११ बैशाख २०८१, मंगलबार

कथा – लकडाउन खुल्दा


सवारीसाधन मार्ग
सरोज मरासिनी
सरोज मरासिनी

भोली लकडाउन खुल्ने भन्ने सरकारको निर्णयले खुशीको सीमा रहेन । कोभिड-१९ ले घरमै बन्दी बनाएर राखेको आज ठिक २ महिना पूरा भएको थियो । टेलिभिजन, अनलाइन न्युज, सामाजिक सन्जाल सबैतिर यस विषयकै चर्चा थियो । करागारमा बन्दी रहेको कैदी समयावधि समाप्तिसँगै छुट्नु अघिको खुशी मिलेको आभाष भइरहेको थियो ।

समाजिक सन्जाल पनि राम्रैसँग तातेको थियो । सबैले युद्ध नै जिते जस्तो गरी मनका कुराहरु पोखिरहेका थिए । सबैमा एक किसिमको स्फूर्ति थियो । कोहि भोलि विहान विभिन्न ठाउँबाट लाइभ दिने तयारीमा थिए ।

अर्को दिन बिहान ६ बजे उठेर उज्यालो नाइन्टि नेटवर्कमा नेपाल खवर सुन्दै वाथरुमतिर लागे । बिहानको विविध कर्म सकी ७ बजे ब्ल्याक कफी पिएँ । गुल्मेली कफी ।

खाना खाएर अफिस जानु थियो । एकछिन मोवाइल चलाउन लागेँ । सन्जालमा हल्ला गर्नेहरुको रमिता हेर्न पनि रमाइलै हुन्थ्यो । कतिपय युट्युबरहरु सडकमा निस्केर फेसवुक लाइभ दिन थालिसकेका थिए । सडकहरु व्यस्त हुन थालेका थिए । मानिसहरुको भिडभाड बढ्दै थियो । जर्नी टु यार्सामा पुपालबाट मानिसहरुलाइ छोड्दाको दृश्य सडकमा देखिएको थियो ।

सरकारी निजी कार्यालयहरु आजैबाट खुल्ने सूचना आइसकेको थियो । सवारी साधन चल्न सुरु भैसकेको थियो । मानिसहरु गन्तव्यमा जान तम्सिदै थिए । यस्तो लाग्दै थियो विपद ६० दिनका लागि आएको थियो । जसको हिसाब हिजोसम्म बाँकी थियो । आजबाट हिसाब सकियो ।

९ बजे खाना खाएर म पनि अफिस जान भनि घरबाट निस्केँ । घरदेखि अफिससम्म पैदल हिडेर २५ मिनेटमा पुगिन्थ्यो । नजिकैको सानो बजारमा मानिसहरुको चहलपहल थियो । त्यहाँ किराना, तरकारी पसल, होटल, सैलुन, मेडिकल लगायतका पसलहरु थिए । चोकको आम्मे साम्नेमा रहेका सैलुन र ब्युटि पार्लरमा पुरुष र महिलाको भिड थामिन सक्नु थियो । पुरुषहरुलाई १/२ महिना कपाल नकाट्दा पनि खासै समस्या हुदैन । तर यो लकडाउनले महिलाहरुलाई निकै समस्या पारेको ठम्याउन सकिन्थ्यो । लाइनमा बसेकाहरुको अनुहार हेर्न लायक थियो ।

अलि पर पुग्दा १ जना मान्छे मोटरसाइकल स्टार्ट गर्दै रहेछ । धेरै दिन आराम गरेको मोटरसाइकल गुड्नै मानेको थिएन । मानिस पसिनाले निथ्रुक्कै भिज्यो । कोहि मोटरसाइकल, कोही स्कुटर त कोहि गाडी स्टार्ट नभएर तनावमा भएका यस्ता दृश्य धेरै देखिन्थे ।

म हाइवेमा पुगेँ । लामो र छोटो दुरिका सवारी साधन उल्लेख्य मात्रामा थिए । सार्वजनिक यातायात सदा झैँ यात्रुहरूले खचाखच भरिएका थिए । उपत्यका छोडेर गएकाहरु फर्कदै थिएँ ।

कति त लामो समय साथीभाइसँग भेटघाट गर्न नपाएर छट्पटी भएकाहरु पनि थिए । १ जनाले फोनमा भन्दै थियो -“यताबाट अनिष र म आउछौ । त्यहि पुरानै ठाउँमा जम्मा हुने । साँझ कता बस्ने हो तिमीहरु प्लान बनाउदै गर ।”

कोहि डेटिङ जाने चटारोमा थिए । “डार्लिङ ठिक ११ बजे सातदोबाटो आउ । गोदावरी जानुपर्छ । त्यहा त्यति भिडभाड हुदैन । ” १ जनाले फोनमा बोलेको सुनियो ।

बाटोमा आज अनुभव गरेका क्षणहरु पहिलेका भन्दा केही पृथक लागिरहेको थियो । सायद पहिले यस्ता कुरामा वास्ता नगरेको भएर पनि हुन सक्छ । म १० नबज्दै अफिस पुगे । धेरैजना आइसकेका थिए । अरुबेला ढिला आउनेहरु पनि आज समय अगावै देख्दा आश्चर्य लाग्यो । लकडाउन र कोरोना सम्बन्धि सबैले आ-आफ्ना अनुभूति सुनाउन लागे ।

१ जनाले भन्दै थिए -“कोरोना महामारीले युरोप अमेरिकामा अत्यन्तै ठूलो क्षति पुर्यायो । अपवाद बाहेक सबै देशमा फैलियो । विश्वमा लाखौं मानिस मर्दा समेत नेपालमा भने एक जना पनि कोरोनाबाट मर्नुपरेन । मानवीय गतिविधिहरु पनि अरु देशको तुलनामा छिट्टै पूर्ववत् अवस्थामा आए । कतै पशुपतिनाथको शक्तिले त यो संभव भएको हैन जस्तो पनि लाग्छ ।” पछाडिबाट कसैले नेपालीको खानपान पनि यसको कारण रहेको थप्दै भनाईमा सहमत जनाए ।

अर्का एकजनाले व्यङ्ग्य गर्दै भने -” कोरोनाले गर्दा नेपालका नेताहरुलाई चाहिँ फाइदै भयो । काठमाडौंलाई धुलो र धुवामुक्त बनाउँछौ भनेर बाचा पूरा गर्न सकेका थिएनन् । अहिले केही समय भएपनि धुलो धुवामुक्त गरे त ।” हा ! हा ! हा ! एकछिन हाँसो गुन्जियो ।

म आफ्नो कार्यकक्षमा प्रवेश गरे । कुर्सीमा बसेर कम्प्युटर अन गरे । फेसबुकमा एउटा स्टाटस पोस्ट गरे -“विकासको नाममा मानिसले प्रकृतिको दोहन गरेको रहेछ । यसलाइ लुटेको रहेछ । प्रकृतिलाइ कुरुप बनाउने मानिसका गतिविधिहरुलाइ लकडाउन गरिनुपर्छ “। सेवाग्राहीको भिडभाड बढ्दै थियो।

स्वास्थ्य शाखाका साथिहरु ज्वरो जाँच गर्दै हिडेका रहेछन् । मेरो पनि जाँच्नु पर्यो भनी अनुरोध गरेँ। मेरो १०२ डिग्री फरेन्हाइट देखाएछ । मैले विश्वास नै गरिन । उनीहरु आत्तिए । मलाइ छुट्टै कोठामा लगेर राख्ने निर्णय भएछ । मैले नमानेपछि मलाइ वेहोस पारेर लगियो ।

कसैले ढोका खोलेको आवाजले ब्युझिएँ ।

अगाडिबाट एकजना नर्स मतिर आउँदै थिइन् । मैले आत्तिएर सोधेँ -“म कहाँ छु ? कसरी यो अवस्थामा ?”

उनले भनिन् -“नआत्तिनुस ! अब तपाईको होस आइसकेको छ । खुरुखुरु घरमै नबसेर किन डुल्दै हिड्नुपरेको तपाइँलाई ? नियम पालना गरेको भए यो अवस्था आउँदैनथ्यो प्रहरीले पनि हान्न त ढाडमा खोजेको रहेछ । झुक्किएर टाउकोमा लाग्न पुगेछ ।”

मेरो के दोष थियो र सिस्टर ? लकडाउनको अवधि समाप्त भएको खुशी मनाउन नपाउँदै सरकारले लकडाउनको अवधि पुन थप्यो । अर्को दिन साँच्चिकै सबैजना घरभित्रै बसेका होलान त भन्ने उत्सुकताले बाहिर निस्किएँ । सबैतिर सुनसान थियो । सधैं धुलो धुँवा र कोलाहलले आक्रान्त हुने शहरका ठाउँहरु स्वच्छ सफा र सुन्दर थिए । कहिले नदेखिने हिमालका दृश्य देखिन थाले । यति आकर्षक र चिल्ला सडक मैले आजसम्म देखेको थिएन । यस्तै आकर्षक र अद्भुत दृश्यहरु मोवाइलमा कैद गर्ने लोभले म शहरका विभिन्न स्थानमा डुल्दै थिएँ । म सुनसान शहरको निकै अगाडि पुगिसकेको थिएँ । निकै रमाइरहेको थिएँ । एक्कासी कताबाट प्रहरी आइपुग्यो पत्तै भएन ।

म आजै घर फर्किन पाउँछु त सिस्टर भनी सोधेको मात्र के थिएँ, डाक्टरको प्रवेश भयो । डाक्टरले भने-” उहाँको होस पनि आएछ । अब करिब १४ दिन आइसोलेसन कक्षमा राखि कोरोना परीक्षण सक्किएपछि मात्र घर पठाउने व्यवस्था गर्नुस है सिस्टर” । त्यति भनी डाक्टर निस्के । म हेरेको हेर्यै भएँ ।

*सरोज मरासिनी साहित्यकार हुन् ।

यो पनि पढ्नुहोस् 

कथा – अमेरिका यात्रा

कविता – स्थानीय तहको अधिकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !