४ बैशाख २०८१, मंगलबार

उल्टो समय


जब,

उम्रन थाल्छन् पालुवाहरु नै – विष बोकेर,

फुल्न थाल्छन् कोपिलाहरु नै – दुर्गन्ध लिएर,

अनि हुन्छ आभाष – समय उल्टो बहिरहेको  |

 

ठीक त्यहि आभाष हुनुसँगै आउँछ मालीको मनमा,

एक महाभूकम्प-२०७२ बैशाख १२ को जस्तै |

ढल्छन् गर्ल्यामगुर्लुम्म महलहरु – आशा अनि सपनाका ,

धुलिसात् हुन्छन् मन्दिरहरु – सम्बन्ध र विश्वासका,

कालो बादलभित्र बिलाउँछन्|

भविष्यहरु- सुन्दर कल्पनाका |

 

उप्रान्त,

ए , मालीहरु हो !

बन्नु अझ बढी होसियार-

तिम्रो नन्दन वागमा फक्रिरहेको कोपिलाले

कदाचित्,

बोकिरहेको त छैन – दुर्गन्ध,

संगालिरहेको त छैन – विष ?

 

किनकि,

चलिरहेको छ समय – उल्टो दिशामा…

उल्टो दिशामा… |

– तीर्थराज भट्ट ([email protected])


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !