम्भावना नै सम्भावनाको खेल हो ।’ नेपाली राजनीतिमा हिजो टाउकाको मूल्य तोक्नेहरुले मूल्य तोकिएकासँग मिलेर प्रधानमन्त्री आलोपालो खाएकै हुन् । सत्ता र शक्तिको लागि शक्तिसंघर्ष हुँदा तेरो र मेरो नहुने तथ्य नेपाली राजनीतिमा बेला बेलामा देखिदै आएको हो ।

एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन’ । एकले अर्कोको टाउकाको मूल्य तोकेका नेताहरु आपसमा मिलेर सत्ताको साझेदारी पनि नगरेका होइनन् । हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका छन् ।

एकअर्काको खेदो खन्ने दलहरुको बीचमा गठबन्धन बनाउनेदेखि लिएर सरकार निर्माण गर्ने काम विगतमा पटक-पटक भएकै हो । नयाँ संविधान निर्माणपछि तत्कालीन एमाले र काँग्रेस गठबन्धनको सरकार गठन भएको थियो । त्यसपछिका सरकार गठन गर्ने सिलसिलामा विगतमा एकअर्कालाई प्रमुख दुश्मन ठहर गर्दै कट्टर वैमनस्यता राखने काँग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनको सरकार बनेको थियो । त्यो बेला पनि यी गठबन्धनहरुलाई अनौठो मानिएको थियो ।

काँग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले र माओवादी केन्द्रबीच निकै दुरी बढेको थियो । दुवै पार्टी एक अर्काको नाम नै सुन्न चाहदैन थिए । तर अन्ततः दुई दलबीच एकीकरण नै भयो । अस्वभाविक रुपमा अघि बढेका यी गठबन्धनका प्रक्रियालाई पनि अप्राकृतिक गठबन्धनको रुपमा चर्चा भई नै रहने गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीसँगको संगतले नेकपा अध्यक्ष ‘प्रचण्ड’ धुरुधुरु रोएर बसेको बताएका छन् । गृह जिल्ला गोरखाको पालुङटार नगरपालिका-६ मा आयोजित एक कार्यकर्ता भेटघाटका क्रममा भट्टराईले भनेका थिए ‘बाबुराम नै नेकपामा जाँदैछ भन्ने टिप्पणी गर्छन्, प्रचण्ड नै लौ डुबियो, बर्वाद भो भनेर बिलौना गर्नुहुन्छ।’ प्रचण्डसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा बिलौना गरेको उनले बताएका थिए । ‘प्रचण्ड जि ओलीको फेला पर्नुभयो’ उनले भनेका थिए ।

यसवाट के प्रष्ट हुन्छ भने पार्टी एकतापछि प्रचण्डलाई दाँतमा ढुंगा लागे जस्तो अनुभूति भएर जनयुद्ध नसकिएको बेला-बेलामा मनभित्रको अन्तरकुनामा रहेका दबिएका भावना ओकल्ने गरेका केहि दृष्टान्तहरु विगतमा नसुनिएका हैनन् । आफू सत्तामा रहिरहन प्रधानमन्त्री ओलीले समय-समयमा पार्टीका विभिन्न नेताहरुलाई क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् ।

हालसालै मात्र तत्कालिन माओवादी पक्षवाट कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको बिरुद्धमा अप्रत्यक्ष रुपमा आफ्ना निकट यामलाल कंडेललाई अविश्वासको प्रस्ताव दर्ता गराउन लगाएका ओलीले प्रहार गरेको क्षेप्यास्त्रले प्रचण्डको मन कुँडिनुका साथै ओली-प्रचण्ड सम्वन्धमा दरार सिर्जना भएको छ ।

स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला फेरि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो मंगलबार छलफल भएको छ । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।

दाहालसँग मतभेद बढिरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेट गरेका हुन् । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरेका छन् । उनले छलफलको विषयवस्तुबारे आफूलाई जानकारी नभएको बताए । तर, बालुवाटार निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका हुन् ।

दाहाल निवास खुमलटार धाउनभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव नेता नेपाललाई गरेको स्रोतको भनाइ छ । नेता नेपाल निकट नेताहरूका अनुसार मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव भने नआएको बताइएको छ । ओली र नेपालबीच झन्डै सवा २ घण्टा भेटवार्ता भएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा ओली र नेपाल समूह एक ठाउँ भएका थिए । पछि दाहाल र नेपाल समूहबीच सहमति भएपछि कर्णालीको राजनीतिमा नयाँ मोड आएको थियो । मंगलबारसम्म कर्णाली विवाद टुंगिएको छैन, बरु विवाद बढेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा विवाद समाधानबारे दुवैका तर्फबाट परस्पर विरोधी भनाइ सार्वजनिक भएका छन् ।

पछिल्लो पटक नेकपाभित्रको शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँ देखिएपछि ओली र नेपालबीच दूरी बढेको थियो । ७९ दिनको विवादपछि भदौ २६ मा स्थायी कमिटी बैठक सकिँदा ओली र दाहालबीच सहकार्य भएको थियो । त्यसबेला नेता नेपालले १५ बुँदे असन्तुष्टि राखेका थिए ।

पछिल्लो मन्त्रिपरिषद् हेरफेर र राजनीतिक नियुक्तिहरू मापदण्डविपरीत भएको भन्दै नेता नेपालको असन्तुष्टि छ । यसअघि गत साउन ९ मा प्रधानमन्त्री ओली र नेता नेपालबीच एक्लाएक्लै छलफल भएको थियो । त्यतिबेला महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए ओलीसँग सहकार्य गर्न सकिने प्रस्तावमा नेता नेपालले छलफल गरेका थिए ।

सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुको सम्वन्ध कसलाई उचालेर कोमाथि क्षेप्यास्त्र प्रहार गर्ने हो त्यो कसलाई पनि थाहा हुदैन । आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न हरेकले एकलाई उचालेर अर्कोलाई पछारेका छन् । यसमा सबभन्दा बढी क्षेप्यास्त्रको रुपमा बामदेव गौतम प्रयोग भएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डले बामदेवलाई आफ्नो कित्तामा ल्याएर अर्कोमाथि क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले कहिले झलनाथ खनाललाई उचालेर माधव नेपालमाथि क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् भने कहिले माधव नेपाललाई उचालेर झलनाथ खनालमाथि क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् ।

नेकपामा नेपाल र खनालवीचको बरियतामा उतारचढाव आउनुमा प्रधानमन्त्री ओलीको नै कुटिलता भएको राजनीतिक विश्लेषकहरु बताउछन् । त्यस्तै नेपाललाई पनि ओली र प्रचण्डले समय-समयमा आफ्नो अनुकूल बनाएर अर्कोमाथि दवाव सिर्जना गर्ने गरेको पाइएको छ । तर ललितानिवास जग्गा प्रकरणमा आफूलाई विवादमा ल्याउन खोजेको संकेत पाएपछि नेपाल ओलीदेखि बिच्किएर प्रचण्ड निकट भएका थिए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल रुष्ट भएका छन् । स्रोतका अनुसार अध्यक्ष दाहाल र नेता नेपालले सचिवालय बैठक बोलाएर ओलीको राजीनामा माग्ने ठुलो योजना बनाएको छ । साथै नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र बनाएको छ ।

विश्वस्त स्रोत अनुसार सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

राजनीतिक विश्लेषकका अनुसार ओलीको तत्कालिन माओवादी केन्द्रलाई बिलय गराउने रणनीति अनुरुप नै माओवादी केन्द्रसँग नेकपाले पार्टी एकता गराएको हुनाले तत्कालिन एमाले पक्षका शीर्ष नेताहरुले प्रचण्डलाई दीर्घकालिन पार्टी अध्यक्ष स्वीकार्न नसक्ने भएकोले ‘त रोए जस्तो गर म कुटे जस्तो गर्छु’ भनेझैँ नेपाल, खनाललाई प्रचण्ड निकट भएर ओलीको आलोचना गर्ने गरेको हुनसक्ने अनुमान गर्न पनि सकिन्छ । साथै तत्कालिन एमालेका शीर्ष नेताहरुको राजनीतिक कुटनीति अपनाएर आगामी महाधिवेशनमा माधव नेपाललाई नै पार्टी अध्यक्षमा निर्वाचित गर्ने रणनीति अनुरुप प्रचण्डलाई एक्ल्याएर ‘घर न घाटको’ जस्तो नबनाउलान् भन्न सकिन्न ।

केहि दिनभित्रको नेकपाको आन्तरिक व्यक्तिगत शक्तिसंघर्षलाई हेर्दा ओलीको सम्वन्ध नेपालसँग समधुर भएको भान भएको छ भने ओलीको सम्वन्ध प्रचण्डसँग टाढिएको जस्तो पाइएको छ । ललिता निवास प्रकरणपछि छियाछिया भएको नेपालको मनमा मलमपट्टी लगाउने कोशिश प्रधानमन्त्री ओलीले एकपटक फेरि प्रयास गरेका छन् भने यस्तो प्रस्तावले नेपाललाई मलमको काम गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ । वास्तवमा प्रतिकात्मक रुपमा भन्नुपर्दा केहि दिनको नेकपाको भित्रको घटनाक्रमलाई विश्लेषण गर्दा ओली एण्ड प्रचण्ड रिलेशन ब्रेक अप तर्फ गएको देखिन्छ भने ओली एण्ड नेपाल रिलेशन प्याच अप तिर लागेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई हटाउनको लागि प्रचण्ड र नेपालले बनाए यस्तो ठुलो योजना

सधैं बालुवाटार धाउने प्रचण्ड आज ओलीले बोलाउँदासमेत आउँदिन भनेपछि…

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी

मन्त्रीमण्डल पुनर्गठन स्थगित : ओली-प्रचण्डको आ-आफ्नै अडान

बालुवाटारमा ओली-प्रचण्डको गाईजात्रावाट जनता वाक्कदिक्क

बालुवाटारमा ओली-प्रचण्ड वार्ता जारी, नेपालको दुखेको मनमा मलमपट्टी लगाउने

ओली-प्रचण्डबीच कुरा मिलेपनि नेपालको चित्त यसकारण अझै बुझेन

नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !