११ बैशाख २०८१, मंगलबार

कविता – सर्वहारा नेताको राजशी ठाँट


सर्वहारा नेताको राजशी ठाँट

कति वटा जामाहरु च्यात्नु पर्छ, हामी नाङ्गिएका छौ भनेर बुझाउन ?

कति चर्को चिच्याउनु पर्छ कि हाम्रो मुख थुनिएको छ भनेर सुनाउन ?

कति सिर्का रगत बगाउनु पर्छ कि यो घाउबाट हामीलाई कति दुखिरहेको छ भनेर देखाउन ?

कति लेख्नु पर्छ कि बलियो दुई तिहाईको अन्तर्विरोधले शुभचिन्तक कति आक्रान्त बनेका छन् भनेर बुझाउन ?

के-के देखाउनु पर्छ कि, हामी लजाएका छौं भनेर बुझाउन ?

ए अन्धो र बहिरो सरकार !

हामीलाई लज्जाबोध हुँदा तिमिलाई पनि हुनुपर्ने होईन र ?

भोकोले भात माग्दा तिमिलाई लाज हुने भोक मेटाउन नसक्दा तिमिलाई लाज हुनुपर्ने होईन र ?

युवायुवती निर्यात गरेर रेमिटान्स थाप्दै स्वरोजगारको नारा रटाउन लाज हुनुपर्ने होईन र ?

स्वाभिमानी नेपालीको देशमा ‘र’ प्रमुख र बिदेशी रजदुतको सक्रियता लाज हुनुपर्ने होईन र ?

समाजवाद र साम्यवादको परिकल्पनाभित्र स्वार्थ केन्द्रित राजनीति लाज हुनुपर्ने होईन र ?

संघीय गणतान्त्रिक मुलुकमा सर्वहारा नेताको राजशी ठाँट लाज हुनुपर्ने होईन ?

अर्वौंको गाडी भित्र्याउन सक्ने कृषि मल भित्र्ताउन नसक्ने लाज हुनुपर्ने होईन र ?

भारतीय तरकारी छ्यापछ्याओती बजारमा नेपाली कृषक मारमा लाज हुनुपर्ने होईन र ?

सर्वहाराको बस्ने बास छैन झुपडीमा छानो छैन करोडौंको कार्पेट अय्यासी सौचालय लाज हुनुपर्ने होईन र ?

किसान, मजदुर, श्रमजीवी उपेक्षित तर कृषि पशुपालनको अनुदान आफन्त कै हातमा,

भाई-भतिजो, साला-साली, सम्धी-सम्धिनी नियुक्ति गर्दा लाज हुनुपर्ने होईन र ?

राष्ट्रियताको बहस छाडेर गुटगत बहस चलाउँदा लाज हुनुपर्ने होईन र ?

प्रतिव्यक्ति वैदेशिक ॠण ५० हजार, जनताको जीवनस्तर झनझन खस्किदै लाज हुनुपर्ने होईन र ?

र अन्त्यमा ,

निति-नियम, विधि-पद्धति, दर्शन सिद्धान्त सबै लत्याएर गरिने स्वार्थ केन्द्रित राजनीतिले विधानमा लेखिएको लक्ष्य भेटिदैन चेतौं लज्जाबोध गरौं ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !