१२ बैशाख २०८१, बुधबार

साहित्यकार, कृषक र असल गृहिणीलाई लाल–भागीरथा पुरस्कार


साहित्यकार File Photo

झापा, ५ मङ्सिर । लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका मेचीनगर नगरपालिका–१४ निवासी डिल्ली खतिवडालाई ‘लाल भागीरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र सन्तानलाई असल संस्कार दिएर सुखी र समृद्ध परिवार निर्माणमा योगदान दिएवापत अर्जुनधारा निवासी यशोदा बराललाई ‘लाल भागीरथा बानियाँ असल गृहिणी पुरस्कार’ले सम्मान गरिनेछ ।

ती पुरस्कार रु ३१ हजार नगदराशिको हुने छ । यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय मेचीनगर –११ धाइजनमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने अध्यक्ष बानियाँले बताउनुभयो । प्रतिष्ठानले गत वर्षदेखि स्थानीय प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएको हो । गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाईँ, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका–१० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका–१० की नीतु सुवेदीलाई पुरस्कृत गरिएको थियो । राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रका झापाका अगुवा हरिचरण र उहाँका दाजुभाइले पिता स्व लालबहादुर र माता स्व भागीरथाका स्मृतिमा हरेक वर्ष तीन प्रतिभालाई पुरस्कृत गर्ने गरी रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !