६ बैशाख २०८१, बिहिबार

होटल संघले पोखराको लेकसाइडमा भाइटिका महोत्सव गर्ने


असोज २७, कास्की | पश्चिमाञ्चल होटल संघ पोखराले विगत वर्षहरुमा झै यसपटक पनि ११ औं भाइटिका महोत्सव २०१७ आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित लालुपाते मार्गमा अवस्थित वटरफ्लाई चाइल्डक केयर सेन्टरको परिसरमा तिहारको टिकाको दिन  कात्तिक ४ गते यो महोत्सव आयोजना हुन लागेको हो । महोत्सव अपरान्ह ३ बजे आरम्भ हुने छ ।

 नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरु विच आपसी भाइचाराको सम्वन्ध विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतीलाई परिचित गराउँदै संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले यो महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । गत वर्ष आयोजित दशौं भाइटिका महोत्सवमा १५ देशका ५५ पर्यटकले भाग लिएका थिए । महोत्सवमा भाइटिका लगाउन दोहोर्याएर समेत पर्यटक आउने गरेको महोत्सवका सहसंयोजक केशवराज पहारीले जानकारी दिए । यो पटक संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका अवसरमा सहभागी पर्यटकलाई नेपाली परम्परा अनुसार टिका लगाएर उपहार प्रदान गरिने छ भने पर्यंटकले पनि उपहारहरु प्रदान गर्ने छन् । महोत्सवका अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रम पनि समावेश गरिने छ । सेलरोटी र अन्य परिकारको स्वाद पर्यटकले चाख्न पाउने छन् । नेपाल पर्यटन वोर्डले महोत्सवको प्रवद्र्धन गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पार्दै गएपछि महोत्सवलाई निरन्तरता दिंदै आइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । महोत्सवमा उल्लेख्य मात्रामा स्वदेशी तथा विदेशी पर्यटकले भाग लिने अपेक्षा गरिएको उनले सुनाए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !