८ बैशाख २०८१, शनिबार

मानक नेपाली भाषा अभियानलार्इ अर्को सफलता !!


nepalpatraletter

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललार्इ त्रिवि शिक्षा संकाय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष प्रा.डा. पारसमणि भण्डारीले एक पत्र लेखि अमानक नेपाली वर्णविन्यास खारेज गरिएको जानकारी  प्राप्त भएको छ ।
त्रिवि शिक्षा संकाय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिको पत्रः-

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गतको नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय स्थायी समितिको मिति २०७३-९-८ मा बसेको बैठकबाट नेपाली वर्णविन्यास सम्बन्धमा नेपाली शिक्षा विषयका स्नातक, स्नातकोत्तर र विद्यावारिधि सबै तहका शिक्षण, प्रशिक्षण, पठनपाठन, प्रतिवेदन लेखन तथा शोधकार्यमा समेत अमानक र विवादित वर्णविन्यासको प्रयोग नगरी निम्नलिखितअनुसारको मानक वर्णविन्यास प्रयोग गर्ने निर्णय गरियो ।

(क) श्रुतिसमभिन्नार्थक शब्द (फूल–फुल, पुरा–पूरा, तीन–तिन आदि) लाई दीर्घ नै लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने ।
(ख) जाति, थर बुझाउने शब्दका अन्तिमको उकार दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने ।
(ग) इच्छार्थक/आज्ञार्थक क्रिया (जाऊन्, भनून्, खाऊ आदि) लाई दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने ।
(घ) जाति, थर बुझाउने शब्द (शाह, शेर्पा, शेरचन आदि) मा तालव्य ‘श’ पनि लेख्न सकिने ।
(ङ) नाम र थरका बीचमा आउने मध्यवर्ती नाम (राज, मणि, प्रसाद, कुमारी, देवी आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने ।
(च) रूढ अर्थमा प्रयोग हुने समस्त शब्द (विश्वविद्यालय, भाषाविज्ञान, पानीजहाज, विराटनगर, ललितपुर, कीर्तिपुर आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने ।
(छ) लामा वा छोटा सबै नामयोगी (सित, सँग, माथि, अनुसार, बाहेक आदि) लाई पदयोग गरी लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने । व्यञ्जनान्त द्वयक्षरी र सोभन्दा बढी अक्षरका नामयोगीलाई पदवियोग गर्ने भन्ने कुरा मान्य नहुने ।
(ज) अक्षरगणना, स्वरान्त तथा व्यञ्जनान्तजस्ता त्रुुटिपूर्ण आधारमा शब्दलाई लामा र छोटा गरी पदवियोग गर्न नमिल्ने (शिक्षामन्त्रीलाई जोड्ने तर प्रधानमन्त्रीलाई छुट्ट्याउने भन्ने कुरा मान्य नहुने) ।
(झ) दुई शब्दबाट बनेका सबै समस्त शब्द (शुभयात्रा, शुभकामना, दृश्यचित्र, रेखाचित्र आदि) लाई पदवियोग गरी लेख्न नमिल्ने, पदयोग गरेर नै लेख्नुपर्ने । दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्द (गाँस बास कपास, मन वचन कर्म, तन मन धन) लाई समास नगरी गा“स, बास र कपास; मन, वचन र कर्म; तन, मन र धन आदिलाई पदावलीका रूपमा प्रयोग गर्नुपर्ने ।
(ञ) द्वित्व शब्दमा सार्थक शब्दको नै आवृत्ति भई तिनले विशिष्ट अर्थ प्रदान गर्ने हुँदा द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी वर्गीकरण नगरी सबै किसिमका द्वित्व शब्दलाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने (घरघर, घरसर, पानीपानी, पानीसानी आदि) ।
(ट) संयुक्त क्रिया (जानुपर्छ, आउनुहोस्, हेरिरहन्छ, पढिहाल्छ आदि) लाई पदवियोग गर्न नमिल्ने, पदयोग गरी ह्रस्व लेख्नुपर्ने ।
(ठ) संयुक्त व्यञ्जनलाई खुट्टा काटेर (विद् या, विद् वान्, द् वन्द् व, बुद् ध, शुद् ध, उद् धार आदि) लेख्न नमिल्ने, प्रचलनअनुसार (विद्या, विद्वान्, द्वन्द्व, बुद्ध, शुद्ध, उद्धार आदि) नै लेख्नुपर्ने ।
(ड) क्षतिपूर्ति दीर्घीभवन र सङ्ख्यावाची शब्दको ह्रस्वीकरण गर्नेलगायत नेपाली वर्णविन्यास सम्बन्धमा हाल देखिएका सबै खाले विवादहरूबारे प्रयोक्ता र आम सरोकारवालासँग व्यापक छलफल गरी प्राप्त हुने निष्कर्षलाई मानक वर्णविन्यास मानी विश्वविद्यालय तहको शैक्षणिक प्रक्रियामा समावेश गर्नुपर्ने ।

…………………………….
(प्रा.डा. पारसमणि भण्डारी)
अध्यक्ष
नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समिति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !