साहित्य भनेको देश र मानिसको विकासको सुन्दर ऐना हो – साहित्यकार काफ्ले खतिवडा

पेशाले सामुदायिक माध्यमिक विद्यालयकी शिक्षक शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता पनि हुनुहुन्छ । सिन्धुलीको चपौले भन्ने सुन्दर ठाउँमा जन्मिएकी शोभा शिक्षण र साहित्यिक क्षेत्रका साथै समाज सेवाको क्षेत्रमा पनि निक्कै चासो लिनु हुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा समसामयिक लेख, रचनाहरु र कविताहरु प्रकाशित गर्दै आउनु भएकी शाेभाले “विश्व नारी नेपाली साहित्य सम्मान”, “सत्यमोहन जोशी साहित्य सम्मान” र “भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह सम्मान” प्राप्त गर्नु भएकाे छ । उहाँ सरल, सकारात्मक साेंचकी, मिलनसार, स्पष्टवक्ता, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न रुचाउनु हुन्छ । उहाँले विद्यालयका बालबालिकाहरुको उज्वल भविष्यका लागि र राष्ट्रको पनि भोलिका सक्षम युवाको चाहना पुरा गर्ने खालका नँया युवा पुस्ताहरु निस्किउन भनेर तिनिहरु सबैमा शिक्षाको माध्ययमवाट निक्कै प्रोत्साहन गर्दै आउनु भएको छ । अरुको निराश भएको मनलाई कोही उत्कृष्ट मानिसको उदाहरण नै उर्जाको रुपमा उदाहरण दिएर राष्ट्रको लागि केहि गर्ने विद्वान र उर्जावान नागरिक तयार हुनुपर्छ भनेर समाज सेवामा यसरी पनि लागिरहनु भएको छ । उहाँ एकछिनमै कविता रचना गर्न सक्ने वहुतै प्रतिभाशाली साहित्यकार पनि हुनुहन्छ । जे सोचेर मन भावुक बनेर कविता लेख्न बसेपनि तत्कालै आफ्नो सामुन्ने र मनमा देश आउँछ र देशैको समृद्दिको चाहना कोर्न मन लाग्छ । उहाँको आज हरेक नागरिक रोजगार विहीन नहुन भन्ने चाहना छ ।

उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाले धेरै नेपालीको मन जितेका छन । उहाँले केहि बर्षदेखि अनवरत रुपमा देशको विकास र समृद्दिको बारेमा केन्द्रित रहेर राष्ट्रभक्तिका कविताहरु रचना गर्दै आउनु भएको छ । साहित्यको माध्ययमद्वारा अहोरात्र देशको विकास र संमृद्धिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्गनिर्देशन दिने खालका रचनाहरु लेखिरहनु भएको छ । उहाँले आफ्ना साहित्यिक रचना मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको विकास गर्न दृढ संकल्प गरेर अघि बढ्न सुझाव दिदै आउनु भएको छ । साथै साहित्यको माध्यमद्वारा प्रधानमन्त्री ओलीलाई देश र देशबासीको समस्या, पिडालाई हृदयड्गम गरी त्याग, तप, योग र बलिदानमय समर्पणको भावनाले यो देश बनाउन पनि सल्लाह दिनु भएको छ । जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी जनताको जीबन सफल हुनेगरी राष्ट्रको समृद्धि होस् भन्ने कामना पनि गर्नुहुन्छ । उहाँको साहित्यिक जीवन, शिक्षण जीवन तथा समाज सेवाको क्षेत्रको बिगत, वर्तमान र भावी योजनाको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले उहाँसित गरेको कुराकानी ।

१. शिक्षण र साहित्यिक क्षेत्रका साथै समाज सेवामा सक्रिय हुनुहुन्छ, यस्ता फरक क्षेत्रमा अगाडि बढ्न कसरी समय निकाल्न सक्नुहुन्छ ?

समाजमा योगदान यही पेशामा लाग्दा हुन्छ र साक्षात ईश्वर यिनै अवोधमा बाल बालिकाहरुमा भेटिन्छ कि भनेर शिक्षण पेशालाई मैले अपनाएँ। साहित्य भनेको त मनमा लागेको र उठेको कल्पना मिलाएर लेखिएका शब्द सार हो । मलाई बच्चादेखि नै मनमा कल्पना आउथ्यो । पछिल्लो समयमा साहित्यको माध्यमद्वारा देशको विकास र आर्थिक समृद्धिका रचनाहरु सिर्जना गरिरहेको छु । देशको विकास र आर्थिक समृद्धिका विषयमा नै लेखेर साहित्यको सेवा गर्छु । अरु विषय देश बनिसकेपछि साहित्यलाई अर्को पाटोमा लैजान्छु भनेर म लागेकी छु । समाज सेवा मैले यिनै विद्यालयका विद्यार्थीहरुलाई सकेको सहयोग गर्दै आएकी छु ।

२. मेडम त एकछिनमै कविता रचना गर्न सक्ने वहुत प्रतिभाशाली हुनुहन्छ । देशको विकास र संमृद्धिको सोचका यस्ता गहनतम कविता लेख्ने सोच हजुरलाई कसरी आउँछ ?

यो विचार भन्दा पनि देशको मायाँ हो । हुन त मलाई अरु क्षेत्रको विषयमा लेख्न मन लाग्छ तर फेरि पहिला देशको लागि केहि गरौँ अनि पछि अरु क्षेत्रमा कलम चालौँला भनेर देशकै विकास र समृद्धिको विषयमा मात्र कोर्न थालेँ ।

३. साहित्यको माध्ययमद्वारा अहोरात्र देशको विकास र संमृद्धिको प्रधानमन्त्री केपी ओलीलाई मार्गनिर्देशन दिने खालका रचनाहरु लेखिरहनु भएको छ । वास्तवमा हजुरलाई त प्रधानमन्त्री केपी साहित्यिक सल्लाहकार मान्न सकिन्छ । देशको विकास र संमृद्धिको लागि वर्तमान सरकारवाट कस्तो अपेक्षा गर्नुहुन्छ ?

अब जनताले तत्काल प्रत्यक्ष रुपमा महसुस हुनेगरी त्यस्ता खालका विकासका कामहरुको अनुभूति तुरुन्त गर्न नसकेपनि दीर्घकालीन विकासका कामहरु भई रहेका छन् । एउटा सहयोग पनि नेपालीले नेपालीलाई नै नगर्ने ,बरु कुनै बाहिर देशमा भने नेपालीलाई अरुले केहि गर्यो भने त्यसमै आगो बाल्ने खालको (कोही कसैले मात्र) र देशमै कसैले केहि गर्दैछ भने सहयोग गर्ने भावना छैन । मैले प्रधानमन्त्रीलाई त पत्रको आधार बनाएकी मात्र हुँ । राज्यको लागि काम गर्छु भनेर गएका सरकारी कर्मचारीहरु, शिक्षकहरु लगायत सारा नेपालीको प्रतिनिधि मानेर मैले उहाँको माध्ययमवाट सारा नेपालीमा जाओस् भनेर लेखेकी हुँ । अघिल्लो समयमा केपी ओलीले के गर्नुहुन्थ्यो मलाई त्यति राजनीतिको चासो थिएन । तर पछिल्लो समयमा आएर प्रधानमन्त्रीका कति कार्यहरु सन्तले त्याग गरेर केहि गर्न खोजेको जस्तो महसुश गरेकी छु सायद जटिल स्वास्थकै कारण पनि हुन सक्छ । यो मेरो व्यक्तिगत विचार हो सोचाइ मात्र पनि हो र झुटो नै हुन पनि सक्छ ।

४. यहाँ त सामाजिक अभियन्ता पनि हुनुहुन्छ ? समाज सेवाको क्षेत्रमा यहाँले गर्नुभएको कामको बारेमा केहि बताई दिनुहोस् न ?

खासैमा मैले समाजसेवा भनेर ठुल-ठुला सेवाहरु त गरेकी छैन । विद्यालयका बालबालिकाहरुको लागि र राष्ट्रको भोलिका दक्ष र योग्य युवाशक्तिको चाहना पुरा गर्ने खालका नँया युवाहरु यहाँबाट पनि निस्किउन भनेर मैले शिक्षाको माध्ययमवाट नै उनीहरुलाई प्रोत्साहन गर्दै आईरहेकी छु । उनीहरुको निराश भएको मनलाई ज्ञानको र प्रोत्साहनको उर्जा दिएर राष्ट्रको लागि केहि गर्ने नागरिक तयार हुनुपर्छ भन्छु म र त्यहि हो मेरो समाज सेवाको पाटो हो ।

५. एउटा साहित्यकार वा लेखकले किन लेख्ने गर्छ ? भनिन्छ सिर्जनाले देश वदल्छ रे नि कसरी ?

हो हरेक मान्छेको असल योगदानवाट मात्र देश बन्छ । देश चलाउनेहरुको त्यागमय योगदानबाट र देशका हरेक मानिसको नि:स्वार्थ सहयोग; साथ र योगदानबाट देश बन्छ र साहित्य भनेको समाजको प्रष्ट ऐना हो,साहित्यका मिठा शब्दहरुलाई हरेक मानिसले सहजै स्वीकार पनि गर्छन । साहित्यको माध्ययमवाट राजनीतिज्ञ र नेताहरुलाई देश विकासको लागि सल्लाह सुझाव दिई मार्गनिर्देशन गर्न र देशलाई विश्वमा चिनाउन सकिन्छ । उदारहणका लागि भारतमा धेरै विद्वान मान्छेहरु थिए तर विश्व प्रसिद्द साहित्यकार रविन्द्रनाथ टैगोरले साहित्यको माध्ययमवाट भारतलाई विश्वमा चिनाए । अप्ठ्यारो अवस्थामा पनि उनले साहित्य कोरेर साहित्यको माध्ययमवाट नोबेल पुरस्कारसम्म प्राप्त गरे र देशको पनि गौरव बढाए । त्यसैले साहित्य भनेको देश र मानिसको विकासको सुन्दर ऐना नै हो ।

६. साहित्यको संसार विशाल हुन्छ रे आफूलाई उक्त संसारको कहाँनिर पाउनुहुन्छ ?

साँच्चै साहित्य एकदमै सुन्दर संसार पनि हो तर सबैभन्दा ठुलो कुरा म अहिले मेरो देशको नागरिक मात्र हुँ । मेरो हृदयमा मेरो देश समृद्ध होस्, मेरो देशका हरेक मानिसको अनुहारमा खुशी सुख, समृद्दिको हाँसो छाओस् भन्ने चाहना छ । सबैजना देशलाई हेरेर हाँस्न पाऊँ । देशका कला र संस्कृतिको पहिचान होस् ।साहित्यको क्षेत्रमा भने मलाई सबैभन्दा सानो सिकारुको रुपमा राख्छु किनकी साहित्य एकदमै ठुलो समृद्ध शिखर या सागर नै हो र यहाँ दिग्गज विद्वान हुनुहुन्छ ।

७. यो लेखन कार्य चाहिँ कसैको प्रभाव वा कसैवाट प्रेरित भएर लेखिन्छ भन्ने गरिन्छ । यस बिषयमा तपाईंको राय के छ ?

मलाई राष्ट्रको मायाले गर्दा यसरी पोखिन सक्ने भावनाको बहाव रुपी साहित्य नै मेरो लागि कोर्ने साधन हो तर पनि मलाई यो क्षेत्रमा ल्याउने मेरो ममताको क्षेत्र छ । त्यो पहिलो मानिस मेरो श्रीमान गोपाल चन्द्र खतिवडा, सन्तान, जन्मदाता साथै परिवार, प्रकृति, देश परिवेश र मित्र साथीहरुको उर्जामय शब्दहरु नै हो । त्यसपछि मैले यसै मुहार पुस्तिकामा बरिष्ठ साहित्यकार जगदीश घिमिरेलाई भेटेको थिएँ । तिमी साहित्यमा राम्रा शब्द लेख्छयौ, देशलाई पनि शब्द कोर है र तिमीले साहित्य कोरेनौं भने तिमीलाई राष्ट्रघात लाग्छ भनेर एउटा उर्जाको शब्द फोनमा गफ हुँदा दिनु भएको थियो र नइको हरेक पटकको प्रेरणा पनि मेरो उर्जा हो यसरी पोखिनु।

८. तपाईंको वाल्यकालको बारेमा पनि संक्षिप्त जानकारी दिनुहोस् । तपाईंको पारिवारिक पृष्ठभूमि पनि बताइदिनु हुन्छ कि ?

म एकदमै असल परिवारमा जन्मिएकी हुँ । मेरी आमा सायद यो संसारकै असल र सुन्दर नारी हुनुहुन्थ्यो । मेरो हजुरवुवा कृष्णराज काफ्ले मोहन शमशेरको कार्यकालमा निक्खसारीको सुव्वा नै हुनुहुन्थ्यो । म सिन्धुलीको चपौले भन्ने सुन्दर ठाउँमा जन्मिएकी हुँ । एकदमै सुन्दर र प्राकृतिक हिसाबले पनि सम्पन्न ठाउँ हो त्यो । मैले पछि बैबाहिक जीबनमा पनि यति असल जीबन साथी र परिवार पाएँ । म यो साहित्य क्षेत्रमा लाग्ने ठुलो प्रेरणा मेरो श्रीमान गोपाल चन्द्र खतिवडा पनि हुनु हो । उहाँकै साथ, सहयोग र उर्जाले गर्दा म यसरी कोर्न सफल भएकी छु ।

९. नेपालमा साहित्यिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ ? तपाईको विचारमा साहित्य के हो ?

कुनै पनि कुरालाई राष्ट्रले हेरिदियोस् अनि कसैको प्रतिभालाई राष्ट्रले ना मूल्याड्कन गर्दिएको भए राम्रो हुन्थ्यो । हरेक मानिसलाई राष्ट्रले हेरिदियो भने देश समृद्ध हुन्छ तर त्यसको लागि कुनै पनि मानिस मौन बसो भने केहि पनि थाहा हुँदैन । साहित्यले पनि विभिन्न विधामा राष्ट्रको समृद्धिमा मात्र होइन हरेक विधामा चोटिलो प्रहार गरिरहेको हुन्छ । मैले अघि पनि भने साहित्य भनेको समाजको ऐना हो ।

१०. तपाई साहित्यिक क्षेत्रमा लाग्नु भएको कति वर्ष भयो ? अहिलेसम्म कतिवटा साहित्यिक रचनाहरु लेखी सक्नुभएको छ ?

म यस क्षेत्रमा लागेको ८/९ वर्ष जति भयो । मैले फेसबुक चलाउन थालेदेखि मात्र यस क्षेत्रमा लागेकी हुँ । मैले लेखेको १५०० वटा रचनाहरु छन्, त्यसमा मैले १० वटा जति छन्द कविताहरु लेखेकी छु । छन्द कविताहरु दुइटा बाहेक अझसम्म कहीँ कतै प्रकाशित गरेको छैन । म पछि प्रकाशित हुने मेरो कृतिमा नै राख्छु ति कविता।

११. तपाईको साहित्यिक क्षेत्रमा अगाडि बढिरहदा सम्झना लायक व्यक्तित्व कस-कसलाई सम्झन चाहनुहुन्छ ?

पहिलो मेरो देश, परिस्थिति असल ईष्ट मित्र, जगदिश घिमिरे दाजु, नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाई अनि मेरो श्रीमान, परिवारहरुले सहयोग गर्नुभएको छ ।

१२. तपाईको अनुभवमा नेपाली साहित्यिक क्षेत्रमा सफलता पाउन कतिको सहज छ ?

अब हामीले दिएको योगदानले कुनै पनि मानिसको जीबन, कुनै पनि देश, क्षेत्र अगाडी बढ्छ भने त्यसको कुरालाई म सफलता मान्छु । आफु सफल भएर राष्ट्र असफल भयो भने म त्यसलाई त्यति सफल भएको ठान्दिन । साहित्यको माध्ययमवाट सबै नेपाली, यो राष्ट्र सुखी समृद्द भयो भने मात्र म त्यसलाई साहित्यिक सफलता ठान्छु ।

१३. अहिलेसम्म साहित्यिक क्षेत्रमा लागिरहदा कतिको सन्तुष्टि प्राप्त गर्नुभएको छ ?

साहित्यको क्षेत्रमा लगेर मेरो राष्ट्रको बारेमा, प्रकृतिको बारेमा कोर्न पाएकी छु त्यसमा म सन्तुष्ट नै छु । अब प्रतिष्पर्धामा जाने हो भने कतिको सहयोग गर्छ, त्यो मैले अनुभूति गरेको पनि छैन । तर अरुले भने अनुसार अगाडी बढ्नको लागि एकले अर्कोलाई सहयोग गर्ने त्यति परिपाटी छैन भन्ने सुनेकी छु । समग्रमा भन्नुपर्दा म भने सहयोग र दर्हो साथ पाएर नै यति पोखिन सकेकी हुनाले एकदमै खुसी छु ।

१४. तपाईको भावी साहित्यिक योजनाको बारेमा बताई दिनुहोस् न ?

म पहिला २०/२५ वटा रचनाहरु राखेर म देशको लागि एउटा कृति प्रकाशन गर्छु । जसमा १० वटा छन्द कविता हुन्छन् र अरु यस्तै गद्य तथा पद्य कविताहरु हुन्छन् । म पहिला राष्ट्रलाई र साहित्यको क्षेत्रलाई एउटा कृति समर्पण गर्छु । मेरो कृति पढेर पाठकलाई पहिला राष्ट्रलाई मायाँ समर्पण र त्याग र योगदान गरेर समृद्ध बनाउनुपर्छ है भन्ने भावना जागोस् । नेपाली साहित्य जगतका साहित्यकारहरुले साहित्यका नोबेल पुरष्कार पाउन भन्ने चाहना छ ।

१५. अन्त्यमा, नेपालपत्रवाट के भन्न चाहानुहुन्छ ?

म सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई के भन्छु भने जनताले देख्नेगरी, जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी पहिलो चरणको विकास होस् । सत्तासिनहरुको जीवन त्याग योग र समर्पणमय होस् । जनताको जीबन सफल हुनेगरी राष्ट्रको समृद्धि होस् । ठुल-ठुला योजनाहरु त बिस्तारै पुरा हुँदैन जानेछन् तर जनताको लागि तत्काल राहत पुग्ने खालको कामहरु होस् । शिक्षामा धेरै ठुलो लगानी होस् र युवा ज्ञान र चेतनाले युक्त बनेर देश मकै समृद्दिमा समर्पित हुन ।

विज्ञान र प्रविधि नेपालको जमिनवाट पनि अन्तरिक्षका कुनाकानी सम्म पुग्नेगरी सफल होस् । नेपालका खानीहरु उल्खनन् गर्न बजेटको अभावमा नरहोस् । देशमा उर्जा कृषि र पर्यटन विश्वकै उदाहरणीय बनोस र विश्वको विकास र प्रविधिको समुन्नत रुप नेपालमा प्रयोग होस र देशका हरेक कुना समृद्द बनुन र नेपालीको सहज पहुँचमा हुन र देशका भएका ईश्वरीय शक्ति पिठहरुमा आस्था होस सत्ता चलाउनेहरु र सारा नेपाली सबैको ।

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

यो देश बनाउने सपथ आज खाऊ

कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ

कविता – म हिमाल रोपौ यो छातीमा

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्

Gopal Bhandari

गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.