११ पटक मन्त्री बनिसकेका घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक Nepalpatra११ पटक मन्त्री बनिसकेका घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक
३० श्रावण २०७९, सोमबार

११ पटक मन्त्री बनिसकेका घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक


पुर्खाको चिनो

काठमाडौँ । पूर्वमन्त्री बालाराम घर्तीमगरले संकलन गरेका ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ । लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गरेको उक्त पुस्तकमा १९५७ सालदेखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् ।

अनुसन्धानकर्ता, कानुनविद्, राष्ट्रचिन्तक र इतिहासका विद्यार्थीलाई उक्त कृति एकदमै महत्वपूर्ण छ । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा प्यूठान टुक्रिएर रोल्पा नहुँदैका मालअड्डाका रसिद र तमसुक, मुखिया र जिम्मवालको भूमिका, बाटो र गौडा पार गर्न आवश्यक पर्ने कागज, खुङ्ग्रिका राजासम्बद्ध पत्र, विद्यालयदेखि गोल पोल्न चाहिने पत्रको नमूनासमेत समेटिएको छ ।

हरेक पत्रको अन्तिममा लेखिएको मिति र त्यसको प्रकारबारे सूचना दिइएको छ । दोस्रो खण्डमा अदालतसम्बद्ध पत्रहरू रहेका छन् । जसले त्यतिबेलाको न्याय एवं कानुनका बहुआयामिक पक्षलाई झल्काउँछ । नेपालीकागजका यी पत्रहरूको शीर्षभागमा प्यूठान अदालत लेखिएको छाप देखिन्छ । कानुन, समाजशास्त्र एवं इतिहासका विद्यार्थीहरूलाई यो खण्ड महत्वपूर्ण देखिन्छ ।

तेस्रो खण्डमा इस्तिहारहरुलाई समावेश गरिएको छ । यसबाट त्यतिबेलाको आदेश, कार्यपद्धतिका बारेमा जानकारी प्राप्त हुने छ । यसको शीर्षभागमा नेपाली, अंग्रेजी र उर्दूभाषामा लेखिएका गोलाकार छापको चिन्ह छ ।

चौथो र पाँचौँ खण्डमा पूर्वमन्त्री घर्तीमगरको संग्रहमा रहेका अप्रकाशित ज्योतिष र तन्त्रका ग्रन्थहरू छन् । यी हस्तलिखित ग्रन्थहरूबाट ज्योतिष र तन्त्रले समाजलाई कसरी सुरक्षित र सुसुचित गरेको थियो भन्ने संकेत गर्दछ ।

खगोल र भूगोलमा हाम्रो विज्ञान कति परिपक्व थियो भन्ने सूचना उक्त कृतिले दिन्छ । पूर्वमन्त्री घर्तीमगर विगत ६ दशकदेखि राजनीतिमा सक्रिय रहेका छन् । उनी हालसम्म ११ पटक मन्त्री बनिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !