नवीन चिनाउन जाग्दै उप्रेती Nepalpatra नवीन चिनाउन जाग्दै उप्रेती
३० बैशाख २०७८, बिहिबार

नवीन चिनाउन जाग्दै उप्रेती


साहित्यिक संस्था

इलाम । मृत्यु भएका स्रष्टाको कृति निकाल्न सहज हुँदैन । ठोस प्रमाण निकाल्नुपर्ने, सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने यावत् झण्झट बेहोर्नुपर्छ । वास्तविकताको नजीक पुगेर पुस्तकको जानकारी लिन ठूलै सकस झेल्नुपर्छ । धेरै समय लाग्छ तर यहाँका एक साहित्यकारले यिनै समस्यालाई झेल्दै पुराना साहित्यकारको सम्मान गर्नुभएको छ ।

एउटा मात्र होइन, तीन/तीन साहित्यिक कृति । यो जोखिम मोल्ने व्यक्ति हुनुहुन्छ, नन्दु उप्रेती । उप्रेतीले करीब डेढ महिनाको अन्तरालमा साहित्यकार विष्णु नवीनका तीन कृति सम्पादन गर्नुभयो । दुई दशकअघि मृत्यु भएका नवीनका बारेमा सोधखोज गरेर समाजसमक्ष पुस्तक पु¥याउन उप्रेतीले अनेकन समस्या झेल्नुप¥यो ।

फ्रायडवादी चिन्तनबाट प्रभावित नवीनको साहित्यिक तेज गहिरो थियो । यो सबै जोखिम मोलेर पुस्तक सम्पादन गर्न उप्रेतीलाई हम्मेसी सकस थियो । एकातिर आफू बिरामी, अर्कातिर घरायसी काम तर उहाँले नवीनलाई सम्झनुभयो ।

जो जीवनमा कहिल्यै मिठो खाएन, राम्रो लाएन । साहित्यकै लागि हिँड्यो । त्यसका लागि काम गर्न पाउँदा के नगर्नू भन्ने लाग्यो । पुस्तक प्रकाशन इलाम नगर साहित्य प्रतिष्ठानले गर्ने थियो । प्रतिष्ठानले नै उप्रेतीलाई सम्पादकको जिम्मा दिएको हो । नवीनका सबै खुराक एउटै पुस्तकमा अटाउन खोजिएको थियो तर उप्रेतीलाई त्यो ठीक लागेन । उहाँले आफूले गर्नुपरे, विधागत रूपमा पुस्तक निकाल्नुपर्ने सुझाउनुभयो । नभए आफूले नसक्ने भन्नुभयो ।

त्यसपछि उप्रेतीकै कुरामा सही थप्दै पुस्तक विधागत रूपमै छापिने भयो । कृतिको नाम तय भयो, ‘सोझो नवीनका, बाङ्गा निबन्ध’ (व्यङ्ग्य निबन्ध), ‘केही सोधी, केही खोजी’ (अनुसन्धनात्मक) र ‘धेरै कुरा, एकै ठाउँमा’ (विविध) । यसबाहेक उप्रेतीलाई अर्को कविताको कृति निकाल्न मन थियोः नवीनले लेखेका र नवीनका लागि लेखिएका कविता मिलाएर पुस्तक छाप्ने । कविता एकदमै कम भयो । त्यसैले त्यो काम थाती रह्यो ।

यसरी खोजिए नवीनका रचना

नवीन रचना लेख्नुहुन्थ्यो तर व्यवस्थित गर्नुहुन्न थियो । अग्रज साहित्यकार गणेश रसिकका अनुसार रचना राख्ने नवीनको घर नै थिएन । भाँडाकुडा राख्ने आरमालीमा कविता पनि अट्थे । मृत्युअघि नै रचनाको त्यो स्थिति भएका नवीन मृत्युपछि रहने कुरा भएन । यो कुरा उप्रेती स्वीकार्नुहुन्छ । पुस्तक सम्पादन गर्नुभन्दा पनि रचना खोज्न समय लाग्यो । उप्रेतीका अनुसार केही रचना नवीनका छोरा स्काइ नवीनबाट लिइयो । अनि केही रविमान लम्जेलबाट । बाँकी अरू रचना बुद्धि घिमिरे प्रतिष्ठानबाट । यति भएपछि केही खुराक बढ्यो ।

बाल्यकालमा अक्कलझुक्कल मात्र उप्रेतीले नवीन देख्नुभएको थियो । मदिरामा रमाउने नवीनलाई त्यसै सेरोफेरोमा उप्रेतीले देख्नुभएको थियो । सबैले नवीनलाई त्यसबेला पागलको संज्ञा दिन्थे । उप्रेतीलाई पनि त्यस्तै लाग्थ्यो । पछि बुझ्दै जाँदा उप्रेतीलाई फरक लाग्न थाल्यो ।

नवीनका रचना पढ्दै जाँदा बुझ्ने मौका मिल्यो । उप्रेतीलाई नवीनसँग नजिक्यायो । यही कारण उप्रेती नवीनका कृति आफू सम्पादन गर्न तयार रहनुभयो । पुस्तक सम्पादनअघि र पछि अनेक समस्या आइपरे । “मैले १७ वर्षको उमेरमा देखेको थिएँ । समयले त नवीन चिनेन भने म कसरी चिन्थेँ ?” उप्रेतीले भन्नुभयो,“पहिले क्षमता भएको साहित्यकार मान्थेँ तर पुस्तक पढेपछि समयले चिन्न नसकेको राष्ट्रियस्तरका साहित्यकार हुन् ।” उप्रेतीका अनुसार नवीन समाजमा भएका घटनालाई जसरी पनि बाहिर ल्याउन सक्ने व्यक्ति हुन् ।

नवीनको साहित्य जति उज्यालो छ जीवन त्यति नै अँध्यारो थियो । आफ्ना बुबाका दुई श्रीमतीमध्ये कान्छीबाट नवीनको जन्म भएको थियो । “उनलाई बुबाले नै हेलाँ गरेपछि पाटीमा सुत्नुपरेको थियो, उचित हेरचाह पनि गरेनन्”, डा देवी क्षेत्री दुलालले लेखेको नवीनको कथाकारिता पुस्तकमा भनिएको छ, “त्यसरी घरबाट पाटीको बासमा पुगेपछि आमाले खेताला गएर ल्याएको मानामुठी र आनासुकीले परिवार चल्न थाल्यो ।” अभावैअभावमा नवीनको पढाइ इलामकै भाषा पाठशालामा शुरु भयो ।

नवीनले विसं २०१२ मा आदर्श पद्म माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गर्नुभयो । विद्यालय जीवनमै पनि नवीनको जीवनमा अनेक बाधा आए । विसं २०१७ मा इलामबाटै प्रवेशिका परीक्षा उत्तीर्ण नवीनले प्रवीणता प्रमाणपत्र तह पार गर्न सक्नुभएन । विसं २०१४ मा पाल्पाबाट प्रकाशित ‘कोपिला’ पत्रिकामा नवीनको ‘एक पैसा’ शीर्षकको छोटो कथा छापिएको थियो ।

नवीनको ‘श्रीमतीसँग एक दिन’ (हास्यव्यङ्ग्य सङ्ग्रह, २०२२), उनको स्मृतिमा (खण्डकाव्य) २०२४, छातीमा नआएका कुरा(हास्य व्यङ्ग्य सङ्ग्रह, २०२९), लोग्ने–स्वास्नी (कथा सङ्ग्रह, २०३८) कृति प्रकाशित छन् । विसं १९९५ मा इलाममै जन्मिनुभएका नवीनको करीब ४५ वर्षमै भौतिक शरीर त्याग्नुभएको हो । सम्पादक उप्रेतीलाई नवीनको साहित्यिक खुबी पछि परेको देख्दा चित्तै बुझ्दैन । “अन्य समकालीन साहित्यकारका तुलनामा नवीन अग्रपङ्क्तिमा पर्नुहुन्छ” उप्रेतीले भन्नुभयो, “अब नवीनका लागि नयाँ काम गर्नुपर्छ । उहाँका नाममा कोष खडा गरेर नयाँ साहित्यकारलाई सम्मान गर्नुपर्छ ।”

साडीचोलोको व्यङ्ग्य

नवीनले साहित्यबाट विभिन्न सन्देश दिन खोजेको देखिन्छ । कृतिमा यौन मनोविज्ञान, राष्ट्रियता र सामाजिक परिवेशलाई आधार बनाएको देखिन्छ । उनी साहित्यमा लैङ्गिक असमानतालाई जोड्ने सेतु बनेका छन् । इतिहासविद् युद्धप्रसाद वैद्यका अनुसार नवीन राष्ट्रियतामा अडिग हुनुहुन्थ्यो । “कतिपय ठाउँमा राष्ट्र विरोधी कुरा गरे उनी रिसाइहाल्थे”, वैद्यले सम्झनुभयो, “साथीभाइ कसैलाई राष्ट्रियताका विषयमा तत्कालीन शासकले जेल लगे, नवीन त्यसलाई होइन मलाई लैजासम्म भन्नुहुन्थ्यो ।” डा क्षेत्रीले लेखेको नवीनको जीवनीमा उनको साहित्यमा क्रान्तिकारी र परिवर्तनमुखी भाव भेटिने गरेको लेखिएको छ । नवीन विद्रोही हुनुहुन्थ्यो । उहाँ समाजलाई व्यङ्ग्य गर्न साहित्यिक कृति मात्र नभई भौतिक रुपमै भिन्न व्यवहार गर्नुहुन्थ्यो । नवीन प्रायः बजार आउँदा जाँदा महिलाका लुगा लगाएर निस्कन्थ्यो । शरीरमा साडीचोलो लगाएको देखेर धेरैले उनलाई बौलाहा भन्ने गरेका थिए ।

“महिलाको र आफ्नो स्थान उस्तै भएकाले नवीनले व्यङ्ग्यका लागि साडीचोलो लगाएको हुन सक्छ”, साहित्यकार एवं इलाम साहित्यिक प्रतिष्ठानका अध्यक्ष टीका घिमिरे भन्नुहुन्छ, “म उनलाई पागल भन्दा पत्याउँदिन, उनको कृतिमा पागलपन झल्किँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !