७ बैशाख २०८१, शुक्रबार

मापदण्ड (लघुकथा) : रवीन्द्र समीर


डा. रवीन्द्र पाण्डे

काठमाडौँ, कार्तिक ८ । बिर्खबहादुर सानो रेडियोको आवाज सुन्दै उ सहर गएको थियो । घरमा लटरम्म फलेका लौका बेचेर दशैं मनाउने उसको योजना थियो । रेडियोले फुकिरहेको थियो – कोरोना महामारीबाट बच्नको लागि नाक तथा मुख छोपिने गरि अनिबार्य रुपमा मास्क लगाउनुहोला, ६ फिटको दुरी कायम गर्नुहोला तथा हात धोइरहनु होला । उसले यो नारा सुन्न थालेको ६ महिना भएको थियो । उसलाई यो सुन्न झ्याउ लागिसकेको थियो । तर कोरोनाले मर्नुभन्दा रेडियोले भनेको मान्नु बेश ठानेर उ आज्ञाकारी भएको थियो ।

सहर पुग्यो । हाफ प्लेट भात खान होटेलभित्र पस्यो । टेलिभिजनमा ठूला नेताहरुले चिउडोमुनी मास्क लगाएर अन्तर्वार्ता दिइरहेका थिए । उसले पल्याक पुलुक हेर्यो अनि नाक, मुख छोपेको मास्कलाई चिउड़ोमुनी लगायो ।

खाना खाएपछि उ लौका बेच्न बजारमा पुग्यो । छेउंको चियापसलमा टेलिभिजन चलिरहेको थियो । उसले नाम सुनेका तथा फिलिममा देखेका कलाकारको अन्तर्वार्ता देख्यो । उनीहरुले मास्क लगाएका थिएनन् । उसले चिउडोमुनी लगाएको मास्क झिकेर खल्तीमा राख्यो ।

लौका बेचेर सकेपछि उ खाजा पसलभित्र पस्यो । घरमा टेलिभिजन थिएन । उसको ध्यान टेलिभिजनमा गयो । एकजना नेताले सामाजिक दुरी कायम गर्नुपर्छ भन्दै भाषण गरिरहेका थिए । त्यहाँ सयौं क्यामेरा बोकेका मान्छेहरु बारुलाको गोलोमा जस्तै तछाडमछाड गर्दै भीडभाड गरिरहेका थिए । मान्छेसंग तर्किएर हिंडेको उ खाजा खाएपछि बजारको भीडमा मिसियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !