१२ बैशाख २०८१, बुधबार

दोस्रो राष्ट्रिय कविता प्रतियोगितामा खोटाङका ‘सङ्ग्राम’ प्रथम


१६ वैशाख,रोल्पा । रोल्पामा भएको ‘दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६’ मा खोटाङका युवा कवि मोहन पोखरेल ‘सङ्ग्राम’को झोलामा देश नामक कविता प्रथम भएको छ । प्रतियोगितामा देशभरका १८७ जना कवि कवयित्रीको सहभागिता रहेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क खोटाङका कवि सङ्ग्रामले यस वर्षको प्रतियोगिताको प्रथम उपाधि प्राप्त गर्न सफल हुनुभएका कवि सङ्ग्रामले रु ४० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । काठमाडौँस्थित आरआर क्याम्पसमा पत्रकारिता र राजनीति शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत १९ वर्षीय सङ्ग्राम बुबा जगत पोखरेल र आमा भगवतीका जेठो छोरा हुनुहुन्छ । सानै उमेरदेखि साहित्यमा रुचि राख्ने सङ्ग्राम विद्यार्थी राजनीतिमा समेत सक्रिय हुनुहुन्छ ।

‘पर्यटन विकासका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कैलालीका मोहित जोशी दोस्रो, सिन्धुपाल्चोकका पवन ढुङ्गाना तेस्रो र नुवाकोटकी गीता पुँडासैनी र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना हुनुभएको छ । गत वर्षदेखि आयोजना गरिएको प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुनु हुनेले क्रमशः रु ३० हजार, २० हजार र १०÷१० हजार नगद र प्रमाणपत्र हात पार्नुभएको छ ।

तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धको उद्गम थलो तथा ऐतिहासिक स्थलसमेत रहेको रोल्पा नगरपालिकालाई साहित्यको माध्यमबाट पर्यटनमा विकास गर्ने उद्देश्यले ‘रोल्पा गुराँस साहित्य मेला २०७६’ को आयोजना गरिएको आयोजक समितिका सदस्य खेमराज गाउँलेले जानकारी दिनुभयो । यही वैशाख १५ गतेदेखि शुरु भएको साहित्य मेला वैशाख १८ गतेसम्म सञ्चालन हुने आयोजक रोल्पा नगरपालिकाले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने मेलाको अवसरमा जलजला पदयात्रा, रचना वाचन, जनयुद्ध र साहित्यसम्बन्धी अन्तरक्रियालगायत कार्यक्रम हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !