७ बैशाख २०८१, शुक्रबार

नेपालमा जल उत्पन्न प्रकोप व्यवस्थापनमा देखिएका समस्याहरु


जल उत्त्पन्न प्रकोप
 ईश्वर थापा
ईश्वर थापा

जल उत्त्पन्न प्रकोप भन्नाले वर्षातको पानी वा अन्य अवस्थाको जलको माध्यमबाट भू-वनोटमा परिवर्तन भई क्षति हुने प्राकृतिक प्रकोप हो । मनसुनी वर्षाको कारण नेपाल उत्पन्न प्रकोपको उच्च जोखीम क्षेत्रमा पर्दछ । नेपालको भू-वनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी वर्षा र जलवायु परिवर्तन आदिका कारणबाट नेपालका विभिन्न नदी नालाहरुका जलाधार क्षेत्रमा पहिरो र भूक्षय बढ्न गई हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ ।

एकातर्फ तराईमा जलाधार क्षेत्रबाट बगेर आएको बालुवा तथा गेग्रान थुप्रिनाले वस्ती र कृषियोग्य जमिन नष्ट भइरहेका छन् भने अर्कोतर्फ पहाडका वेसी, भित्री मधेश तथा तराईनदी किनारा कटान तथा डुवानका समस्याहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । डुवान र बाढी, पहिरो र गेग्रान बहाव, नदि कटान र भूक्षय आदि जल उत्पन्न प्रकोपको स्वरुपहरु हुन् ।

यस बर्ष मात्रै मनसुन शुरु भएदेखि १३० जना भन्दा बढीको मृत्यु र धेरै विस्तापित भएको गृह मन्त्रालयको तथ्यांकले देखाउछ । हरेक बर्ष मनसुन आउँछ र ठुलो मात्रामा धनजनको क्षति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि ब्यबस्थापनमा किन कमजोरी देखिएको छ भन्ने प्रश्न उठेको छ । नेपालमा बर्षा सुरु भएदेखि नै जलजन्य बिपद्का घटनाहरुबाट धनजनको क्षति हुन शुरु हुन्छ । सरकारी तबरबाट जतिसुकै पूर्वतयारी र जल उत्पन्न प्रकोप ब्यबस्थापनको कार्य गरिएतापनि बिपद्बाट भएको क्षतिको अबस्था र तीब्रता हेर्दा कतै न कतै योजना तर्जुमा र कार्यन्वयनमा विशिष्टकृत जोड र गाम्भिर्यताको अभाब भएको कुरामा विज्ञहरुको मत रहेको छ ।

सर्बप्रथम विपद् जोखिम व्यवस्थापन चक्रलाई बुझ्न जरुरी देखिन्छ । सबै प्रकारको विपद् जोखिम व्यवस्थापन चक्रमा पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ र न्यूनीकरण गरी प्रमुख ४ वटा अवस्थाहरु रहेका हुन्छन् । जल उत्पन्न प्रकोप विपद व्यवस्थापन चक्रको हरेक अबस्थामा सरकारको भूमिका फरक-फरक रहेको हुन्छन् । सरकारी तबरबाट बिभिन्न प्रयासहरु भएतापनि प्रयाप्त मात्रामा नपुगेको अबस्था छ । पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ र न्युनिकरणको क्षेत्रमा अझै धेरै बिशेष कार्यहरु गर्नुपर्ने यथार्थलाइ सबैले स्विकार्नु पर्दछ । नेपालमा जल उत्पन्न प्रकोप व्यवस्थापनमा संस्थागत, संरचनागत र समर्पित बिज्ञ कर्मचरीको समस्याहरु रहेको छ। बर्तमान अबस्थामा नेपालमा जल उत्पन्न प्रकोप ब्यबस्थापनमा देखिएका समस्याहरु तल प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

१. पूर्वतयारी

जल उत्पन्न प्रकोप विपद् व्यवस्थापनको लागि योजना तर्जुमा गर्नु र विपद् भएको खण्डमा के कसरी प्रतिकार्य गर्ने भन्ने भूमिका सरकारको रहन्छ । यसमा पूर्वतयारी योजना, आपतकालिन तालिम, जल प्रकोपको पूर्व सुचना आदि पर्दछन् । बाढीको पूर्व अनुमान र सूचना जल तथा मौसम विभागले दिने गरेतापनि पहिरो, भूक्षय र गेग्राहन वहाबको पूर्व सूचना र अनुमानमा कार्यका लागि अहिले सरकारको कुनै आधिकारिक निकाय छैन । जल उत्पन्न प्रकोप व्यवस्थापन बिभागले धेरै मात्रामा आर्थिक वर्ष २०७४/७५ सम्ममा यस सम्बन्धि कार्य गर्दै आएतापनि आर्थिक वर्ष २०७५/७६ बाट यो निकाय खारेज भई जल तथा सिचाई विभागको एउटा महाशाखाको रुपमा सीमित हुन पुगेको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन बिभागको अत्यन्त आवश्यक हुँदाहुँदै पनि खारेजीमा पेरेकोले जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि पुर्ब तयारीको कार्यको नै अभाब रहेको छ ।

२. प्रतिकार्य

आपतकालिन प्रतिक्रियाको उद्देश्य जीवन रक्षा, स्वास्थ्य सुधार र प्रभावित जनसंख्याको मनोबल समर्थन गर्न तत्काल सहयोग प्रदान गर्नु हो । जल उत्पन्न प्रकोप विपदको प्रतिकार्यमा गृह मन्त्रालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र गैह्रसरकारी स्वयम् सेवकहरु परिचालित हुन्छन् । यस अबस्थाको मुख्य कार्य भनेको खोज तथा उद्दार र आपतकालीन राहात वितरण गर्नु हो । आवश्यक मात्रामा विपद व्यवस्थापन तालिमको अभाव र खोज तथा उद्दारमा प्रयोग हुने सामाग्रीहरु स्थानीय तह, समुदायमा प्रयाप्त मात्रामा नहुँदा समस्या आईरहेको छ ।

३. पुनर्लाभ

विपदको अबस्थाबाट समुदय सामान्य अबस्थामा नाफर्कदा सम्म यो पुनर्लाभ जारी रहन्छ । पुनर्लाभ उपायहरू, दुबै छोटो र लामो अवधि, महत्वपूर्ण जीवन-समर्थन प्रणालीहरूलाई न्यूनतम चालु मापदण्डमा फर्काउने समावेश गर्दछ । अस्थायी गास, बासर कवासको व्यवस्था, स्वास्थ्य सुरक्षा र शिक्षा; पुनर्निर्माण; परामर्श कार्यक्रमहरू र आर्थिक प्रभाव अध्ययन कार्यहरु यसभित्र पर्दछन् । जल उत्पन्न बिपद्बाट पिडित जनताहरु लामो समयसम्म न्युनतम आधारभुत आवश्यकताहरुवाट बन्चित रहेका धेरै उदाहरणहरु छन् ।

४. न्यूनीकरण

न्यूनीकरण क्रियाकलापले वास्तवमा प्रकोप हुने सम्भावनालाई हटाउँछ वा कम गर्दछ । न्यूनीकरण उपायहरूमा जल उत्पन्न प्रकोप नक्साकन, पहिरो, बाढी जोखिमअध्ययन, भूमि उपयोग व्यवस्थापन, जमिनको उकास, पहिरो, नदि कटान र भूक्षय रोकथाममा संरचनात्मक कार्यहरु, पूर्वसूचना बिस्तार र खोज आदि पर्दछन् । न्यूनीकरण राष्ट्रिय र क्षेत्रीय विकास योजनामा समुचित उपायहरुको संलग्नतामा निर्भर गर्दछ । न्यूनीकरण चरण, र वास्तवमै सम्पूर्ण प्रकोप व्यवस्थापन चक्रले सार्वजनिक नीति र योजनाहरूको आकार समावेश गर्दछ; जसले या त विपत्तिको कारणहरूलाई परिमार्जन गर्दछ वा मानिस, सम्पत्ति र पूर्वाधारमा उनीहरूको प्रभाव कम गर्दछ । जल उत्पन्न प्रकोप विपद व्यवस्थापनमा न्यूनीकरण अति नै महत्व रहेपनि नेपालमा यस कार्य गर्दै आएको निकाय जल उत्पन्न प्रकोप व्यवस्थापन बिभागको आर्थिक वर्ष २०७५/७६ बाट खारेजी पछि ठुलो समस्या देखिएको छ जसले गर्दा समग्र विपद व्यवस्थापनको चक्र नै अपूर्ण हुन पुगेको छ ।

तसर्थ, नेपालमाजल उत्पन्न प्रकोपको विपदबाट बर्षेनी ठुलो धनजनको क्षति हुदै आएतापनि केन्द्र, प्रदेश र स्थानीय तहमा यसको न्यूनीकरण र व्यवस्थापनको लागि कुनै पनि निकाय र भूगर्भविद, पहिरोबिज्ञ र अन्य प्राविधिकहरुको व्यवस्था नहुनु ठुलो समस्याको बिषय रहेको छ । समग्र जल उत्पन्न प्रकोपको जोखिमबाट हुने क्षतिलाई कम गर्न र दिर्गकालिन व्यवस्थापन गर्ने संघ र प्रदेश स्तरमा छुट्टै विशिष्ट निकाय हुनु अनि नै आवश्यक रहेको छ । यसको साथै जल उत्पन्न प्रकोपको क्षत्रमा काम गर्न समर्पित बिज्ञ कर्मचरीहरु जस्तै भूगर्भविद्, पहिरोबिज्ञ, बाढी बिज्ञ, जलबिज्ञ र अन्य प्राविधिकहरुको व्यवस्था गरी समग्र देशमा जल उत्पन्न प्रकोपको जोखिम कम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको छ ।

ईश्वर थापा नेपाल सरकार, ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेड, नयाँ वानेश्वरमा कार्यरत ईन्जिनियरिङ भूगर्भविद् हुन् ।

यो पनि पढ्नुहोस्

आखिर जीवनको खुसी के मा रहेछ त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !