४ बैशाख २०८१, मंगलबार

फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै


फलफूल

तनहुँ, ४ जेठ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण थालिएको हो ।

नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी रु तीन लाखका दरले रु ३३ लाख बजेट विनियोजन गरिसकेको व्यास नगरपालिकाले जनाएको छ । व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४ वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको उहाँले बताउनुभयो । वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम रु १० लाख नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना छ ।

व्यास–१ का वडाध्यक्ष खरसिं दरैले वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्रीवितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो ।

व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा बस्ने बढ्दै
जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् । ग वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन: थपिने क्रम बढ्न थालेको छ । वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत बिहीबार र शनिबार तीनतीन जना थपिएपछि क्वारेन्टिनमा बस्नेको संख्या एक महिलासहित १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म शङ्कास्पद ८६२ मध्ये ५७० पुरुष र ८२ महिला गरी ६५२ को आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ को स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र पाँचको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लाका क्वारेन्टिन व्यास, घिरिङ र देवघाट गाउँपालिकामा तीनतीन तथा भानुनगरपालिका र आँबुखैरेनी गाउँपालिकामा दुईदुई गरी तेह्र जना छन् । जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिसकिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !