७ बैशाख २०८१, शुक्रबार

किसानको पिडा: तरकारी दिदै अन्न लिदै


तरकारी

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझै पनि अन्नसँग तरकारी साट्ने प्रचलन रहेको छ । तरकारी उत्पादनमा लागेका व्यक्तिले मौसमअनुसारको तरकारी मौसमअनुसारको अन्नसँग साटेर लिने/दिने गरेका छन् ।

बजारमा तरकारी बिक्री गर्दा निश्चित मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । अन्नसँग तरकारी साटेर दिँदा दोब्बर बढी फायदा हुने गरेको छ । तरकारीले भरिएका टोकरी महिलाले बिहानीको झिसमिसेमै टाउकामा राखेर र गोरु गाडा घर घर पु¥याएर अन्नसँग साटेर दिने गरेका छन् ।

धेरै पहिलादेखि नै यो चलन चल्दै आएको जोनापुरका फुलराम चौधरीले भन्नुभयो, “अझै यो चलन हट्न सकेको छैन । अन्नसँग तरकारी साटेर दिँदा वर्षभरिका लागि अन्न खान पुग्ने र अन्न बजारमा लगेर बिक्री गरे गतिलो आम्दानी हुने भएकाले यस कार्यलाई छाड्न सकिएको छैन ।” पुर्खौंदेखि चल्दै आएको चलन अझै पनि छुट्न नसकेको उहाँको भनाइ छ ।

उहाँका अनुसार बजारमा रु २० प्रतिकिलोका दरले बिक्री हुने तरकारी अन्नसँग साट्दा दुई अन्न एक तरकारीको तौल लिएर साट्ने गरिन्छ ।

अधिकांशले धान र गहुँसँग तरकारी साट्ने गरेका छन् । बन्दाबन्दी हुँदा धेरैले घर घरमा पु¥याएर तरकारी बिक्री गर्न थालेका छन् वसन्ती चौधरीले भन्नुभयो, “हाल बन्दाबन्दीले तरकारी बिक्री गर्ने पुरानै चलन दोहो¥याइदिएको छ ।”

हाल बारीमा उत्पादन भएका तिते करेला, भिण्डी, काँक्रा, प्याज, गोलभेँडा, लौका, खरबुजा, बोडीलगायत महिलाले ग्रामीण क्षेत्रका बासिन्दाका घर घरमा पु¥याई अन्नसँग साट्ने गरेका छन् । बजार मूल्य रु ५० प्रतिकिलोका दरले बिक्री हुने तिते करेला तीन तौल गहुँसँग साटेर दिने गरिएको मीना चौधरीले जानकारी दिनुभयो ।

काँक्रा, फर्सीलाई बराबर तौलमा र भिण्डी, बोडीलगायतलाई दुई तौल अन्नसँग साटेर दिइने गरिएको छ । गहुँ प्रतिकिलो रु २५ बढीमा बिक्री भइरहेको छ । तिते करेलालाई छाडेर अन्य तरकारीको बजार मूल्य रु १० देखि रु २० प्रतिकिलो रहेको छ ।

स्थानीय बासिन्दाले मागेकै अनुसार तरकारी साट्नका लागि गहुँ दिने गरेका छन् सोनिया चौधरीले भन्नुभयो, “नगदमा तरकारी किन्नका लागि कन्जुस्यार्इं गर्ने बासिन्दाले सहजरुपमा गहुँसँग तरकारी साट्न रुचाउँछन् ।” दैनिक एकजना महिलाले १० किलोदेखि ५० किलोसम्म तरकारी गहुँसँग साट्ने गरेका छन् । थारै जग्गा भएका पिपलाडीका सीता चौधरीले वर्षात्को समय छाडेर अरु समय सो जग्गामा तरकारीखेती गर्दै आउनुभएको छ । तरकारी अन्नसँग साटिने भएकाले बजारबाट खाद्यान्नका रुपमा रहेका गहुँ धानलगायत खरिद गर्नु पर्दैन ।

तरकारी साटेर ल्याएको अन्नले सातजनाको परिवारलाई वर्षभरि खानका लागि अन्न पुगेर बाँकी अन्न बिक्री गरी परिवारका लागि आवश्यक लुगाफाटो, बालबालिकाको विद्यालयको खर्च, औषधोपचार र अन्य खर्च सहजसँग मिलाउँदै आउनुभएको छ ।

तरकारी खेतीले जीवन चल्दै आएको उहाँले बताउनुभयो । तरकारी खेतीमा संलग्न महिलाका घरका पुरुषले तरकारीका लागि खेत तयार गर्नेदेखि तरकारी उत्पादन हुञ्जेलसम्मका सबै कार्य गर्दै आएका छन् । तरकारी टिप्ने अन्नसँग साट्ने कार्यमा भने महिला संलग्न हुने गरेका छन् । तरकारीको उत्पादन बढ्दै गए पनि बन्दाबन्दीका कारण बजार पाउन नसक्दा धेरै जनाको तरकारी यस वर्ष खेतमा कुहिएको छ । अन्नसँग साट्न नसकेर पनि धेरै तरकारी खेतमै कुहिएको र जनावरलाई खुवाउनुपरेको देखतभूली कटानका किसान गङ्गाराम चौधरीले बताउनुभयो । गाउँमा अन्नसँग थोरै मात्र तरकारी साटिने गरेको छ ।

विगतमा गाउँमा खपत हुन नसकेको तरकारी बजारमा लगेर बिक्री गर्दै आएका थियौँ, उहाँले भन्नुभयो, “हाल गाउँमा बिक्री हुन नसकेको तरकारी खेतमै फाल्नुपरेको छ । जनावरको आहारका रूपमा प्रयोग भइरहेको छ ।” विगतका वर्षको तुलनामा व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बढदै गए पनि बजार व्यवस्थापन हुन नसक्दा पहिलो वर्ष तरकारी लगाएर बजार नपाएको किसानले दोस्रो वर्ष भने तरकारी खेती लगाउन छाड्ने गरेको छ ।

किसानलाई सहुलियत दरमा बीउबिजन, कृषि औजार, कृषियन्त्र, सिँचाइको व्यवस्थासँगै तरकारीलाई बजारमा उचित मूल्यमा बिक्री हुने व्यवस्था गरिनुपर्ने किसानको भनाइ छ । उत्पादन भएको तरकारी बजारमा लैजाँदा विचौलियाले बढी मुनाफा कमाउने र किसानले लागत मूल्यसमेत नपाउने गरी बेच्नुपर्ने अवस्था विद्यमान रहेको छ । स्थानीय मोनिका चौधरीले भन्नुभयो, “किसानले बिक्री गरेको तरकारी सहजै उपभोक्ताको हातमा पुग्ने गरी बिक्रीको व्यवस्था हुनुपर्छ । यसबाट उपभोक्ताले समेत आधा सस्तोमै तरकारी खान पाउँछन् ।”

बजारमा बिक्रीका लागि लैजाने तरकारी सस्तोमै बिक्री गर्नु पर्दा धेरै जनाले गाउँमै अन्नसँग तरकारी साटेर दिने गरेका छन् । बजारमा लैजाँदा मोलमोलाई गर्दैमा दिन बित्ने र तरकारी बिग्रिने डरले सस्तोमै बिक्री गर्नुपर्ने अवस्था हुन्छ सावित्री चौधरीले भन्नुभयो, “गाउँमा तोकेकै तौलअनुसार हातोहात तरकारी साटिने गरेको छ । यसबाट मनग्य आम्दानीसँगै वर्षभरिको खर्च जोहोसँगै खाद्यान्नको व्यवस्था गर्न सकिन्छ ।” बजारको अवस्था सुदृढ नहुँदा विनियमको कार्य परम्परागतकालदेखि हालसम्म चल्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !