११ बैशाख २०८१, मंगलबार

बिक्री नभएको तरकारीको सदुपयोग गर्दै किसान


तरकारी

भरतपुर, २० जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण लकडाउन हुँदा चितवनका किसानको तरकारी बिक्री हुन छाडेको छ । तरकारीले बजार नपाउँदा कसैले खेतमै तरकारी कुहाउँदै छन् त कसैले कुहिएको तरकारीको सही सदुपयोग गरिरहेका छन् ।

पूर्वीचितवन खैरहनीनगरपालिका–१ बहेराका किसान लक्ष्मण चौधरीले यसपालि एक बिघा क्षेत्रफलमा भिण्डी तरकारीमात्रै लगाउनुभएको थियो । एउटै तरकारी लगाउँदा बिक्री गर्न सहज हुने र आम्दानी पनि हुने अनुमान लगाएर भिन्डी खेतीलाई प्राथमिकता दिनुभएको थियो । तर बिक्री गर्ने बेलामा कोभिड–१९ सङ्क्रमणले देशमा ‘लकडाउन’ भएपछि तरकारी खेतमै थन्कियो । “शुरु–शुरुमा घाटा खाएरै प्रतिकेजी रु पाँचमा भिन्डी बिक्री गरेँ, उहाँले भन्नुभयो, पछिल्लो समय निःशुल्क लैजाउभन्दा पनि लिन मान्छे आएनन् ।” बिक्रीका लागि बोरामा तयार पारेर राखेको तरकारी पनि बिक्री नहुँदा कुहिएपछि अन्ततः कम्पोष्ट मल बनाएर सदुपयोग गरेको उहाँले बताउनुभयो ।

कृषक चौधरीले विभिन्न समयमा तरकारीबाट कम्पोष्ट मल बनाउने तरिकाबारे तालिमसमेत लिनुभएको थियो । सोही ज्ञानका आधारमा उहाँले अहिले घरेलु सामग्री भेली, पिना, खुर्सानी, निम, गोबरलगायत प्रयोग गरी कम्पोष्ट मल बनाउन थाल्नुभएको छ । यसरी नै खेर गइरहेको तरकारीलाई भरतपुर महानगरपालिका–२५ अमृतनगरकी किसान उमा सुवेदीले पनि सदुपयोग गर्न थाल्नुभएको छ । उहाँले १० क्विन्टलको करेला सुकाएर चाना बनाउन थाल्नुभएको हो । ५० क्विन्टल करेलाको चाना बनाउने उहाँको लक्ष्य छ ।

अहिले तरकारी बिक्री नहुने समस्या चौधरी र सुवेदीको मात्रै होइन । चितवनका अन्य किसानको हालत उस्तै छ । तर खेर गइरहेको तरकारीको सदुपयोग गर्न जानेका किसान धेरै कम छन् । अब ती किसानले पनि खेर गइरहेको तरकारीबाट पछिसम्म बिक्री गर्न मिल्ने तरकारी बनाउनमा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । ढकालले उत्पादन भएको तरकारी खेर फाल्नुभन्दा सुकाएर राख्न सके पछिसम्म प्रयोग गर्न सकिने बताउनुभयो । बेलाबखतमा खेर जाने तरकारीबाट बन्ने अन्य थुप्रै तरकारीका प्रकारबारे पनि कृषकलाई तालिम दिने योजना बनाएको उहाँले बताउनुभयो ।

“कोरोनाका कारण व्यावसायिक उत्पादनको बजार ठप्प छ”, उहाँले भन्नुभयो, “तरकारीबाट पनि कोरोना सर्छ भनिएकाले पनि उपभोक्ताले बजारको तरकारी कम उपभोग गरेका छन् ।” चितवनमा यतिबेला बढी मात्रामा लहरे तरकारी करेला, घिरौँला, चिचिन्ना, लौका, भेन्डीको उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, पोखरालगायत शहरमा बिक्री हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !