७ बैशाख २०८१, शुक्रबार

ओलबाट भंगहामा रु पाँच करोड भित्रिने


जलेश्वर, २० जेठ । महोत्तरी जिल्ला, भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम मेहनेतमै मनग्य आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन् ।

भौगोलिक दृष्टिकोणले विकट तथा सिंचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन् । धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको स्थानीय किसान सत्यनारायण यादवले बताउनुभयो ।

उहाँका अनुसार भंगहा क्षेत्रमा मात्रै प्रत्येक वर्ष ५० बिघा क्षेत्रफलमा ओल खेती हुन्छ । यहाँका किसानले एक कट्ठामा मात्रै ओल खेती गर्दा १० देखि १२ क्विन्टलसम्म उत्पादन हात लिन्छन् । प्रतिकिसान रु दुईतीन लाखसम्म आम्दानी हुने उनीहरु बताउँछन् । माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै मीठोे ओल सबैले मन पराउने तथा खाने गरेकाले यसबाट किसानले निकै आम्दानी गर्ने स्थानीयवासी किसान रामसागर यादवले बताउनुभयो ।

यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ । शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने भएकाले ओल अति नै लोकप्रिय छ ।

प्रतिकट्ठा रु छ हजारदेखि आठ हजारको लगानीबाट औसत रु दुईतीन लाखसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन् । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० तथा रु १२० सम्ममा बिक्री हुने गरेको स्थानीयवासी किसान विजय महतोले बताउनुभयो ।

नगरभरि नै ओल खेती हुने गरेकाले भंगहाका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पु¥याउने गरेको किसान रामवृक्ष यादवले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष चैतवैशाखमा ओल रोपेर भंगहाका किसानले असारसाउन महिनाभरि खनी स्थानीयदेखि टाढाका बजारसम्म पठाएर ओलखेतीबाट मात्रै सो नगरपालिकामा वार्षिक करीब रु पाँच करोड भित्र्याउने गरेको किसान वृजमोहन यादवले बताउनुभयो ।

विषादी छर्किनु नपर्ने, सिंचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी हुन्छ । किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !