१२ बैशाख २०८१, बुधबार

डा. अधिकारीको ‘सञ्चार सिद्धान्तीकरण’ पुस्तक लोकार्पण


‘सञ्चार सिद्धान्तीकरण’ पुस्तक लोकार्पण

मंसीर ११, काठमाडौँ । डा. निर्मलमणि अधिकारीद्वारा लिखित ‘सञ्चार सिद्धान्तीकरण’ नामक पुस्तक बुधबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको हो । सञ्चारयोग मिडिया प्रा.लि.द्वारा प्रकाशित पुस्तकको लोकार्पण आमसञ्चार तथा पत्रकारिताका गुरुहरू प्राध्यापक रामकृष्ण रेग्मी, पीयूष मिश्र र श्रीरामसिंह बस्नेतले संयुक्त रूपमा गरेका हुन् ।

यो लेखक अधिकारीको ४५ औँ पुस्तक हो । ४२ बर्षको उमेरमा लेखकले ४५ वटा पुस्तक लेखेका छन् । पुस्तकमा उहाँका तीनै गुरुहरू लगायत परशुराम खरेल र लालध्वज देउसा राईको जीवनी पनि समेटिएको छ । नेपालमा आमसञ्चार तथा पत्रकारिताका गुरु पुस्ताको सम्मानमा सञ्चार सम्बन्धी पुस्तक लोकार्पण भएको छ । लेखकले उक्त पुस्तकलाई आफ्ना गुरुहरूप्रति सम्मानका रूपमा गुरुदक्षिणा रहेको बताए ।

उक्त पुस्तकका बारेमा बोल्दै प्राध्यापक रेग्मीले उक्त पुस्तक आमसञ्चार तथा पत्रकारिताका विद्यार्थीहरूले पढ्नैपर्ने र यसले नेपाली प्राज्ञिक क्षेत्रलाई उच्च बनाउने बताए । कार्यक्रममा बोल्दै श्रीरामसिंह बस्नेतले लेखकको गहन रूपमा पढ्ने बानी, निरन्तर लेख्ने र यथोचित व्याख्या गर्ने खुबीको प्रशंसा गर्दै यसरी नेपाली विद्वानका पुस्तक विदेशमा समेत पढिने गरेकोमा गौरवान्वित भएको बताए । उक्त कार्यक्रममा पीयूषराज मिश्रले यस पुस्तकले सञ्चारको सैद्धान्तिक छलफलमा अधिकारीद्वारा प्रतिपादित सिद्धान्तले थप आयाम दिएको बताए ।

काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक सुधांशु दाहालले सञ्चारलाई सिद्धान्तीकरण गर्नु गहन काम भएको र पूर्वीय शास्त्रमा आधारित सिद्धान्तबारे पुस्तक रहेको बताए। काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक सुदर्शन प्रसाद दाहालले यस पुस्तकमा गुरुहरूप्रति समर्पित अलग्गै खण्ड र पश्चिमेली सिद्धान्तसँगको तुलनात्मक अध्ययनबाट आफू प्रभावित भएको बताए ।

डा. निर्मलमणि अधिकारी जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष हुन् । २०३३ जेठ महिनामा तनहुँ जिल्लाको छाङमा जन्मिएका अधिकारीले सञ्चार सिद्धान्त र मीमांसा दर्शनमा पिएचडी गरेका हुन् । काठमाडौं बिश्वबिद्यालयमा सह-प्राध्यापकको रुपमा बिगत १३ बर्षदेखि सञ्चार अनुसन्धान बिषयमा प्राध्यापन गर्दै आउनुभएका अधिकारीका आमसञ्चार, दर्शन, साहित्य, संस्कृति र राजनीति बिषयमा पुस्तकहरु प्रकाशित छन् । उनी वैदिक परम्पराका ग्रन्थहरूमा अन्वेषण र प्राज्ञिक अनुसन्धानमा क्रियाशिल छन् ।

सञ्चार सिद्धान्तीकरण’

यो आम सञ्चार तथा पत्रकारिताको विद्यार्थीले अध्ययन गर्नैपर्ने पुस्तक हो । १४६ पृष्ठ रहेको उक्त पुस्तकको मुल्य २५० रुपैया रहेको छ । उक्त पुस्तक सञ्चारयोग मिडियाको सम्पर्क कार्यालय जमलमा ५० रुपैयाँ छुटमा किन्न पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !