१२ बैशाख २०८१, बुधबार

राज्यमन्त्री रामवीर मानन्धरले राखे एकल गायनमा विश्व रेकर्ड


रामवीर मानन्धर

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उहाँले सो रेकर्ड कायम गरेका हुन् ।

आज यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएक थिए ।

उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका थिए । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे ।

वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले आज गाउनुभएका सबै गीतको रोयल्टी समेत तिरेर गाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !