, यिनको छविसँगै ध्वस्त भएको प्रजातन्त्रको छवि र निकास

यिनको छविसँगै ध्वस्त भएको प्रजातन्त्रको छवि र निकास

काठमाडौँ, कार्तिक १ । १. लोकतान्त्रिक गणतन्त्र भन्दा राजाको प्रत्यक्ष र सक्रिय नेतृत्व अन्तर्गतको पंचायत व्यवस्था उन्नत र श्रेष्ठ व्यवस्था हुँदै होइन, तर यिनीहरूले हो जस्तै बनाइदिए ।

मुलुकको राष्ट्रिय एकता र अखण्डताको रक्षा, स्थिरता, विकास र समृद्धिको लागि राजा सहितको निर्वाचित र जनताप्रति उत्तरदायी सरकारको औचित्य हिजो पनि थियो र आज पनि छ ।

तर आफ्ना निजी राजनीतिक र प्रशासनिक महत्वाकांक्षाको लागि राजा महेन्द्रले निर्वाचित सरकार फालेर आफ्नो एक छत्र शासन शुरू गरे ।
एक किसिमले गणतन्त्रको विजारोपण उनैले गरे ।

राजा वीरेन्द्रले आफ्ना पिता महाराजले स्थापना गरेको पंचायतलाई नै कहिले कठोर र कहिले अली उदार जस्तो बनाएर आफ्नो राज्यकाल धाने ।

विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गरेर लामो राजनीतिक प्रशिक्षण समेत प्राप्त गरेका उनले सही समयमा सही निर्णय गर्न नसक्दा मुलुक राष्ट्रिय र अन्तर्राष्ट्रिय षडयन्त्रको केन्द्र बन्न पुग्यो र अन्तत उनले र मुलुकले अप्रिय नियति भोग्न वाध्य हुनुपर्यो ।

राज्य व्यवस्थामा केही सतही सुधार र परिवर्तन ल्याए तर सारभूत रूपमा कुनै सुधार र परिवर्तन आउन दिएनन् ।

२. आफ्ना पिता र दाइ भन्दा अत्यन्त विपरित स्थितिमा ठूलो हत्या र हिंसा चक्रले जन्माएको चरम अन्यौल, असुरक्षा र अराजकताको स्थितिमा राजा हुन पुगेका ज्ञानेन्द्रले सामना गर्नु परेको दवाव र सङ्कटको स्थितिमा मुलुकले निर्वाचित सरकार पाउने अवस्था नरहेको नै हो ।

उनको नियतमा सोझै प्रश्न गर्ने ठाँउ थिएन ।

त्यस अवस्थामा राजा ज्ञानेन्द्रसँगका विकल्प अत्यन्त सीमित भए पनि उनी विकल्प रहित भने थिएनन् तर उनले ती विकल्पहरूमा प्रवेश गर्न चाहेको दॆखिएन ।

त्यसमा उनको बाबु र दाजुको जस्तै महत्वाकांक्षा कति हो र वाध्यता कति हो भनेर बुझ्ने पर्याप्त समय पनि मुलुकले पाएन ।

स्वाभाविक रूपमा बाबु र दाजुको जस्तो बलियो राज्य वैधता नपाएका तर बाबु र दाजुको तुलनामा अत्यन्त जटील र खतरनाक परिवेशमा राजा भएका उनलाई समयले न्याय नगरेकै हो ।

तर के भन्न सकिन्छ भने अन्य धेरै कारणहरू थिए र ती बारे धेरै चर्चा गरिसकियो तर आजको स्थिति आउनमा राजा ज्ञानेन्द्र जिम्मेवार नभएका भने होइनन् ।

३. अवस्था के पनि हो भने, आजका सत्ताधारीहरूले आफ्ना दम्भ र कुशासनद्वारा राजा, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रहरूका सवै अभाव, कमी र कमजोरीहरूलाई छोपिदिए ।

त्यति मात्रै होइन, मुलुकका जे जति स्वतन्त्र नागरिक र वुद्धिजीवी छन् तिनले गिरिजाप्रसाद, शेरबहादुर, ओली,प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र झलनाथहरू भन्दा कीर्तिनिधि विष्ट, मरिचमान सिंह, केशर बहादुर विष्टहरूलाई श्रेष्ठ र महान भनेर देख्न र बुझ्न थाले ।

यिनीहरूले त्यस्तो स्थिति निर्माण गरिदिए ।

के मूल्य र अर्थ रह्यो यिनको लामो सङ्घर्ष, आन्दोलन, बलिदान, जेलनेल, निर्वाशन र त्यागको ?

संविधान बनाउन संविधान सभा जस्तो महान प्रजातान्त्रिक अभ्यास मुलुकले गर्यो तर संविधान निर्माणको क्रममा राजा महेन्द्र र वीरेन्द्रले जति निष्ठा पनि यिनले प्रदर्शन गरेनन् ।

संविधान सभाको नै हुर्मत लिए ।

४. यिनले आफैँ आफ्नो विगतको हत्या गरेका हुन् ।

अलिकता हाम्रो व्यापक नकारात्मक सोच र दृष्टिकोणको असर पनि होला ।

तर जनतामा त्यस्तो नकारात्मक सोच र दृष्टि यिनैले हालिदिएका हुन् –

हिजो राजा विरूद्ध अत्यन्त नकारात्मक भ्रम घृणा र झूठ यिनले फैलाए र त्यसैबाट आफ्नालागि राजनीतिक पूँजी निर्माण गरे ।

आज आफू त्यसैको सिकार भएका छन् ।

राजा विरूद्धको यिनको घृणा, झूठ र भ्रमको राजनीतिक प्रहार आज आफैँतर्फ़ सोझिएको छ ।

यिनको विकल्प खोज्नेले यिनका विरूद्ध त्यही अश्त्र प्रयोग गरिरहेका छन् ।

५. कुनै सम्झौता नै नभएको परियोजनामा ओली, प्रचण्ड र देउवा मिलेर ९ अर्व रकम कमिसन लिएको र झूठो सावित भए झुन्डिन तयार रहेको दावी समेत समेत पूर्व प्रधानमन्त्री रहेका डा. बाबुराम भट्टराईले बताए ।

कमिसन नै नौ अर्व भएको परियोजनाको सम्झौता कतिमा भएको रहेछ ?

कसले ठेक्का पाएको रहेछ ?

कसैले ठेक्का नै पाएको छैन भने कमिसन कसले दियो होला ?

ती प्रश्न कसैले डा. भट्टराईसँग सोधेनन् ।

डा. भट्टराईले पनि त्यो भन्ने आवश्यकता देखेका छैनन् ।

झूठ, भ्रम र नकारात्मक राजनीतिमा समेत विद्यावारिधि गरेको जस्तो लाग्ने उनका कुरामा प्रश्न गर्ने भन्दा पत्याउने धेरै देखिन्छन् ।

यही हो नेपाल !

नेपालका नेता र सत्ताधारी विरूद्ध जसले जे भने पनि पत्याउने अवस्था किन आयो ?

यसको जवाफ अरूले होइन, ओली, प्रचण्ड र देउवाहरूले नै दिनु पर्दछ र उनीहरुले नै खोज्नु पर्दछ ।

किन कि मुलुकको वर्तमान उनीहरूकै नेतृत्वमा छ ।

६. वहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि झन्डै उत्तिकै समयमा १० वर्षको माओवादी विद्रोहको स्थितिका बाबजुद यस अवधिमा भएको विकास र समृद्धि पंचायतको ३० वर्षमा भएको विकास र प्रगतिसँग तुलना नै हुन सक्दैन ।

हरेक क्षेत्रमा पंचायतपछि बहुदलीय प्रजातन्त्रले उल्लेखनीय प्रगति गरेको छ ।

त्यो प्रजातन्त्रकै योगदान हो ।

तर तलदेखि माथिसम्मका नेताहरूको छवि भ्रष्ट भएको, भ्रष्टाचार नियन्त्रण गर्ने बलिया संरचना स्थानीय तहदेखि केन्द्रिय तहसम्म नै नभएका र सोझै भ्रष्टाचार देखेका र भोगेका जनताले आफ्नै आँखाको सामू भएको विकास र प्रगतिलाई पनि देख्न सकेनन्, ती कार्य ओझेलमा परे । धमिलिए ।

७ . राजाको शासन विरूद्ध कहिल्यै नथाकेका यिनैका हिजोका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू आज आएर सोझै सैनिक हस्तक्षेपको वकालत गर्न थाले जबकि त्यो अर्को राष्ट्रिय दुर्घटना बन्ने निश्चित छ ।

त्यो एक गलत हो, दुई गलत हो,तीन गलत हो । सैनिक हस्तक्षेप यो समस्याको समाधान हुँदै होइन !

प्रजातन्त्रको लागि, समाजवाद र साम्यवादको लागि भनेर त्यत्रो जेल, नेल, निर्वाशन र पीडा भोगेकाहरूले, राजाको सट्टा गणतन्त्रको पक्षमा लडेकाहरूले सैनिक शासनको विकल्प सम्म सोच्ने अवस्था आउनु भनेको यी नेता र कार्यकर्ताहरुले आत्महत्या गर्नुपर्ने स्थिति होइन ?

८. यही हो नेपाली जनताको क्रान्ति, सङ्घर्ष, आन्दोलन, जेल नेल र कथित जनयुद्धको पहिचान, परिचय ?

उत्तर कसैसँग छैन । यी त उत्तर दिने हैसियतमा रहेनन् !

यिनले उत्तर दिए पनि कोही पत्याउने वाला छैनन् – किन कि यिनको व्यक्तित्व नै त्यस्तो अविश्वसनीय बनिसक्यो ।

झूठ र सस्तो प्रचार यिनको परिचय बनिसक्यो ।

आफ्नो सम्पूर्ण अस्तित्वमाथि नै , सम्पूर्ण जीवनमाथि नै प्रश्न उठ्ने यो अवस्थामा यिनको पछि लाग्नेले पनि त यो प्रश्नको उत्तर दिनु पर्ने हो तर स्वाभाविकरूपमा तिनको पनि नैतिक हैसियत निर्माण हुनै सकेन ।

सवैभन्दा गम्भीर र पीडादायी कुरो भनेको यो लोकतान्त्रिक गणतन्त्रले लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्नेहरू साराका साराको निष्ठा, स्वाभिमान र विवेकको नै हत्या गरिदिएको छ ।

ती कस्ता देखिन्छन् कस्ता !

९. जनता सामू भ्रष्ट छवि बनाएर बसेकालाई दण्ड दिने राजनीतिक र संवैधानिक क्षमता मुलुकले नराख्ने हो भने नेता र व्यवस्थाको मात्रै होइन, मुलुकको छवि र अस्तित्व नै ध्वस्त हुने अवस्था आउँछ मात्रै होइन आइसकेको बुझिन्छ ।

आजको अन्यौलपूर्ण विश्व र क्षेत्रीय परिवेशमा यो जटील र कठिन रणनीतिक भूगोलमा बसेको सानो आकार र क्षमताको हाम्रो जस्तो मुलुकको स्वतन्त्रता र प्रभुसत्ता सहितको जन चाहनालाई यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिने व्यवस्थाले धान्न नसक्ने प्रष्ट भइसकेको छ ।

१०. त्यसैले ओलीजी, प्रचण्डजी, देउवाजी लगायतकाले पहिला आफैँले आफ्नो छवि सुधार्नु पर्दछ ।

आफ्नो व्यक्तित्वलाई पुनर्निर्माण गर्न सक्नु पर्दछ । आफ्नो घेरा आफैँ तोड्ने हिम्मत गर्नु पर्दछ ।

नयाँ स्पेस आफैँले निर्माण गर्नु पर्दछ । नयाँ राजनीतिक गन्तव्य दिनुपर्दछ मुलुकलाई । यो हिम्मत उनीहरूले नै गर्नु पर्दछ ।

कसैको , कुनै अवतार पुरुषको प्रतीक्षा गरेर बस्ने समय र धैर्य छैन मुलुकसँग । नेपाललाई समय दिने उदार अन्तर्राष्ट्रिय समुदाय पनि छैन हामीसँग ! समय क्रूर बन्दैछ, हाम्रा लागि ।

आफ्ना सवै अभाव, कमी, असक्षमता र हिजो देश र जनता विरूद्ध, आफ्ना विचार र आदर्श विरूद्ध जे जे गरिए अन्तरमनले त्यसको प्रायश्चित्त गरेर र भोली त्यस्तो कसैले गर्न नसकुन भन्नाका लागि बलियो र सक्षम राज्य र संवैधानिक निकायहरू निर्माण गरेर मात्रै त्यस्तो पुनर्निर्माण गर्न सकिन्छ ।

ओठे जवाफ लगाएर र सडकमा र सामाजिक सञ्जालमा आफैँले पालेका कार्यकर्ता उफारेर होइन, स्वतन्त्र र विपक्षीले पनि आफ्नो चरित्रमा प्रश्न गर्ने अवस्था आउन नदिने दायित्व उनीहरूकै हो ।

११. निसन्देह मरिचमान सिंह, किर्तिनिधि विष्ट र केशर बहादुर विष्टहरू योग्य र सक्षम थिए । उनीहरूमाथिको नियन्त्रण र सन्तुलनले पनि उनीहरूको निष्ठा र क्षमतालाई बल दिएको थियो ।

स्वच्छ छविका पनि थिए । तर मरिचमान सिंह, किर्तिनिधि विष्ट र केसरबहादुर विष्टहरू लगायत पंचायतले मन्त्री र प्रधानमन्त्री बनाएका व्यक्तिहरूले देश र जनताकालागि गरेको त्याग र सङ्घर्षको कुनै इतिहास छैन ।

कुनै लेखो छैन । एक किसिमले उनीहरूले राजनीतिक जागिर खान आएका र गएका हुन् । राजनीतिक कर्मचारी मात्रै हुन् उनीहरू ।

१२. तर दुनियाँकै इतिहासमा किर्तिमान राख्ने गरी देश र जनताको लागि त्याग, तपस्या, बलिदान र सङ्घर्ष गरेका व्यक्तिहरूको कार्य क्षमता, निष्ठा, स्वाभिमान र छवि मरिचमान सिंह, किर्तिनिधि विष्ट र केसरबहादुर विष्टहरू सामू किन निकै होचो देखियो त ?

अर्को कुरा ,लोकतान्त्रिक गणतन्त्रका नेताहरूको समग्र व्यक्तित्व नै थिचिएको, मिचिएको, कुल्ची- मिल्ची पारिएको अवस्थाले नेपालको मात्र होइन, संसारकै प्रजातन्त्रको पक्षको सिङ्गो वलिदान र सङ्घर्षको अपमान चाँही भएको हो ।

मरिचमान सिंह, किर्तिनिधि विष्ट र केशर बहादुर विष्टहरूको व्यक्तित्व त्यही ठाउँमा हो , तर ओली देउवा र प्रचण्डहरूको व्यक्तित्व भासिएपछि उनीहरू अग्ला देखिए ।

१३. त्यसलाई उठाउन ओली, देउवा र प्रचण्डहरू बाहेक अरूले सक्दैनन् ! दोस्रो र तेस्रो पुस्ता भनेको त कम निष्ठा र संघर्ष गरेका अन्य कमी कमजोरीमा उनीहरुकै फोटोकपी हुन् ।

१२. १४ वर्ष को कठोर जेल र निर्वाशन, पीडा, यातना र जुनसुकै बेला मारिन सक्ने अवस्थामा, कतैबाट कुनै सुरक्षा र संरक्षण नपाएको र नभएको अवस्थामा पनि पनि देश र जनताकोलागि सम्पूर्ण जीवन समर्पण गरेका पुस्ताको त यो हालत देखियो भने, ब्याक फोर्सको रूपमा माओवादी छापामारहरू र त्यसको पनि पछाडि भारत लगायतका अन्तर्राष्ट्रिय समुदायको आडमा सडकमा टायर बालेर र ढुङ्गा हानेर निर्माण भएको व्यक्तित्व कति टिक्ला ?

१४. युवाहरू प्रतिको अविश्वास होइन, भविष्यको जिम्मा उनीहरुकै हो, तर वर्तमानकै ओली , प्रचण्ड र देउवाहरूको उत्तराधिकारी बनेर आउने युवा पुस्ताले यी भन्दा राम्रो गर्ने क्षमता र निष्ठा नराख्लान, त्यसैले नयाँ र पुनर्निर्माण भएका ओली, प्रचण्ड र देउवाहरूले खनिदिएको नयाँ राजमार्गलाई अझ विकसित र सुरक्षित बनाउन युवा पुस्तालाई सजिलो होस् अन्यथा तिनीहरूका साथ समयले झन् ठूलो व्यङ्ग गर्ने छ भन्ने कुराको झलक केहीले त देखाइसके र केहीले देखाइरहेका छन् नी होइन ?

१५. अन्त्यमा, कसैले भनेका छन् – जब बोल्ने र सुन्नेलाई दुवै पक्षलाई झूठ लागेको कुरा बोलिन्छ त्यस्तो झूठ बोल्नुलाई झूठ मानिन्न । त्यो सत्य मानिन्छ ।

जब हिजो आफूले गरेको भाषण, दावी र सङ्कल्पहरूको अडियो र भिडियो हेर्दा आफैँ नेताहरूलाई हास्य व्यङ्ग सम्मेलनमा सहभागी भएको अनुभव हुन्छ त्यस अवस्थामा कसैले कसैलाई केही भन्नु पर्ने आवश्यकता नै रहँदैन ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसमा को बढी आधिकारिक, निधि कि कोइराला ?

किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?

दल नै राज्य, दल नै राष्ट्र ! दल नै समाज : नयाँ नेपालको साझा पहिचान !

मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विस्तार गर्दा दण्डित नेपाली शासक, भारदार र नेताहरू

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?