आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने Nepalpatra आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने
१४ मंसिर २०७८, मंगलबार

आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने


लक्ष्मीप्रसाद देवकोटा

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उहाँकै कुञ्जमा मनाउने योजना बनाएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा प्राज्ञहरुले देवकोटा कुञ्ज आफ्नो कार्यकालमा सम्पन्न गरिने बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले देवकोटा राष्ट्रप्रेमी, भाषाप्रेमी, स्रष्टा, अभियानकर्मी र राजनीतिज्ञ भएको उल्लेख गर्नुभयो । देवकोटा सानैदेखि साहित्य सिर्जनामा लाग्नुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु साहित्यकार शासकप्रति कतै नै कतै ढल्किएको भए पनि देवकोटाले कहिल्यै त्यसो गर्नुभएन ।”

प्रतिष्ठानका काव्य विभागका प्रमुख हेमनाथ पौड्यालले आफूहरुको अवधि झण्डै एक वर्ष बाँकी रहेको र यही अवधिमा देवकोटा कुञ्ज निर्माण सम्पन्न गरिने बताउनुभयो । देवकोटा नेपालमा मात्रै नभएर विश्वमा नै प्रख्यात रहेको उहाँको भनाइ छ । देवकोटाका सबै कुरा संरक्षण गरिने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय प्रतिष्ठानको सङ्ग्रहालय र कतिपय सामग्री उहाँको कुञ्जको सङ्ग्रहालयमा सुरक्षित राखिनेछ ।”

देवकोटाका छोरा प्रा डा पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाका स्मृति सङ्कलन र संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । विगतमा परिवारलाई नै संरक्षण गर्न भनिए पनि अहिले प्रतिष्ठान नै कुञ्ज निर्माणमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले रहनुभएकाको अवधि सकिँदा निर्माणमा असर नगरोस् ।”

स्रष्टा प्रा डा मोहनप्रसाद खनालले आफूसँग देवकोटाको स्वर सुरक्षित रहेको बताउनुभयो । अमेरिकाको एउटा सुदूर गाउँमा पुग्दासमेत देवकोटाका कृति र फोटो भेटिएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !