११ बैशाख २०८१, मंगलबार

पाँच करोड रुपैयाँ संकलन नाघेपछि, धुर्मुस–सुन्तलीको आधिकारिक घोषणा, ‘अब सहयोग रकम चाहिन्न’


dhurmus suntali

हाल सिन्धुपाल्चोकको गिरानचौरमा एकिकृत नमुना बस्ती बनाइरहेको ‘धुर्मुससुन्तली फाउन्डेसन’का संस्थापक तथा हास्यकलाकार जोडी ‘धुर्मुससुन्तली’ले अब सहयोग रकम नचाहिने घोषणा गरेका छन्। शुक्रबार पाँच करोड रुपैयाँ संकलन नाघेपछि उनीहरुले हाल निर्माणाधिन बस्तीका लागि अनुमानित बजेट पुगेको जनाएका हुन्।

बस्ती निर्माणपछि पनि धुर्मुस–सुन्तली सामाजिक सेवाका लागि नरोकिने जनाउँदै धुर्मुस–सुन्तलीले बस्ती निर्माणबाहेक अन्य सामाजिक सेवाका लागि भने सहयोग गर्न सकिने बताए।

‘अहिले नै हामीले ठुलो लगानी लाग्ने परियोजनाबारे सोचिसकेका छैनौं,’ धुर्मुसले सेतोपाटीसँग भने, ‘पाँच करोड भए हाम्रो परिकल्पनाअनुसारको बस्ती बन्छ भन्ने लागेको छ। अबको एक महिनामा पुग/नपुग थाहा हुन्छ। त्यतिबेला चाहिए हामी पुनः सहयोगको अपिलमा गर्नेछौं। सहयोग संकलन स्थगित गर्ने भनेपछि देश तथा विदेशका धेरै सहयोगीले ‘हामीले यो सहयोग गर्न पाएनौं भने वैतरणी तर्न पनि पाउँदैनौं’, ‘तपाईंजत्तिको विश्वासिलो मान्छे देशमा पाएनौं’ जस्ता कुराबाट माया र विश्वास दर्शाउनु भएको छ। अहिलेसम्म सहयोग गर्नुभएका र प्रतिवद्धता जाहेर गर्नुभएका प्रति धन्यवाद व्यक्त गर्न सक्ने कुनै शब्द मसँग छैनन्।’

हाल गिरानचौरमा बस्ती निर्माणमा खटिइरहेका धुर्मुसले सहयोगी मनका यही माया र विश्वासले सबै तनाव भुलिने बताए। ‘पानी परेर साह्रै तनाव छ। सिमेन्टको मसाला बनायो, पिल्लरमा हाल्यो एकैछिनमा पानी परेर बगाइदिन्छ। हामीले यतिबेला कम्तिमा पनि १५ सय टिप सामान ओसार्नु पर्नेछ। तर पहिरो र हिलोका कारण गाडी फसेर हैरानमा छु। तर जब सहयोगीहरुको वचन र सहयोग सम्झन्छु, निःशब्द हुन्छु र सबै तनाव भुल्छु। प्यारालाइसिस, मिर्गौला फेल भएका, आफ्नै घर पनि भत्किएकाले जसरी सहयोग गर्नुभएको छ, उहाँहरुलाई म के भनौं? सबैसँग यत्ति भन्छु, धुर्मुस–सुन्तलीले तपाईंहरुप्रति कहिल्यै विश्वासघात गर्ने छैनन्।’

तीन खण्डमा ६५ घर एकैचोटी निर्माण भइरहेको धुर्मुसले जानकारी दिए। संरचनाका लागि चाहिने सबै सामग्री तयार भइसकेको र अब घर ठड्याउने काम मात्र बाँकी भएकाले दशैंसम्म घर हस्तान्तरण गर्न सकिने विश्वास पलाएको उनको भनाइ छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !