१२ बैशाख २०८१, बुधबार

‘चलचित्रकर्मीे परिचयत्र’ वितरणसँगै विवादमा


basundhara bhusal

चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले २ दिन अगाडि १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर जारी रहने बताइरहेका छन् । तर, फेसबुकका भित्तादेखि सामाजिक संजालमा चलचित्रकर्मीलाई वितरण गर्न थालिएको ‘परिचय पत्र’ गलत भएको र यसले पछि राजनीतिक आस्थाको रुप लिने तर्कहरु आइरहेका छन् ।

‘चलचित्रकर्मी परिचयपत्र’ पाउनेहरुले नै सरकारको शैलिको आलोचना गरिरहेका छन् भने चलचित्रकर्मी परिचयपत्र वितरण सुरु भएसँगै विवादमा परेको छ । बोर्डले परिचयपत्र दिएसगै कलाकारहरुको ‘श्रेणी’ समेत विभाजन गर्ने कुरा गरेपछि कलाकर्मी थप आक्रोशित भएका छन् । कतिपय कलाकर्मीको टिप्पणी छ ‘विकास बोर्डले नेपाली कलाकर्मीलाई राजनीतिक दलका कार्यकर्ता बनाउने भयो ।’

चर्चित कलाकार सन्तोष पन्तले राज्यले यसरी श्रेणी विभाजित गर्नुभन्दा अगाडि को कलाकार हुन् भनेर पहिचान गर्नुपर्ने बताउँछन् । यता, ‘विशिष्ट’ श्रेणीको परिचय पत्र पाएका कलाकार निर शाह राज्यले कलाकारलाई परिचय पत्र दिनु राम्रो भएतापनि समाजबाट पाइने व्यवहार र कलाकर्मीले आफूलाई प्रस्तु गर्ने व्यवहारका आधारमा यसको गरिमा रहने बताउँछन् । नायक भूवन केसी भने राज्यले कलाकारलाई रातो पासपोर्ट नै दिनुपर्ने बताउँछन् । उनले राज्यले दिएको यस्तो सम्मानलाई स्वागत गरेका छन् । केही कलाकर्मीले राज्यले वितरण गरेको ‘चलचित्रकर्मी परिचय पत्र’लाई यसरी हेरेका छन्ः

रामकेशर बोगटी, अध्यक्ष चलचित्र कलाकार संघ
ढिलै भएपनि सरकारले परिचयपत्र वितरण गरेकाले आम कलाकर्मी खुसी हुनपर्ने धारणा राख्छन् कलाकार संघका अध्यक्ष रामकेशर बोगटी । कतिपय लोकपि्रय कलाकारले असन्तुष्टि जनाएको उनले पनि सुनेका छन् । हरेक विषयको आलोचना नगर्न उनी आग्रह गर्छन् ।

‘कम्तिमा परिचपयपत्र दिने कामको सुरुवात भएको छ, यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’ उनले भने । अहिलेको कार्यविधीमा केही त्रुटी रहेको स्वीकार्ने बोगटी क्रमश परिचपयपत्र वितरण हुँदै जाने कार्यक्रम रहेको भन्दै आग्रहको भाषामा भन्छन्-‘मैले कार्ड पाउदिन कि भनेर नआत्तिनु होला क्रमश आउछ ।’
कलाकारको बर्गीकरण सरकारले हैन दर्शकले गर्छन्

नवल खड्का, पूर्व अध्यक्ष-कलाकारसंघ
सरकारले कलाकारलाई सम्मानको परम्परा सुरु गर्नु राम्रो हो भन्ने कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का श्रेणी विभाजनलाई भने सरकारले गर्न नहुने कामको रुपमा टिप्पणी गर्छन् ।
उनको भनाई अनुसार पहिला त श्रेणी विभाजन आफैंमा अबैज्ञानिक छ । दोस्रो कुन कलाकार कस्तो छ भनेर सरकारले हैन दर्शकले छुट्याउने हो । उनी भन्छन्-‘को कलाकार कति लोकप्रीय छ सरकारले छुट्याउनु, पर्दैन दर्शक आफैं सक्षम छन्’ ।

दीपकराज गिरी, हाँस्यकलाकार
परिचयपत्र पाएपछि त्यसको गरिमा कायम राख्न लिने र दिने दुबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्छन् दीपकराज गिरी । राज्यले परिचपयपत्र दिनुलाई सामान्य उपलब्धी मान्ने गिरी श्रेणी विभाजन भने गर्न नहुने धारणा राख्छन् । ‘राज्य जस्तो जिम्मेवार निकायले कलाकर्मीको हचुवा बर्गीकरण गर्नु हुँदैन ।’ उनले भने ।

कलाकारको श्रेणी विभाजनको बिषयमा धेरैले असन्तुष्टी पोखेका छन् । कतिपयले चलचित्र विकास बोर्डको सल्लाहाकार नै गलत भएको टिप्पणी समेत सामाजिक संजालमा गरेका छन् । तर, कतिपयले भने सरकारले कलाकारलाई परिचय पत्र दिनुलाई सुखद मानेका छन् । धेरैको वुझाइमा संचारमन्त्रालय र विकास बोर्डमा आउने पार्टीका नेताले राजनीतिक आस्थाका आधारमा यो कार्ड वितरण गरेर कलाकारलाई विवादमा पार्छन् कि भन्ने पनि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !