११ बैशाख २०८१, मंगलबार

वसन्ततिलका छन्द – आमोद


वसन्ततिलका छन्द - आमोद

ॐ श्रीपरमात्मने नम: ।

आमोदका अतुल आसनमा अटाऔं
आमोदका अनुभवी अनुराग पाऔं ।
आमोदमा अमल भाव कला मिलाऔं
आमोदका असल काव्य कथा बनाऔं ।। १।।

आमोदका मुदित मित्रहरू मनाऔं
आमोदका रुचि र गीत रची रमाऔं ।
आमोदवर्धक कुरा जगमा जगाऔ
आमोदमा सहज सज्जनता सजाऔं ।।२।।

आमोदका सुखद मार्गहरू समाऔं
आमोदमा सुमति दिव्य अनन्य लाऔं ।
आमोदको प्रणय पूज्य मिली पलाऔं
आमोदका विमल बागहरू बढाऔं ।।३।।

आमोदका कुसुम कान्त गुणी फुलाऔं
आमोदमा कमल पुष्पहरू चढाऔं ।
आमोदका सुभग रीतिहरू रुचाऔं
आमोदका भजनमा ममता मिसाऔं ।।४।।

आमोदका भवनमा प्रतिभा सजाऔं
आमोदका प्रथित सीप सिकी सिकाऔं ।
आमोदका अतिथि दीप्त गुनी रिझाऔं
आमोद औ प्रणवका महिमा सुनाऔं ।।५।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !