१३ बैशाख २०८१, बिहिबार

व्यांग्य – हर्के बन्यो प्रधानमन्त्री


रामचन्द्र तिम्सिना

बेलुकाको धंगधंगिले होला
रातभरी निन्द्रा लागेन उसलाई ।
एकाबिहानै हर्के जुरुक्क उठ्यो
एक गिलास कोदो तान्न
हानिएर साईलीको भट्टिमा पुग्यो ।

त्यहाँ रहेका अरु गाउँले चिया पारखीहरु जुरुक्क उठे सम्मानका साथ बोले
हेल्लो अध्यक्ष ज्यु नमस्कार ।
आउनुस् बस्नुस् ।
साहुनीले कोदोको एक गिलास टेबुलमा राख्दै सोधिन् ।
अध्यक्षज्यु चना अण्डा अरु पनि केही टक्र्याउँ कि ?

हर्केले चुपचाप तनतनी
दुई स्टिल दाब्यो र लर्बरिदै घरको बाटो लाग्यो ।
श्रीमतीले आँखा तर्दै कराउन थालिन हेरहेर अध्यक्षको चाल ।
बिहान बिहानै कुकुरको मुत घिचेर आएछ ।

हर्के सुध्रिनेवाला थिएन
साँझ पुनः साहुनीकोमा पुग्यो ।
बिहान सम्म अध्यक्षज्यु भन्नेहरुले
प्रधानमन्त्रीज्यू भन्न थालिसकेका थिए ।
फेरि पनि
चुपचाप बस्यो केही बोलेन
तनतनी कोदो हुल्यो र
आफ्नो बाटो नप्यो ।

बाटोमा हल्लिदै हिड्दा पनि
भुराहरुले अध्यक्षज्यू भन्थे
अझ भनौं
कसै-कसैले त प्रधानमन्त्री समेत भन्न भ्याउँथे ।
मथिंगलमा केही घुसेकै थिएन उसको
हिजोसम्म हर्के जड्याहा भन्नेहरुले
आज हर्केलाई अध्यक्ष र प्रधानमन्त्री बनाईसकेका थिए ।

हर्के रिसले मुर्मुरिदै
फेरि फर्केर साहुनी कै मा पुग्यो
एक गिलास दाब्यो
अनि बोली लर्बराउँदै सोध्यो
ओई भन
म कसरी अध्यक्ष बने ?
म कसरी प्रधानमन्त्री भए ?

सायद उ
साहुनीको नियमित ग्राहक भएकोले होला
सम्झाउँदै
सानो स्वरमा भनिन
हर्के बाबु
आजभोलि गामघरतिर
अल्छी र जड्याहालाई
अध्यक्ष र प्रधानमन्त्री भन्ने चलन चलेको छ क्या नरिसाउनु न है ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !