११ बैशाख २०८१, मंगलबार

रविन्द्र मिश्रको कविता – बुलेटप्रुफ गाडीमा दासढुङ्गा जाँदा


 रविन्द्र मिश्र
रविन्द्र मिश्र

जेठ ३, काठमाडौँ । साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले मदन आश्रित स्मृति दिवसमा कविता सामाजिक संजालमा सेयर गरेका छन् । आज जीवराज आश्रितसँगै मदन भण्डारीको दासढुङ्गामा निधन भएको दिनमा दुबैप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै केही समयअघि मदन भण्डारीको स्मृतिमा लेखेको कविता अर्पण गरेका छन् ।

बाइरोडको बाटोमा
बुलेट प्रुफ गाडीमा यात्रा गर्दै गर्दा
म भाग्यले कोरेको भाग्यका बारे
गमिरहेँ

धेरै अघिको कुरा हो
सस्तो धोति-चोलोमा
बेरिएकी म
लिखुरी ख्याउटी थिएँ
आँखामा जुन थिएन
अनुहारमा घाम थिएन
कलेटी परेको ओठमा
लालीको लेश थिएन

अरूको गहना हेर्थेँ, सारी हेर्थेँ,
घडी हेर्थे, जुत्ता हेर्थेँ
सोच्थेँ — तिनै सामन्तीले गर्दा
मेरो यो हाल छ
चप्पल खिइएर कुर्कुच्चामा प्वाल छ

लाग्थ्यो, मोटाघाटा सब शत्रु हुन्
राम्रा लाउने सब पत्रु हुन्
मेरो पसिनाका दुश्मन हुन्
मेरो आत्माका पीडक हुन्
मस्तिष्कका कीरा हुन्
पैंतालाका काँडा हुन्
तिनले मलाई हाँस्न दिन्नन्
रहरले बाँच्न दिन्नन्
सोच्थेँ — तिनैले गर्दा
मेरो यो हाल छ
चप्पल खिइएर कुर्कुच्चामा प्वाल छ

लाग्थ्यो, अरू धेरै वर्ष लड्नु पर्छ
नाङ्गो खुट्टा हिँड्नु पर्छ
जेलको चिसो छिँडीमा
मृत्यु नि वरण गर्नु पर्छ
तर ती लडे, छिटै ढले
सर्वाहारा सबै मुक्त भए

आज मेरो गलामा
अरबी शेकाको हार छ
हातमा हिराको उपहार छ
सन्तानको पुष्ट छातिमा
देशले दिएको सम्मान छ
कहिल्यै सोचेकी थिइन
यो दिन आउला भनेर
कहिल्यै सोचेकी थिइन
बुलेटप्रुफ गाडीमा दासढुङ्गा
जाउँला भनेर

कहिँ कतै बसेर हेरेका छौ भने
खुशी हुनु, ख्वामित
तिम्रा कारण
हाम्रो त सबै सपना पुरा भयो

तर बुझ्नै सकिन मैले‍
तिमीलाई माल्यार्पण गर्न खोज्दा
चलेको हावाले
तिम्रो तस्बिर किन हल्लाईदियो
र, फेरि किन तिमीलाई
त्रिशुलीमै झारेर बगाईदियो?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !