६ बैशाख २०८१, बिहिबार

घरमै सस्तो मूल्यमा तरकारी


तरकारी

नारायणपुर, १६ वैशाख । दाङमा उपभोक्ताले घरमै सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छन् । जिल्लाको घोराही उपमहानगरपालिकामा क्रियाशील उज्यालो बिहानी फाउण्डेशन, दाङ चेम्बर अफ कमर्श र बाई सेवालगायत संस्थाले किसानसंँग किनेकै मूल्यमा घरमै तरकारी उपलब्ध गराउन थालेपछि उपभोक्तालाई राहत भएको छ ।

यसअघि घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवस्थापनमा घरमै उपलब्ध गराइएको तरकारीको मूल्य महँगो भएको उपभोक्ताले गुनासो गर्दै आएका थिए । घोराही ९ का शैलेश अधिकारीले पहिले भिण्डी र करेला रु १४० केजीका दरले किनेकामा सामाजिक सञ्जालमा घरमै किसानसंँग किन्ने मूल्यमा तरकारी उपलब्ध गराउने प्रचार देखेर मगाउँदा रु ६० मा किन्न पाएको बताउनुभयो । लकडाउनमा नगरवासीलाई सहज सेवा दिइरहेको बताएका पहिलेका संस्थाले उपभोक्तालाई चर्को मूल्यमा तरकारी बिक्री गरेको उहाँले गुनासो गर्नुभयो ।

संस्थाको कार्यालयमा आउने र घरमै डेलीभरी गर्दा पनि एउटै मूल्य लिने गरेको संस्थाका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाले आजदेखि नगरपालिकाभरि सेवा शुरु गरेको दाङ चेम्बरका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । गत सातादेखि होमडेलीभरी सेवा शुरु गरेको संस्थाले तयार गरेको अनलाइन फाराम भरेर तरकारीको माग गरेमा घरसम्म पु¥याउने गरिएको छ ।

टोलटोलमा लैजानका लागि चेम्बरेले गाडी तथा घोराही १५ ले इन्धन उपलब्ध गराएको महराले जानकारी दिनुभयो । अहिले लमहीमा धेरै तरकारी उत्पादन भएकाले धेरैजसो देउखुरी क्षेत्रबाटै आयात भएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सेवा र नाफामूलक संस्थाले बिक्री गर्ने दरमा केही अन्तर हुने बताउनुभयो ।

घोराहीमा तरकारी बजार
लकडाउनका कारण बन्द गरिएका दाङका तरकारी पसल सञ्चालनमा आएका छन् । जिल्लाको घोराही १४ मा रहेको तरकारी बजारका पसल सञ्चालनमा आएका हुन् । कोरोना भाइरसको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनको आह्वानमा बन्द रहेका तरकारी पसल सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेलले स्थानीय प्रशासनसँग अनुमति लिएर तरकारी पसल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

किसानले दुःख गरेर उत्पादन गरेको तरकारी होमडेलिभरीका नाममा चार सय प्रतिशत महँगोमा त बिक्री हुँदासम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि तरकारी व्यवसायीले आपत्ति जनाउँदै बजार खोल्न माग गरेका थिए ।

तरकारी व्यवसायीलाई पाखा लगाएर गैरतरकारी व्यवसायीलाई उद्योग वाणिज्य संघले बिक्री गर्न अनुमति दिँदा चार सय प्रतिशत महंँगोमा बिक्री भएको पाइएको तरकारी बजारका अध्यक्ष गुलाम रसुलले बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले कृषि व्यवसायमा लगानी गरेका व्यवसायीले होम डेलिभरी सेवा प्रदान गरिरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !