७ बैशाख २०८१, शुक्रबार

हे कृष्ण !


हे कृष्ण !
‘म’ को हुँ?
अहिलेसम्म थाहा छैन

कति पटक जन्मिइसकें
कति पटक बनें परिपक्क
र कृष्ण !
कतिऔं हो
अबको मेरो अन्त्य
भाँचेको छैन औंला आजसम्म

सोच्छ यो मन
बित्दै जाला बाँकी जीवन
भाँच्दै गरुँला ‘नि औंला
यसै यसै

तर !
कर्तव्यपरायण
बन्न किन मान्दैन यो तन?
कि हो अघिल्लो जीवनको
ऋणस्वरूप थमाइएको
कृतघ्न यो जीवन?

हे कृष्ण!
यो घृणा
त्यो मोह
असंख्य आग्राह्सम्मुख
कति हुन्छ यो शीर निरीह?

कि यो आत्मासंगै
सधैं सधैं अनन्तकालतक
बाँचिरहनेछन् यी सब?
र हेरिरहूँ
टुलुटुलु
मै मात्र
तिनीहरुको ताण्डवनृत्य
यसै गरी
बन्दै असफल पात्र?

हे कृष्ण काला !
समातुँ कुन मार्ग
र चालुँ पहिलो पाइला कहिले
यो जीवनको लक्ष्यका खातिर

हो ! तिम्रो विराट स्वरूपको
भर पर्दैछु नाराज म आज !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !