१३ बैशाख २०८१, बिहिबार

फगत यी बिम्बहरु


diwakar-sigdel

म हराउन खोज्दछु,
घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ।

हाडहरुमा मासुले बेरिएको म,
ताप र चापले बलेको छु ।

आकाश छिर्छ मभित्र,
म आकाशभित्र छिरेको छु ।

झुत्रिएको छु ,
कराएको छु ,
अनेक बिलौना गर्छु ,
विवश भै वरीपरि टोलाएर हेर्छु ,
हावा बोल्दैन ,
मेरो मुटु ढुकढुक सिवाय अरु केहि जान्दैन् ,
मेरो हात भनिएको वस्तु लम्पसार परेको छ ,
मेरा यी अबोध औँलाहरु मेरै निर्देशनमा अक्षर निर्माण गर्छन्,
पाना-पानामा यी मौन भ्रान्त अक्षरहरु,
यता-उता डोलिँदै मडारिन्छन् ।

ती हुन् बिम्बहरु,
समयका अवयवहरु,
घरि पलाउँछन् ,
घरि बिलाउँछन् ।
ती बिम्ब बनाउने साँचाहरु तारताम्य मिलाई रहन्छन् ।

अनायास! मेरो आकृति खडा हुन्छ ।
घरि म त्यो हुन्छु ,
घरि त्यो म हुन्छ ,
समय मलाई भत्काई रहन्छ ।
पटक पटक बोध हुन्छ,
ब्यर्थ भएको छ यो बुझाई ।

तिमी शुन्यबाट उठ,
बिउँझाऊ त्यो शुन्यलाई ,
निश्छल, निराकार।
नसमाउ त्यो आकार अनि ती रंगरोगन ,
ती हुन् शुन्यका बिम्बहरु ,
सधै मलाई झुक्काई रहेछन् ,
फगत यी पाजी बिम्बहरू ……..।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !