११ बैशाख २०८१, मंगलबार

बन्दाबन्दीमा भिडियो सम्मेलनमार्फत मासिक कवि गोष्ठी


साहित्यिक संस्था

काठमाडौँ, २८ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न डेढ महिनादेखि जारी बन्दाबन्दीका बेला मासिकरूपमा गरिने कवि गोष्ठीसमेत भिडियो सम्मेलनमार्फत हुन थालेको छ ।

अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित बाहुनधारामा मासिकरूपमा साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको थियो । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण भिडियो सम्मेलनमार्फत मासिक साहित्यिक शृङ्खला गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो ।

विसं २०५७ फागुन २५ गते शनिबारदेखि शुरु भएको मासिक साहित्यिक शृङ्खलाको शनिबार २१९औँ महिनाको कार्यक्रम थियो । कोरोनाबाट बच्न हलमा जम्मा भएर कविता वाचन गर्न नसकिने भएकाले भिडियो सम्मेलनबाट कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा ‘घुम्ती कवि गोष्ठी अभिनव’ नामक समूह बनाएर त्यसमार्फत भिडियो सम्मेलन गरिएको हो ।

साहित्यकार पारिजातको १७औँ स्मृति दिवस एवं ८४औँ जन्मजयन्तीको अवसर पारेर वैशाख महिनाको साहित्य शृङ्खला आयोजना गरिएको थियो । कार्यक्रममा ३५ कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो । बमबहादुर थापा ‘जिताली’, भाग्यशाली अधिकारी, पिताम्बरा काफ्ले, ओम खनाल, परशुराम पराशर, घनश्याम प्रसाइँ, मानन्धर अभागी, प्रदीपरत्न शाक्यलगायतले भिडियो सम्मेलनमार्फत कविता वाचन गर्नुभयो ।

विगत वर्षमा पारिजात स्मृति दिवसका अवसरमा वैशाख महिनाको अन्तिम शनिबार आयोजना गरिने मासिक शृङ्खलाका अवसरमा पारिजात स्मृति पुरस्कार वितरण गर्ने गरेकामा यस वर्ष बन्दाबन्दीका कारण स्थगन गरिएको समाजले जनाएको छ । यस वर्षको पुरस्कारसमेत अर्को वर्ष प्रदान गरिने जनाइएको छ । पुरस्कार समाजले नै स्थापना गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !