८ बैशाख २०८१, शनिबार

साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द


लोकेन्द्रबहादुर चन्द

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताएका छन् ।

काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले साहित्य क्षेत्रको अवस्था सोचेजस्तो नरहेको बताए ।

“साहित्य बचाउने र बढाउने दायित्व हामी सबैको हो । आम सञ्चारले पनि यसलाई प्रवद्र्धन हुने गरी स्थान दिनुपर्छ”, पूर्वप्रधानमन्त्री चन्दले भने, “बेलायतमा सरकारभन्दा पनि व्यवसायीले साहित्यलाई माथि उठाएका हुन् । तसर्थ म सङ्घसंस्था र व्यवसायीलाई पनि साहित्यमा योगदान दिन आग्रह गर्दछु ।”

कार्यक्रममा परोपकारी कार्यमा सहभागिता देखाएवापत मानव सेवा आश्रम र नई प्रकाशनलाई सम्मानसँगै नगद रु एक लाख प्रदान गरिएको थियो । आश्रमका अध्यक्ष रामजी अधिकारी र प्रकाशनका कोषाध्यक्ष डा. कञ्चनजङ्गा प्रसाईँलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री चन्दले सामाजिक गतिविधिमा सक्रियता बढाउन आग्रह गरे । कार्यक्रममा उनले स्व. गुरुङसँगको राजनीतिक यात्रा, सामिप्यता र सम्बन्धको विषयमा चर्चा गरे ।

“उहाँ (गुरुङ) सङ्घर्षशील व्यक्तित्व हुनुहुन्थ्यो । संविधानसभा सदस्यको रूपमा आफ्नो विचार र सिद्धान्तका लागि उहाँले कहिले सम्झौता गर्नुभएन । हामीले छलफल र सहकार्य गरेर केही काम गरेका छौँ”, पूर्वप्रधानमन्त्री चन्दले भने । स्व. गुरुङको नाममा प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्य भइरहेकामा उहाँले खुसी व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले स्व. गुरुङको राजनीतिक यात्रा र योगदानका विषयमा चर्चा गरे । उनले भने,“ राप्रपा नेपाललाई शून्यबाट चार र त्यसपछि पच्चीसको सङ्ख्या संसद्मा पुर्याएर तेस्रो शक्ति बनाउन उहाँको योगदान अतुलनीय छ । उनको त्याग र निष्ठाले त्यो लक्ष्य प्राप्त भएको थियो ।” स्व. गुरुङसँग विद्यार्थी जीवनदेखि नै राजनीतिमा सहकार्य गर्दै निकट रहेर काम गरेको र अन्तिम समयसम्म सँगै काम गरेका सम्झना सङ्ग्रहित रहेको उनले बताए ।

“राजनीतिमा तत्काल प्राप्त हुने सुविधा र प्रतिष्ठालाई दृष्टिगत गर्दै हामी सिद्धान्त र आफूसँग सहकार्य गरेका मित्रबाट अलग भएर क्षणिक स्वार्थमा बग्छौँ । यो अवस्थामा चन्द्रजीको निष्ठा र राजनीतिक जीवनबाट हामीले धेरै तथ्य सिक्नुपर्छ, बुझ्नुपर्छ । उहाँ निष्ठावान, इमान्दार र जुझारू व्यक्ति हुनुहुन्थ्यो”, अध्यक्ष थापाले भने ।

आश्रमका अध्यक्ष अधिकारीले आन्तरिक र सरकारको आंशिक सहयोगबाट संस्था चलिरहेको जानकारी गराए । कार्यक्रममा स्व गुरुङकी श्रीमती मीनु गुरुङले प्रतिष्ठानलाई नगद रु एक लाख सहयोग गरे । गुरुङको २०७२ असोजमा उपचारका क्रममा निधन भएको थियो । उनी संविधानसभा सदस्यसँगै राप्रपा नेपालका तत्कालीन महामन्त्री थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !